सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली

सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २३, २०७७

जाजरकोट । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

गर्मी मौसम मात्र खोप ढुवानी गर्न सकिने भएकाले छ महिना मात्र खोप उपलब्ध गराउन सकिएको कार्यालयको भनाइ छ । उच्च भूगोल रहेको ठाउँमा चिसो मौसममा भारी हिमपात हुने भएकाले ढुवानी नहुँदा खोप उपल्लो डोल्पा पुर्याउन नसकिएको हो । हुनेखानेहरुले तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर खोप सेवा लिए पनि आर्थिक अवस्था कमजोर भएका सबैले खोप सेवा लिन नपाउने अवस्था रहेको कार्यालयको जिकिर छ । हेलिकोप्टरबाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्याउन नसकिने स्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्यासमेत अत्यन्तै न्यून छ ।