क्लब छाड्ने प्रयास सफल नभएपछि मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किए

क्लब छाड्ने प्रयास सफल नभएपछि मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किए

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २३, २०७७

लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् । बार्सिलोना छाड्ने प्रयास सफल नभएपछि लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी हुन थालेका हुन् । 

दुई साताअघि बार्सिलोना छाड्न चाहेको भन्दै क्लब व्यवस्थापनलाई पत्र पठाएका उनी क्लबको प्रशिक्षण र त्यसअघि गराएको कोरोना परीक्षणमा समेत अनुपस्थित भएका थिए । तर बार्सिलोनाबाट बाहिरिने प्रयास सफल नभएपछि सोमबारदेखि उनी प्रशिक्षणमा फर्किएका हुन् । 

मेस्सीले २५ अगस्टमा आफूले क्लब छाड्न चाहेको भन्दै पत्र पठाएका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीले उनलाई भित्र्याउन प्रयास गरेपनि बार्सिलोनाले उनको रिलिज मूल्य ७ सय मिलियन युरो तोकेको थियो । जुन मूल्य तिर्न कुनै क्लब तयार थिएनन् ।

मेस्सीले गोललाई अन्तर्वार्ता दिँदै बार्सिलोनाका अध्यक्षले धोका दिएको र आफूलाई अनुबन्धित गर्न तिर्नु पर्ने रकम तिर्ने हैसियत भएका क्लब नरहेकाले बार्सिलोनामै रहने निर्णय गरेको बताएका थिए ।
यस्तै उनले आफ्नो परिवारको चाहाना पनि बार्सिलोना नै भएको भन्दै परिवारका कारण पनि बार्सिलोना नछाड्ने निर्णयमा पुगेको उनको भनाई थियो । 

नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले मेस्सीलाई मनाउने प्रयास गरेपनि असफल भएका थिए । मेस्सीका बाबु जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्षबीच समेत छलफल भएको थियो । बार्सिलोनाले यो सिजन ला लिगाको सुरुवात २७ सेप्टेम्बरमा भिल्लारियलसँगको खेलबाट गर्ने छ ।