पोर्चुगलको जीतमा रोनाल्डोको कीर्तिमानी गोल

पोर्चुगलको जीतमा रोनाल्डोको कीर्तिमानी गोल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २४, २०७७

युईएफए नेसन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले स्वीडेनलाई २–० ले हराएको हो । 

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसँगै रोनाल्डोले पोर्चुगलको जर्सीमा उनले सय गोल पुरा गरेका थिए ।

पोर्चुगलका कप्तान रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जीत सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट १०१ गोल गरेका छन् । 

उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली दाईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।

अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।