दीपिकालाई प्रियंकाको बधाई

दीपिकालाई प्रियंकाको बधाई

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र १३, २०७५

काठमाडौं । भारतीय सिने अभिनेत्री प्रियंका चोपडा अहिले मियामीमा बिदा मनाइरहेकी छन् । बिदाको मुडमा हुँदा पनि उनले अर्की सिने अभिनेत्री दीपिका पादुकोणलाई बधाई दिन बिर्सिनन् । 

कुरा २५ मार्चको हो । दीपिका पादुकोणले आफ्नो आगामी फिल्म ‘छपाक’को फस्ट लुक इंस्टाग्राममा सार्वजनिक गरिन् । 

तस्बिर : दीपिका पादुकोणको इंस्टाग्रामबाट ।

यस फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी युवतीको भूमिका निर्वाह गरिरहेकी छन् । फिल्म सत्य घटनामा आधारित छ । 

भारतमा लक्ष्मी अग्रवाल नामक युवतीमाथि एसिड आक्रमण भएको थियो । फिल्म उनकै संघर्ष र भोगाइमा आधारित छ । \

यस फिल्मको निर्देशन मेघना गुलजारले गरिरहेकी छन् । सन् २०१८ मा मेघनाले निर्देशन गरेको फिल्म ‘राजी’ले व्यापक प्रशंसा पाएको थियो ।

दीपिकाले इंस्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्नासाथ सेयर र कमेन्टको ओइरो लाग्यो । 

प्रियंकाले दीपिकाको लुकको प्रशंसा गर्दै लेखिन्– अमेजिङ । साथै प्रियंकाले लभ इमोजी पोस्ट गरेर दीपिकालाई बधाईसमेत दिइन् । 

दीपिका र प्रियंकाले संजयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा सँगै काम गरेका थिए । फिल्ममा दीपिका मस्तानीको भूमिकामा थिइन् भने प्रियंका बाजीरावको पत्नी काशीबाईको भूमिका निभाएकी थिइन् । प्रियंकाले रणवीर र दीपिका अभिनित फिल्म ‘गोलीयो की रासलीला’ मा एक गीत पनि गाएकी थिइन् । दीपिकाको लुकमाथि रणवीरले लेखे– अति नै राम्रो, प्राउड अफ यु । 

दीपिकाले पोस्ट गरेको फोटोमाथि वरूण धवन, राजकुमार राव, दिया मिर्जा, परिणती चोपडा, अभिषेक बच्चन, कार्तिक आर्यन, जेक्लिन फर्नाडिस लगायतका अनेकौं कलाकारले प्रतिक्रिया दिँदै फिल्मका लागि बधाई दिएका छन् । 

फिल्मको निर्माण दीपिकाले नै गरिरहेकी छन् । 

- एजेन्सीको सहयोगमा