लद्दाखस्थित सीमा क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

लद्दाखस्थित सीमा क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २३, २०७७

चिनियाँ जनमुक्ति सेनाले हिमाली सीमा क्षेत्रमा भारतीय सेनाले वार्निङ शट्स अर्थात चेतावनीस्वरुप गोली चलाएपछि जवाफी कारबाही गरेको बताएको छ ।

चिनियाँ जनमुक्ति सेनाले जवाफी कारबाही कस्तो प्रकारको हो भन्नेबारेमा भने केही बताएको छैन । यद्यपि गत साता चिनियाँ सेनाको कारबाहीमा एक जना तिब्बती मूलका भारतीय सैनिकको मृत्यु भएको थियो ।

गत जुनमा सीमा क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता सीमा क्षेत्रमा निरन्तर तनाव बढिरहेको छ । 

सोमवार भारतीय सैनिक चार हजार मिटरको उचाइमा रहेको पेंगोंग त्सो ताल नजिकै रहेको एलएसी अर्थात वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।

चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘भारतीय सैनिकहरूले भारत–चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पेंगोग त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन् ।’

वक्तव्यमा भारतीय सेनाको कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको बताइएको छ ।

यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भनेका छन् । चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उनले बताएका छन् ।

सो घटनाबारे भारतले भने कुनै प्रतिक्रिया दिएको छैन । सीमा क्षेत्रमा दुवै देशले हजारौं सैनिक परिचालन गरेका छन् ।