शिक्षाको आलोकमा बौद्ध दर्शन : कोरोना कहरमा दर्शनभित्रको अन्तर्ज्ञानको खोजी

‘तपाईँको स्वभाव हो–शान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ ।’
                                                                                                                                                                                         – प्रेम रावत (अन्तर्राष्ट्रिय शान्तिका वक्ता)

बुद्ध दर्शनको मर्म र वास्तविकतासँग अन्तस्करणको सम्बन्ध रहेछ । शाक्यवंशका राजा शुद्धोधन र रानी मायादेवीका गर्भबाट ५६३ ईशापूर्वमा नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा जन्मेका बुद्धलाई एसियाका तारा पनि भनिन्छ । न्वारनमा ब्राह्मणद्वारा राखिएको ‘सर्वार्थसिद्ध’ नाम नै छोटकरीमा ‘सिद्धार्थ’ भएको हुँदा उनलाई ‘सिद्धार्थ गौतम बुद्ध’ को नामद्वारा पुकारिन्छ । आर्नोल्डको ‘द लाइट अफ एसिया’ पुस्तकका अनुसार व्रतबन्धमा उनलाई गायत्री मन्त्र सुनाउन स्वयम् विश्वामित्रलाई आह्वान गरिएको थियो । बैशाख शुक्ल पूर्णिमाका दिन जन्मेर ८० वर्षको उमेरमा ईशापूर्व ४८३ मा सोही तिथिमा उनको देहावसान भएको इतिहासकारको मत रहेको देखिन्छ । ‘बुद्ध दर्शन गौतम बुद्धबाट प्रतिपादित बुद्ध धर्मबाट विकास भएको हो । 

संस्कृतको ‘बुध्’ धातुको अर्थ ‘जाग्नु’ हुन्छ । ‘बुद्ध’ भन्नाले बुझ्नु वा बोध गर्नु भन्ने अर्थ लाग्छ । ‘बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवम् क्षणिक छन् भन्ने एक निरीश्वरवादी एवम् अनात्मवादी दर्शन हो । सिद्धार्थ गौतमद्वारा ईसापूर्व छैठौँ शताब्दीमा प्रवर्तित षड्दर्शनभित्रको एक अवैदिक–चिन्तनलाई दार्शनिक आधारमा बुद्ध दर्शन मानिन्छ । ‘तमसोमा ज्योतिर्गमय’ अज्ञानताको अँध्यारोलाई तोडेर उज्यालोतिर लम्कने अर्थात् जन्ममरणको भवसागरबाट मुक्ति पाउने सिद्ध पुरुषलाई बुद्ध भनिन्छ । 

‘संसारका सम्पूर्ण वस्तुहरू परिवर्तनशील छन् । मृत्युको कारण जन्म हो, जन्मको कारण तृष्णा हो, तृष्णाको कारण अज्ञान हो । दुःखका कारणहरू नष्ट हुने हो भने दुःखको पनि नास हुन्छ ।’ यो वाणी भगवान् बुद्धको सन्देशको एउटा सार हो ।

बुद्धको जीवनकथाका केही सुख त केही दुःखमा बित्यो भन्नुपर्छ । उनले जन्मँदै आमाको वियोग सहनुपरेकाले सौतेनी आमासँग रहेर १६ वर्षकै उमेरमा यशोधरासँग विवाह भएको इतिहासमा पढ्न पाइन्छ । साथै उनको एक मात्र छोराको नाम राहुल रहेको थियो । ‘मानिस के कारणले मर्छ, किन रोगी हुन्छ, किन बूढो हुन्छ’ भन्ने प्रश्नको जिज्ञासाले वैराग्यको उत्कर्षमा पुगेपछि राजशी सुखसयल त्यागेर उनी २९ वर्षको उमेरमा गृहत्याग गरी दरबारबाट बाहिरिएको भन्ने बुझिन्छ । 

संसार कोरोना भाइरसका कारण घरभित्र रहे पनि युद्ध विभीषिकाबाट सन्त्रस्त समाजलाई बुद्धको शिक्षा र ज्ञानको खाँचो छ । मृत संवेदनाले बन्दी बनाएको मानवता, करुणा, प्रकृति प्रदत्त जीवनलाई उन्मुक्तिको खाँचो छ । यान्त्रिक सुखको खोजीमा हरण भएका शान्तिको किरणलाई खोकिलाभित्र ओझेलमा पार्ने तमाम कर्तुतप्रति प्रायश्चित्त गरेर एउटा सानो दियो बाल्नु छ संसारमा ।

शान्ति र अहिंसाभित्र मानवता र प्रेम

बुद्ध पशुबली प्रथाका विरोधी थिए । ‘अहिंसा परमो धर्म’ को भावमा हरेक प्राणीको अस्तित्व र जीवन रक्षाका धरोहर बुद्धले शान्ति र अहिंसाका दुई खम्बामा बुद्ध दर्शनले चेतनाको दियो बालिदिएको हो । हुन त बुद्ध धर्ममा पनि थेरवाद (लौकिन जीवनसँगै आध्यात्मिक जीवन जिउने), महायान‍ (बुद्ध मूर्ति बनाएर पूजा गर्ने) र वज्रयान (बौद्ध तान्त्रिक सम्प्रदाय) गरी तीन सङ्घको पृथक पक्ष मौलाएको छ तथापि यो धर्म विश्वको चौथो ठूलो धर्मको रूपमा प्रख्यात हुनु नै गर्वको विषय हो । 

बौद्ध धर्मावलम्बीहरूले बुद्धलाई हाम्रो कल्पका एकजना सम्यक सम्बुद्ध पुरुष मान्दछन् । उनी बोधिसत्व प्राप्त (अन्तिम सत्यको साक्षात्मकार) गरेका महामानवका रूपमा हिन्दू दर्शनमा पनि उत्तिकै सम्मानित छन् । हिन्दू दर्शनमा भगवान् विष्णुका दश अवतार (मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की) मध्ये कृष्ण अवतारभन्दा पछिका र कल्की अवतारभन्दा अघिका नवौँ अवतारका रूपमा बुद्धलाई मानिन्छ । तर, यो अवतार नै यस्तो छ जसमा युद्धविहीन शान्तिको अपिल भएको छ । भगवान् विष्णुका अवतारभित्र पापी, अधर्मीको अन्त्यका लागि ठूला–ठूला युद्ध, राजनीति, कुटनीति समाहित भए पनि बुद्ध दर्शन नितान्त चेतना र ज्ञानको परिसीमामा आबद्ध छ । जीवन र जगत्को वास्तविकतालाई खोतल्ने दृढ अठोटभित्र रहेर मानवतावादी त्याग र आत्मचिन्तनमा लिन भएकाले नै बुद्धलाई शान्ति र त्यागका प्रतिमूर्ति मानिन्छ । पीपल वृक्ष, ध्यान र निष्ठाभित्र रहेको आत्मचिन्तनको गहिराइमा पुगेर बुद्धको दर्शनले व्यावहारिक चुरोलाई छर्लङ्ग बनाएको छ । 

‘चेतना बाहेक कुनै भौतिक जगत्, ईश्वर वा आत्माको अस्तित्व छैन । बुद्ध दर्शनले संसारलाई दुःखमय मानेको छ तर दुःखको समाधान पनि रहेको कुरालाई मान्छ । ‘बुद्धवादले एउटा स्वयम् शक्तिमान् सृष्टिकर्ता ईश्वरको अस्तित्वमा विश्वास गर्दैन । ईश्वरले संसारको सृष्टि गरेको भए निश्चय पनि ईश्वरको पनि रचयिता अरू कोही हुनु आवश्यक छ भन्ने मान्यता राखेको देखिन्छ । ‘बुद्धले नयाँ आध्यात्मिक चिन्तनको परम्परालाई स्थापित गरे जुन ज्ञान वा बोधको माध्यमबाट अज्ञानतालाई हटाउनु हो । उनी हिन्दू परिवारमै जन्मे, हुर्के । हिन्दू धर्म सभ्यताका तपस्या, कर्मकाण्ड, जातपात र भेदभावलाई प्रहार गर्दै समानता र एकताको सन्देशलाई जनमानसमा ल्याउने पुनित कार्य बुद्धले गरे । त्याग र तपस्याको एउटा बिन्दुमा पुगेर परिनिर्वाण प्राप्त गरे । अर्थात्, मोक्ष भनौँ । ध्यानको गहनतम् परब्रह्मलीनको अवस्था । सायद त्यही हिन्दू धर्मको ‘मोक्ष’ अर्थात् ‘निर्वाण’ सम्मको व्याख्या हुँदो हो । त्यो अनुभवको सँगालो भएकाले पनि शब्दमा व्याख्या गर्नु सिद्धान्त मात्र ठहर्छ ।

यो मानसिक सजगतामुखी ज्ञानको पुञ्ज हो । बुद्ध दर्शनले सांसारिक सुखलाई वास्तविक सुख मान्दैन जुन कुरा हिन्दू दर्शनसँग मिल्छ तर बुद्ध दर्शन अवैदिक (वेदलाई नमान्ने) चिन्तन हो । बुद्ध दर्शनले तृष्णा र वासनालाई तुच्छ मान्छ । यसले तीन आर्य सत्यको व्याख्या गर्छ । ‘दुःख हटाउने आठ साधनलाई बौद्ध दर्शनमा ‘अष्टमार्ग’ भनिएको छ ः

१. सम्यक् दृष्टि        २. सम्यक् सङ्कल्प    ३. सम्यक् वाक्        ४. सम्यक् कर्मान्त ५. सम्यक् आजीव    ६. सम्यक् व्यायाम    ७. सम्यक् स्मृति    ८. सम्यक् समाधि

यी आठवटै मार्गभित्र रहेर साधना गर्नाले अज्ञान नास हुन्छ र पूर्ण शान्ति प्राप्ति हुन्छ । पूर्ण शान्तिको अवस्थालाई ‘निर्वाण’ भनिन्छ भन्ने मान्यताभित्र बुद्ध दर्शनले व्यावहारिक बोधलाई अँगालेको छ । निर्वाणमा पुग्नुभन्दा पहिले सम्यक समाधिका चार अवस्थालाई यसले चर्चा गर्दै पहिलो अवस्थामा शुद्ध विचारको आनन्द हुने तर मन चलि नै रहने मान्यता राख्छ । दोस्रोमा तर्क, वितर्क, मननहरू दबिएर बस्छन् र सन्देह हट्छ । विचारको स्थान सहज ज्ञानले लिन्छ । चित्तमा शान्ति, स्थिरता र आनन्दको ज्ञान अनुभूत हुन्छ । तेस्रो अवस्थालाई चित्तको साम्यावस्था वा तटस्थताको अवस्था मानिन्छ । अन्तिम अर्थात् चौथो अवस्थाचाहिँ पूर्ण शान्तिको अवस्था जसलाई प्रज्ञा पारमिता पनि भनिन्छ । यसलाई पूर्ण शक्ति, पूर्ण विराग र पूर्ण निरोधको अवस्था मानिन्छ । 

तत्कालीन समयमा संस्कृत भाषा, वैदिक कर्मकाण्डवाद र अलौकिक चिन्तनको विकल्पमा तत्कालीन लोकभाषा ‘पाली’ र जीवनबोधी सम्यक् कर्म र अनिश्वरवादी दृष्टिकोण लिएर प्रारम्भिक बौद्ध दर्शन अघि बढ्यो भन्ने विद्वान्को मत छ । बुद्धले दर्शनले तीन आर्य सत्यमा विशेषतः ‘राग, द्वेषमा विजय प्राप्त गर्छ । समाधिद्वारा चित्तलाई लोभ, मोहबाट मुक्त राख्छ । मानिसले विषयको तृष्णालाई हटाएर निर्वाण प्राप्त गर्छ ।’ यसले । ‘असङ्ख्य जन्म मृत्युको चक्रले जीव दुःखी छ भन्नुले पनि जन्म–मरणको चक्रलाई स्वीकार गरेको पाइन्छ । जीवको मूल उद्देश्य दुःखबाट छुटकारा प्राप्त गर्नु हो भन्ने रहेछ । 

बुद्ध दर्शनका दार्शनिक आधारहरू 

संसारलाई दुःखमय मान्ने बुद्ध दर्शनले दुःखको कारणका रूपमा तृष्णा र अविद्यालाई इङ्गित गरेको छ । यद्यपि दुःखलाई निवारण गर्न सकिने सार्थकताबाट शान्तिको मर्मलाई स्थापित गर्ने बौद्धिक सचेतनाभित्र अष्टाङ्ग योगचिन्तनको रहस्य गूढ रहेको देखिन्छ । यसले मूलतः छओटा विषयलाई चर्चा गरेको देखिन्छ :

१. अनित्यवाद              वा क्षणिकवाद  संसारका सबै वस्तु क्षणिक वा अनित्य । (खरायोको सिङ नहुनुले उसमा असर पर्दैन, बोराको बिउले माटो नपाए अस्तित्व रहन्न । बिउ पनि क्षणिक छ, आत्मा पनि क्षणिक छ ।) 
२. प्रत्यीत्य समुत्पाद कार्य कारण सम्बन्ध÷दुःखको कारण अन्त्य गरेर दुःख निवारण हुन्छ ।
३. अनात्मवाद आत्मा नित्य होइन । खास कारणहरूबाट भौतिक पदार्थ र मन मिलेर बनेको तथा अन्य भौतिक वस्तुजस्तै उत्पत्ति र विनास हुन्छ ।
४.निरीश्वरवाद       ईश्वर वा ब्रह्मको अस्तित्व छैन । यदि ईश्वर छ भने दुःखमय किन बढी छ ? ईश्वर सर्वेसर्वा भए मानिसको के काम ? पाप र पुण्य नै हुँदैन ।
५.स्वतः प्रमाण   अस्वीकारवाद 

वेदलाई सर्वज्ञ मान्नु त्यसका कमजोरी पनि मान्नु हो । बुद्धिको स्वतन्त्रतालाई कुनै ग्रन्थले बाँध्नु हुँदैन । यो मानव प्रकृतिको बाधक हो ।

६. जीवन प्रवाहवाद  जीवनमा पूर्वजन्म र पूनर्जन्मको सम्बन्ध हुन्छ । तर, जीवन आकस्मिक घटना होइन ।

यसरी हेर्दा बुद्ध दर्शन अलिकति भौतिकवाद र अलिकति भाववादमा सम्मिलित छ । ईश्वर नमान्ने, आत्मालाई नित्य नमान्ने र कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्ने धारणाहरू भौतिकवादसँग मिल्छन् तर जीवनलाई पूर्वजन्म र पुनर्जन्मसँग गाँसिएको प्रक्रिया मान्नुले भने यो दर्शन भाववादबाट मुक्त हुन नसकेको पुष्टि गर्छ । अन्ततः यो दर्शनको मूल ध्येय निर्वाण प्राप्ति हो जुन जीवन छँदै पाउन सकिन्छ । 

बुद्ध दर्शन र विषय क्षेत्रहरू

बुद्ध दर्शनमा पञ्चशील सिद्धान्तलाई विशेष रूपमा लिइन्छ जसलाई ‘सम्यक कर्मात’ पनि भनिन्छ : हत्या नगर्नु, सबै जीवहरूप्रति दयाभाव राख्नु, चोरी नगर्नु, परस्त्रीमा गमन नगर्नु र नसा सेवन नगर्नु । यसले विशेषतः निर्वाण प्राप्ति नै मूल लक्ष्य, अन्तिम सार रहने, निर्वाणलाई लौकिक भाषामा वर्णन गर्न नसकिने, विज्ञानको प्रभावलाई मान्ने विचार राख्नुका साथै यसलाई अनिश्वरवादी चिन्तन मानिन्छ । आत्मा अजर अमर नभई नासवान हुने तथा ज्ञानका लागि जीवको उत्पत्ति आवश्यक रहने मान्यतामा यो दर्शनमा पुनर्जन्म र पूर्वजन्ममा विश्वास छ भन्नुपर्ने रहेछ । यसमा मूलतः निम्न सिद्धान्त गहन रहेको छ :

(क) ‘मौलिक खोज = (१) दुःख छ (२) दुःखको कारण छ (३) दुःख हटाउन सकिन्छ (४) दुःख हटाउने बाटोमा लाग्नुपर्दछ ।
(ख)अविद्याबाट=संस्कार+विज्ञान+नामरूप+षडायतन+स्पर्श+वेदना+तृष्णा+उपादान+भव+ जाति+जरामरण + फेरि अविद्याको सुरुवात हुन्छ ।

(ग) चार आर्य सत्य, अष्टाङ्गी मार्ग, त्रिरत्न (ज्ञान, सदाचार र योग अर्थात् ज्ञान, शील र समाधि), सामान्य सत्य (दुःख, अनित्य, अनात्मा), ज्ञानात्मक जगत्लाई वास्तविक मान्ने, त्रिकाय (धर्म काय, सम्भोग काय र निर्माण काय), चार कार्य (प्रकृति कार्य, प्रयास वा प्रनिधि कार्य, अनुलोम वा निरन्तरता र अभिभर्ता वा बुद्धत्व प्राप्ति), असनातन अस्तित्व, ५ स्कन्ध, १२ आयतन र १८ धातु रहेको, ६ वटा पारमिता रहेको ।

अन्तमा

आज संसार कोरोना भाइरसका कारण घरभित्र रहे पनि युद्ध विभीषिकाबाट सन्त्रस्त समाजलाई बुद्धको शिक्षा र ज्ञानको खाँचो छ । मृत संवेदनाले बन्दी बनाएको मानवता, करुणा, प्रकृति प्रदत्त जीवनलाई उन्मुक्तिको खाँचो छ । यान्त्रिक सुखको खोजीमा हरण भएका शान्तिको किरणलाई खोकिलाभित्र ओझेलमा पार्ने तमाम कर्तुतप्रति प्रायश्चित्त गरेर एउटा सानो दियो बाल्नु छ संसारमा । अन्धकार प्रकाशको अभाव हो तर प्रकाश अन्धकारको अभाव होइन । आज बगाइएका अश्रु बुँदहरू युद्ध पिपासु अज्ञानताका कारण काँप्दो धरामा एउटा केवल चेतनदीपको खाँचो छ । शान्तिको माला जपेर संसार विनास गर्ने हतियारको उद्योग खोल्नेहरूलाई सायद चेतना हुँदो हो एउटा भाइरस जति शक्तिशाली त मानिस र आविष्कार होइन । त्यसैले स्वतन्त्र बाँच्ने स्वर्णिम सपनामा ग्रहण लगाउने कि सूर्योदय गराउने अर्थात् यो पृथ्वीलाई शान्तिभूमि बनाउने कि क्रान्तिभूमि बनाउने त्यो पनि मानिसको हातमा छ । अतः आज बुद्ध र बुद्ध दर्शनभित्रको अन्तर्ज्ञानको खोजी गर्ने बेला आएको छ । 

रमेश भट्टराई ‘सहृदयी’


लेखक समसामयिक सन्दर्भका साथै भाषा र साहित्यका विषयमा कलम चलाउँनु हुन्छ।