मलको दुरुपयोग नगर्न संघको अपिल

मलको दुरुपयोग नगर्न संघको अपिल

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २३, २०७७

चितवन । जिल्ला सहकारी सङ्घ चितवनले सरकारले अनुदानमा वितरण गरेको रासायनिक मलको दुरुपयोग नगर्न अपिल गरेको छ । सङ्घका अध्यक्ष हरिप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा वितरण गरिएको मलको दुरुपयोग गरी उच्चतम मूल्यमा बिक्री वितरण गर्दै आइरहेको गुनासो आएकाले यस्ता अनुचित कार्य नगर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभएको छ ।
 
कसैले अधिकारको दुरुपयोग गरी अनुचित ढङ्गले कारोवार गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला सहकारी सङ्घमा जानकारी गराइदिन पनि सम्पूर्ण उपभोक्ता एवं सर्वसाधारणमा अनुरोध गरिएको छ । कोरोनाका कारण सबै क्षेत्रजस्तै कृषि क्षेत्र पनि मर्कामा परेको भन्दै मल अभावले कृषकमा तनाव सिर्जना भएको सङ्घको विज्ञप्तिमा उल्लेख छ ।
 
राज्यले उपलब्ध गराएको सीमित मललाई जिल्लास्तरमा संयन्त्र निर्माण गरी वितरण भइरहेको सङ्घले जनाएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । जिल्लामा मागअनुसारको मल उपलब्ध हुन नसक्दा कोरोना महामारीका बीच किसान भिडभाड गर्दै लाइनमा बसेर मल लिन बाध्य छन् । किन्नेले चाहे जति मल पनि पाउन सकेका छैनन् ।