समयको पोस्टमार्टम : समयको मूल यूनिट सेकेण्ड के हो ?
भदौ २२, २०७७

समय हो के ? यसको मूल स्वरुप के हो ?? यसबारे आजसम्मको मानवीय प्रज्ञालाई केही पनि थाहा हुन सकेको छैन । वैज्ञानिक आंकलनमा समयको एउटा गुण अथवा चरित्रबारे अध्ययन /अनुसन्धान गरिन्छ। जस्तो कि माथि वर्णन गरे अनुसार समय गतिसँग सम्बन्धित छ। तर, गतिसँग समयको सम्बन्ध उसको फैलिने अथवा खुम्चिने स्वभावको विश्लेषण गर्छ उसको मूल स्वरुपको  सत्यापन अथवा  विश्लेषण गर्दैन।

सौर्यमण्डलका  विभिन्न ग्रहमा  समयको जुन फरक हामी पाउँछौ,  त्यो वास्तवमा समयको फरक नै होइन ।  तपाईँले माकुराको जालो हेर्नु भएकै होला  । माकुराे आफै‌ंले बनाएको जालो भित्र थुनिन्छ ।  ज्ञान /विज्ञानको एउटा रोगबारे तपाईँले कतिको जटिलता अनुभव गर्नु भएको छ । माकुराको जालोका 'स्ट्रिंग' जतिसुकै पातला  भए पनि हुन्छन्, देखिन्छन्,  तर ज्ञान विज्ञान जति अगाड़ि बढ्दै जान्छ यसले निर्माण गरेका अदृश्य 'स्ट्रिंग' (माकुरा जालो ) त्यति नै उल्झिदै जान्छन् । जुन 'स्ट्रिंग' जालोबाट उम्किएर  पारी जान झन झन गाह्रो हुँदै जान्छ ।

समयबारे विज्ञानले जति ज्ञान हासिल गर्दै गयो,  झन झन माकुरा जालोमा (टाइमस्पेश ) फस्दै गयो ।

विज्ञानको सिद्धान्तमा समयको सबैभन्दा सानो यूनिट १ सेकेण्डको दसको घात माइनस ४४ भाग हुन्छ । सेकेण्ड त धेरै ठूलो यूनिट पो हो । समयको यति सूक्ष्म विभाजनबारे तपाईँ कल्पना पनि गर्न सक्नुहुन्छ ?

वास्तवमा खगोलीय पिण्डको सन्दर्भमा समयको कुनै अर्थ नै छैन ।  खगोलीय पिण्डमा समय महसूस हुने कारण सूर्यले र सूर्यको प्रकाशले गर्दा हो ।  खगोलीय पिण्ड प्रत्यक्ष /अप्रत्यक्ष रूपले सूर्यको परिक्रमा गर्छन् र साथै आफ्नो धुरीको परिक्रमा गर्छन् । अधिकांश ग्रह  मोटामोटी रुपमा गोलाकार रूपका  रहेका छन् ।  अब गोलाकार आकृतिमा सूर्यको प्रकाश सामान रूपले सबै ठाँउमा पर्न सक्दैन । ग्रहले धुरीमा घूमेका कारण यसमा पर्ने सूर्यको प्रकाश क्रमशः ग्रहको गतिको दिशामा सर्दै जान्छ । अर्थात सूर्य प्रकाश पर्ने स्थितिमा सदैव परिवर्तन भइराख्छ । पृथ्वीमा समय परिवर्तन हुने (समस्त ग्रहमा ) भान- आभाष  हुनुको कारण यही हो ।

मानवीय चेतनाको कुरा न गर्ने हो भने समय चर्चा सम्बन्धी सारा प्रयास नै व्यर्थ हुन्छन् । भइ रहुँन  सारा परिवर्तन, समय दगुरोस कि मन्द मन्द विहार गरोस ।  चेतना नभए, परिवर्तनको बोध गर्ने क्षमता नभए समय परिवर्तन भएर पनि के तपाई र मेरा लागि केही परिवर्तित हुने थियो?  खेदपूर्वक भन्नु पर्छ वर्तमान युगमा प्रकृतिको 'समय आभास' भन्दा धेरै बढी हामी आफ्नो मस्तिष्कमा  सञ्चित' समय सम्बन्धी मान्यताले जिउन अभिशप्त छौ।

 सोची हेर्नुस, कुनै पनि ग्रहका लागि समय के हो ? ग्रहमा पर्न आएको सूर्य प्रकाशमा हुने  सतत परिवर्तन नै समय होइन र ?  स्थिर र स्थिरता भन्ने शब्द मानवले रचेको खुराफात मात्रै हो । प्रकृतिमा केही पनि स्थिर छैन, हुन सक्दैन ।

अब पृथ्वीको हकमा समय के हो चिन्तन गरी हेर्नुस । पृथ्वीका सापेक्ष एक सूर्योदयदेखि अर्को सूर्योदयकाबीच यहाँ पर्न आएको सूर्य प्रकाशको मात्रामा हुने परिवर्तन  नै समयको बोध होइन र ?  जसलाई हामीले २४ घण्टाको मानेका  छौं । अब यो २४ घण्टा के हो ?  पृथ्वीलाइ आफ्नो परिधिको एक फन्को  पूरा गर्न लागेको अवधि  नै त हो ।

आफूसँग सोध्नुस,  एकपटक पृथ्वीलाई एक फन्को पूरा गर्न २४ घण्टा नै किन लाग्छ ? यस प्रश्नको उत्तरले धेरै कुरा छर्लङ्ग हुन्छन् । २४ घण्टा लाग्नुका पछाडि मोटामोटी रूपमा कारण सूर्यसँग यसको दूरी ( कम्तीमा १४ करोड सत्तरी लाख पञ्चानब्बे हजार किमीदेखि बढीमा १५ करोड़ उन्नाइस तीस हजार किमी ) र त्यस दूरीका कारण पर्ने सूर्यको गुरुत्वाकर्षण प्रभाव, पृथ्वी-चन्द्रमाबीचको दूरी र यसको पर्ने गुरुत्वाकर्षण प्रभाव, पृथ्वीको द्रव्यमान (५ दशमलब ९७२३७ दसको घात २४ किलोग्राम ), पृथ्वीको घनत्व (५ दशमलब ५१४ ग्राम प्रति घन सेन्टीमीटर ),  अक्षमा झुकाव  (२३ दशमलब ४३९ डिग्री ),  पृथ्वीको परिधि (४००७५दशमलब ०१७ किमी ) आदि हुन् ।  

यी सबै कारणले पृथ्वीको आफ्नो अक्षमा घुम्ने  गति ४६५ मीटर प्रति सेकेण्ड रहेको छ । गणना गरी हेर्नुस ४६५ मीटर प्रति सेकेण्ड * ६० *६० = १६७४ किमी प्रति घण्टा  । १६७४ किमी प्रति घण्टा *२४ घण्टा =४०१७६ किमी । तर, पृथ्वीको परिधि ४००७५ मात्रै हो । अर्थात पृथ्वीलाइ एक फन्को  लगाऊंन  २४ घण्टा भन्दा केही कम  समय लाग्छ ( २३ घण्टा, ५६ मिनेट , ४ सेकेण्ड) ।

'लीप इयर' बारे तपाईहरुलाई थाहै छ । यसको कारण जम्मा जम्मी यति नै हो पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५  दिनभन्दा केही बढ़ी समय लगाउँछ । यस बढ़ी समयलाई प्रत्येक चौथो वर्षको क्यालेन्डरमा एकदिन थपी समायोजित गरिन्छ ।

तपाईलाई थाहा छ कि छैन ?  सन्   १९७२  देखि यता (एटमिक  घडी बने पछि) वैज्ञानिकहरुले पृथ्वीका आफ्ना घडीमा ३७ पटक १ सेकेण्डको समय थपेका  छन, यसलाई 'लीप इयर' जस्तै 'लीप सेकेण्ड' भनिन्छ । सबैभन्दा पछिल्लो पटक २०१६ ,३१ दिसम्बरको राती २३ बजेर ५९  मिनेट ५९ सेकेण्ड जाँदा पृथ्वीका घडीमा एक सेकेण्डको समय थप गरिएको थियो ।

पृथ्वीका  अनेकौं गति मध्ये २ वटा प्रत्यक्ष गतिको चर्चा गरौं ।  पृथ्वी आफ्नो अक्षमा घुम्नुका साथै सूर्यको चारैतिर पनि घुम्छ । यी दुई  फरक फरक  गतिले  गतिमान हुनुका कारण यसको गतिमा 'भभ्लिंग' उत्पन्न  हुन्छ जसले बड़ो सूक्ष्म रूपमा दुबै गतिमा परिवर्तन ल्याई दिन्छ । भनौं  पृथ्वीको गति अति सूक्ष्म रूपमा धीमा हुन्छ । गति धीमा हुँदा यसलाई आफ्नो अक्षको परिक्रमा गर्न लाग्ने समयमा वृद्धि हुन्छ । वैज्ञानिकहरुको अनुमान अनुसार सन् २०३० को जून महीनामा पुनः 'लीप सेकेण्ड' थपेर ' युनिभर्सल  टाइम' सँग हाम्रो घडीको समय समायाेजित गर्नुपर्छ । तर यो अनुमान मात्रै हो, थप्ने दिन  ढीलो चाँडो हुनसक्छ ।  तर निश्चित के हो भने ढीलो चाँडो १ सेकेण्ड को समय थप्नु पर्छ ।

तपाईँलाई आश्चर्य लाग्न सक्छ । शायद भास्कराचार्य लिखित सूर्यसिद्धान्त नामक पुस्तकमा लेखिएको छ पृथ्वीले गर्ने सूर्यको परिक्रमामा पनि यस 'भभ्लिंग'का कारण फरक आउँछ । अर्थात सूर्यको परिक्रमा गर्दा प्रत्येक वर्ष पृथ्वी पहिलाकाे वर्षभन्दा केही पछाडि हुन्छ । ज्योतिषको 'एक्युरेसी' नभएको एउटा कारण यो पनि हो । उनले जुन राशिको गणना गर्छन वस्तुतः राशि त्यो भन्दा एक दुइ राशि पछाडि रहेको हुन्छ । अब त विज्ञानले पनि यो स्वीकारी सकेको छ । कुनै यन्त्र नभइकन २ हजार वर्ष पहिला भारतीय मनीषीले यो कुरा कसरी थाहा पाए होलान ?

तपाईँलाई लाग्छ होला तपाईँले समयकाबारे धेरै कुरा बुझी सक्नु भयो, तर मलाई सोध्नु हुन्छ भने मैले अहिलेसम्म फ़िट्टीकै  केही बुझेको छैन । बुझ्ने यात्रा जारी नै छ ।

पृथ्वीकै सापेक्ष समयको कुरा जारी राखौं । पृथ्वीले जुन ४६५ मीटर प्रति सेकेण्डको गतिले आफ्नो धुरीमा फन्को लगाउँछ त्यसले गर्दा नै यहाँ एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म २४ घण्टाको समय लाग्छ । पृथ्वीको संरचनामा परिवर्तन आउनासाथ यस गतिमा परिवर्तन हुन्छ ।

 पृथ्वीको द्रव्यमान बढेको - घटेको (हुन त बढ़ने संभावना छैन ) खण्डमा गति परिवर्तित हुन्छ । सबैभन्दा सम्भावित सम्भावना चन्द्रमा पृथ्वी देखि टाढा भयो भने (जुन हुँदै पनि गईरहेको छ ) पृथ्वीमा हुने दिनको लम्बाई घट्छ । पृथ्वीका लागि समय भन्ने कुरा यसको अक्षमा घुम्ने गतिका कारणले हो । तपाईँ स्थिर पृथ्वीको कल्पना गर्नुस, समय लोप हुन्छ । पृथ्वीको गति 'स्लो' हुँदा अक्षमा परिक्रमा गर्ने समयमा वृद्धि हुन्छ अर्थात दिन लामो हुन्छ । पृथ्वीको गतिमा वृद्धि हुँदा दिनको अवधि सानो हुन्छ ।  

सौर्य मण्डलका  अन्य ग्रहमा पनि समयको तन्काई अथवा  खुम्च्याई  (पृथ्वीका  सापेक्ष ) उनको धुरीमा घुम्ने  गतिका कारण हो, आकारका कारण हो, सूर्यसँग दूरीका कारण हो,  उनका चन्द्रमाको स्थितिका  कारण हो ।

खगोलीय पिण्डहरुका सन्दर्भमा समयको प्रवाह उनको आफ्नो अक्षमा घुम्ने गतिमाथि निर्भर गर्छ । अक्षको एक फन्को पूरा हुनु नै  सम्बन्धितग्रहको दिन र रातको अवधि हुन्छ ।

छिट्टै परिक्रमा गर्ने ग्रह अर्थात अक्षको परिक्रमा द्रुत गतिले गर्ने ग्रहहरुमा दिन रातको अवधि कम र यसका विपरीत 'स्लो मोसन'मा गति गर्ने ग्रहहरुमा यो अवधि लामो हुन्छ ।

पृथ्वी बाहेक अन्य ग्रहमा मानिस छन, त्यहाँ उनले एक सूर्योदयदेखि अर्को सूर्योदयको अवधि कुन रीतिले नाप्ने - माप्ने - जाँच्ने  गर्छन त्यो हामीलाई थाहा हुने कुरा होइन । विज्ञानको पहुंच भएसम्म कुनै पनि ग्रहमा मानिस जस्तो प्राणी त के कुनै प्रकारको पनि जीवनको प्रारम्भिक लक्षण समेत भेटिएका छैनन् । कुरा पृथ्वीकै गरौं यहाँका मानिसले यो कसरी नाप्ने  गर्छन ?

यस बारेको इतिहासमा नगएर आधुनिकतम चर्चामै केन्द्रित हुन्छु ।

विषयको जटिलता र र यस प्रतिको मेरो गहनताले गर्दा मबाट कहिले काहीं लेखिने लक्षणा र अभिव्यंजनायुक्त विनोद शैलीको अभाव मलाई नै महसूस भइरहेको छ, महसूस भए पनि त्यसका लागि मसँग यथेष्ट  समय अन्तरालको अभाव छ । निर्मम र क्रूर पाराले शब्द थोपरी रहेको छु । अन्तराल उपलब्ध हुनासाथ  भने पुनः प्रयास गर्छु ।

पृथ्वीका मानिस अथवा यहाँको विज्ञानले समय नाप्ने जुन मूल 'यूनिट' प्रयोग गर्छ, त्यो निसन्देह सेकेण्ड हो । १ सेकेण्ड भन्दा तलका (जेप्टो  सेकेण्ड,  योक्टो सेकेण्डसम्म ) र माथीका (जेट्टा सेकेण्ड, योट्टा सेकेण्ड ) सबैको सम्बन्ध सेकेण्डसँग नै छ । १ सेकेण्ड के हो ? विज्ञानको भाषामा १ सेकेण्डको समय त्यो समय हो जस भित्र प्रकाशले २९,९७,९२,४५८ मीटरको यात्रा गर्छ । समुद्रका छालले २३ मीटर दूरी पार गर्छन । ध्वनिले ३४३ मीटर दूरी पार गर्छ । केही बुझ्नु भयो तपाईले ? मेरो भने प्रयास जारी छ ।

आधुनिक भौतिकशास्त्र अनुसार १ सेकेण्डको समय त्यो समय हो जुन समयभित्र सीजियम-१३३ नामक धातुका परमाणुले ९,१९,२६,३१,७७० वटा कम्पन गर्छन । सीजियमका परमाणुको ९ अरब १९ करोड २६ लाख ३१ हजार र ७७० वटा कम्पनको अवधि नै  १ सेकेण्डको समय हो, समय अवधि हो । एक सेकेण्डको 'लेंथ' थाहा पाउनु भयो होइन ? वैज्ञानिक व्याख्या थाहा पाउनु भयो । यही अवधारणाले समय सम्बन्धी सबै अवधारणा चली रहेका छन । हेर्नुस त १ मिनट= ६० सेकेण्ड , १ घण्टा = ३६०० सेकेण्ड, १ दिन (२४ घण्टा ) = ८६,४००  सेकेण्ड,  एक साता =६,०४,८०० सेकेण्ड, एक वर्ष =३१५३६००० सेकेण्ड, एक शताब्दी=३१५५ ६९५२०० सेकेण्ड ( 'लीप इयर' जोडेर) ।

यसैगरी सेकेण्डको दसौं भाग डेसीसेकेण्ड, सयौं भाग सेन्टीसेकेण्ड,  १ हजारौ भाग मिलीसेकेण्ड, दस लाखौ  भाग माइक्रोसेकेण्ड, १ अरबौं भाग नैनोसेकेण्ड, १० खरब भाग पिको सेकेण्ड , दस हजार खरबौं भाग फेम्टोसेकेण्ड, एक करोड खरबौं भाग अट्टोसेकेण्ड, मात्रै होइन १० को घात माइनस २१ मा जेप्टो सेकेण्ड र १० को घात माइनस २४ मा योक्टोसेकेण्ड सम्मको गणना छ ।

खगोलीय पिण्ड अथवा ग्रह स्तरमा तिनको स्वरुप, आकार, प्रकार, संरचना , उनको अक्षमा परिक्रमा गर्ने तिनको गति र त्यहाँ पर्ने सूर्य प्रकाशको विविध स्तरले गर्दा ग्रहको धरातलमा आउने परिवर्तनले गर्दा मृगमरीचिका झैं व्याप्त रहेको आभास दिने समय मापनको यूनिट अथवा प्रणाली पनि गति कै सेरोफेरोमा ( सीजियम परमाणुको कम्पन ) र 'टाइम डाइलेसन'को अवधारणा पनि गति कै (प्रकाश गतिको सापेक्ष ) भूमिका रहेको छ ।

समय भन्ने जीनिस गतिको ' बाई प्रोडक्ट' त हो नै, यस बाहेक यो जीनिस अस्तित्वमा आउन अन्य धेरै  'फेवेरेवल  कन्डीसन' हुनु पर्ने अनिवार्यता पनि चाहिने रहेछ । सर्वप्रथम त कुनै ताराबाट (सूर्य ) आउने प्रकाश र यस प्रकाशले आफूसँग बोक्ने ताप, यी दुबै समयको भ्रम उत्पन्न हुनलाई चाहिने आवश्यक शर्त नै हुन् ।

कल्पना गर्नुस, पृथ्वीमा कुनै प्रकारले सूर्यको अनुपस्थितिमा पनि जीवन रहन सक्छ, पृथ्वीमा अन्य कामका लागि पर्याप्त विद्युत हुने कल्पना गर्नुस । के सूर्यको अनुपस्थितिमा समय परिवर्तनको केही बोध हुनसक्छ ? के करोडो वाटका ट्यूबलाइट बाल्नाले समयको बोध दिन सक्छ ?  ध्यान दिनु होस समयको बोध कसरी भइरहेको छ ?  सूर्य प्रकाशका कारण पृथ्वी धरातलमा आएको प्राकृतिक परिवर्तनका कारणले नै समय परिवर्तनको बोध भइरहेको होइन ? प्रकृतिमा परिवर्तन भएन भने समयको बोध धराशायी हुन्छ होइन र ? दोश्रो 'फेवरेवल कन्डीसन' ताप पनि हो, कारण पृथ्वीको तापमान यदि अरुण, वरुण ग्रहका माफिक माइनस २०० भन्दा बढी हुने हो भने सर्वत्र हिउँको साम्राज्य भएर समय परिवर्तनको बोध नै कसरी हुन्थ्यो ?

अब यति चर्चा गरेर यदि मानवीय चेतनाको कुरा नगर्ने हो भने समय चर्चा सम्बन्धी सारा प्रयास नै व्यर्थ हुन्छन् । भइरहुन  सारा परिवर्तन, समय दगुरोस कि मन्द मन्द विहार गरोस । चेतना नभए, परिवर्तनको बोध गर्ने क्षमता नभए समय परिवर्तन भएर पनि के तपाईँ र मेरा लागि केही परिवर्तित हुने थियो ?  खेदपूर्वक भन्नुपर्छ वर्तमान युगमा प्रकृतिको 'समय आभास' भन्दा धेरै बढी हामी आफ्नो मस्तिष्कमा  सञ्चित' समय सम्बन्धी मान्यताले जिउन अभिशप्त छौं ।

याे पनि 

ब्रह्माण्ड मै समयका भिन्न गति : हिन्दु शास्त्रहरूमा विभिन्न लोकमा फरक फरक समयको व्याख्या

'टाइम डाइलेसन'बारेमा हिन्दुशास्त्र : प्रकाशको गतिमा समय र पदार्थ दुवैको मृत्यु हुन्छ !

 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।