तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन

तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २३, २०७७

डोल्पा । उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । त्यस्तै तल्लो र मध्यडोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा बर्थिङ सेन्टर, त्रिपुरासुन्दरी नगपालिकामा चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र मुड्केचुलामा तीनवटा बर्थिङ सेन्टर छन् । बर्थिङ सेन्टर भएको ठाउँमा समेत सुत्केरी सेवा लिनेको सङ्ख्या कम छ । उपकरण नहुँदा छामेर नै जाँच हुँदै आएको छ । 

त्यस्तै शे–फोक्सुण्डोमा तीनवटा स्वास्थ्य संस्था, डोल्पोबुद्धमा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा दुईवटा मात्र स्वास्थ्य संस्था रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र डोल्पा जिल्लाभरि नरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्या बढी छन् । त्रिपुरासुन्दरी नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्था, सदरमुकाम रहेको ठुलिभेरी नगरपालिकामा स्वास्थ्य सेवा कार्यालयसहित चार, मुड्केचुला गाउँपालिकामा तीन, जगदुल्ला गाउँपालिकामा तीनवटा रहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा मुड्केचुला गाउँपालिकामा ८३, त्रिपुरासुन्दरी नगरपालिकामा १३५, ठुलिभेरी नगरपालिकामा १६८, काइके गाउँपालिकामा २३ र जगदुल्ला गाउँपालिकामा २२ महिला सुरक्षितरूपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक सिजन रावलले जानकारी दिनुभयो । उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सङ्ख्या शून्य छ ।
 
घरमै सुत्केरी हुने दर उपल्लो डोल्पामा शतप्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आम्चीको भरमा मात्र सुत्केरी सेवा उपलब्ध हुँदै आएको छ । अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व, नवजात शिशु तथा बालस्वास्थ्य र परिवार नियोजन लागू भएदेखि केही सुधारका लागि पहल गर्न खोजिएको छ । 

हवाइमार्गमार्फत १७ गर्भवतीको उद्धार गरिएको छ । राष्ट्रपति उद्धार कोषमार्फत सबै गर्भवतीको उद्धार भएको हो । उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन् । पहुँच नहुने अधिकांश गर्भवती गाउँमै असुरक्षितरूपमा सुत्केरी हुन बाध्य भएको फोक्सुण्डो गाउँपालिका–३ का सितार गुरुङले बताउनुभयो ।