शिक्षकको बलात्कारबाट गर्भवती, बच्चा जन्मेपछि घटना सार्वजनिक

शिक्षकको बलात्कारबाट गर्भवती, बच्चा जन्मेपछि घटना सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २३, २०७७

बैतडीमा २ शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । 

सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कृत भएपछि अर्कैसँग भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । 

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । 

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत छन् । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरपरिवारले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । 

उनले भने, ‘घटना पहिलेको भएपनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए । 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । 

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।