सन्दीप आवद्ध जमैका तलाबाज सेमिफाइनलमा पराजित

सन्दीप आवद्ध जमैका तलाबाज सेमिफाइनलमा पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २४, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने संलग्न रहेको जमैका तलाबाज पराजित भएको छ ।

ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । 

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भएका थिए । जमैकाकाका लागि मुजिब उर रहमानले १ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । उनी यो खेलमा विकेट लिन असफल रहे । सन्दीपले यस सिजन ११ खेलमा १२ विकेट लिएका छन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए भने कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।

जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट तथा खारी पेरीले २ विकेट हात पारे । 

अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।