रेट नै तोकेर कमिसन लिने कुरा चिकित्सकहरुको आचरण भित्र पर्दैन

रेट नै तोकेर कमिसन लिने कुरा चिकित्सकहरुको आचरण भित्र पर्दैन

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  चैत्र १३, २०७५


प्रा.डा.ढुण्डीराज पौडेल

प्रा.डा.ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको सदस्य तथा व्यवसायिक आचरण समितिको संयोजक हुनुहुन्छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(विरअस्पताल)को नाक,कान र घाँटी विभाग प्रमुख रहेका पौडेल चिकित्सकहरुमा जसरी पनि पैसा कमाउनुपर्ने प्रवृत्ति हावी हुँदै गइरहेको सन्दर्भमा यस्तो प्रवृतिलाई निरुत्साहित गर्नको लागि नेपाल मेडिकल काउन्सिले के गरिरहेको छ ? अस्पताल घाटामा जानासाथ ल्याब टेष्ट लेख्न व्यावस्थापनले निर्देशन दिंदैमा लेख्ने कुरा चिकित्सकको आचरणमा पर्छ कि पर्दैन ? किन नेपाली डाक्टरहरु दशौं किल्नीकमा धाउन बाध्य छन? भनेर लोकसंवाद डटकमले प्रा.डा.ढुण्डीराज पौडेलसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ  उक्त अन्तर्मन्थनको मुलअंशः 

मेडिकल काउन्सिलको व्यावसायिक आचरण समिति संयोजक भएका नाताले चिकित्सा क्षेत्रका राम्रा र नराम्रा पक्ष के–के हुन् ? 

मान्छेको जीवन नै बचाउने कुरा, सेवा भाव, मैत्रीभाव, मानवियता चिकित्सकीय दायित्व हुन् । यी सकारात्मक कुरा भए । 

चिकित्सा क्षेत्र व्यवसाय र पेशा दुवै भएको तथा मानिसको जीवन–मरणसँग गाँसिएको विषय भएकाले यसमा संवेदनशीलता पनि त्यतिकै हुन्छ । चिकित्सकले आर्थिक उन्नति मात्र गर्नु हुँदैन, बिरामीप्रति मानवीय भावना राख्नुपर्छ । मानवीय भावना भन्नाले अध्यात्मिक वा आत्मिक तथा जिम्मेवारी हो । चिकित्सक भइसकेपछि जीवनको लक्ष्य सेवा दिनु हो, दुःख तथा पीडाबाट मुक्ति दिनु हो भन्ने सोच राख्न सक्नुपर्छ । चिकित्सकले आय उपार्जनलाई आयतनसँग गाँस्नु हुँदैन । चिकित्सा पेशा अँगालेर अर्बपति वा खर्बपति हुने अपेक्षा राख्ने होइन । साँच्चै अर्बपति वा खर्बपति हुन व्यापार व्यवसाय  गर्नुपर्छ । चिकित्सक भएपछि आफ्नो हैसियत अनुसारको जीवन बाँच्ने हो । 

पूँजीवादी व्यवस्थामा डाक्टरले कमाईबाट प्रतिस्पर्धा गर्न सम्भव छैन । सम्पत्तिले कसैलाई पनि पुग्दैन । यो संवेदनशील पेशा भएका कारण चिकित्सकले पेशाप्रतिको इमानदारिता कायम गर्नैपर्छ ।  

चिकित्सकले आचारसंहिता विपरित पैसा कमाउन अनियमित काम गर्ने गरेको सुनिन्छ नि त ? 

समाजका विभिन्न पेशा र वर्गका मान्छेलाई एकांकी ढंगले हेर्नु पनि हुन्न । नेपालमा अपवादबाहेक उसको क्षमता र इमानदारिता नहेरी उसले चढ्ने गाडी, घर, शान सौकत, सम्पत्तिका आधारमा मूल्यांकन गर्ने गरिएको छ । समाज अथवा राजनीतिक व्यवस्थाले हरेक मानिसलाई जसरी पनि पैसा कमाउनैपर्छ भनी बाध्य पारिरहेको छ । पैसा नै जीवनको श्रेयष्कर हो, पैसा कमाए नै जीवनको सार्थकता र सफलता हुन्छ भन्ने खालको परिवेश विस्तारै तयार हुँदैछ । छोरा–नातीलाई पुग्ने गरी सम्पत्ति कमाउनुपर्छ भन्ने सोच सबैले देखाउने गरेका छन् । 

यो प्रवृत्ति चिकित्सकमा मात्र होइन, राजनीतिज्ञ तथा अन्य पेशा तथा व्यवसाय अपनाएका व्यक्तिमा पनि छ । विस्तारै यो बढिरहेको छ । त्यसको प्रभाव चिकित्सकलाई पनि परिरहेको छ ।  

अन्य पेशा तथा व्यवसाय गर्नेले पैसा कमाए भन्दैमा चिकित्सकले त्यसको पछि लाग्न हुन्छ कि हुँदैन ? 

चिकित्सक पनि यही समाजको उपज हो । अरुको भन्दा बरु चिकित्सकमा सेवाको भावना तथा स्वस्थ प्रवृति भएको म ठान्दछु । म दाबीका साथ भन्न सक्छु– केही अमुक चिकित्सकबाहेक अरुमा यो प्रवृति देखिएको छैन । राज्य र स्वास्थ्य संस्थाले चिकित्सकलाई पूर्णकालीन बनाएर काम लगाएपछि त्यसै अनुरूपको सेवा सुविधा दिनुपथ्र्यो । त्यो राज्यले व्यवस्था गर्न सकेको छैन । चिकित्सकलाई आर्थिक रूपमा सहज हुने ढंगले व्यवस्थापन गर्नुपथ्र्यो, त्यो भएको छैन । चिकित्सक भनेको शारीरिक तथा मानसिक रूपमा पनि मेहनत गर्नुपर्ने र अरु पेशा जस्तो माथिल्लो तहमा पुगेपछि कम काम गनुपर्ने भन्ने नभई बौद्धिक रूपमा सधैं सक्रिय हुनुपर्ने पेशा हो । तर, उसले आफ्ना दैनिक आवश्यकता पूरा गर्न तथा अन्य आवश्यकताका लागि पनि धेरै ठाउँमा दौडधुप गर्नुपरेपछि पैसा कमाउनु पर्छ भन्ने सोच विकसित हुन पनि सक्छ । त्यो स्वाभाविक पनि हो । 

के चिकित्सकले दैनिक व्यवहार चलाउन गाह्रो भएकाले नै कमाउनका लागि दशौं ठाउँमा चहारेर हिँड्ने प्रवृति अँगालेका हुन त ? 

नेपालका ९० प्रतिशत चिकित्सकलाई बिहान ९ बजेदेखि ५ बजेसम्म एकै ठाउँमा बसेर काम गर्ने वातावरण नै छैन । ती चिकित्सकलाई एक ठाउँमा मात्र काम गरेर जीवन धान्न गाह्रो छ । दिनको हजार बाह्र सय रूपैयाँले के नै हुन्छ र ? चिकित्सकलाई त्यो किसिमको मर्यादामा राख्न संसारभर राज्यले वातावरण तयार पारेको देखिन्छ । एउटा चिकित्सकले श्रमिकले पाउनुपर्ने ज्याला जति पनि पाउन सकेको छैन । जसरी श्रमिकको ज्याला तोकिएको छ, चिकित्सकको पनि तोकिनुपर्‍यो । सरकारले अथवा स्वास्थ्य संस्थाले राम्रो गरिदिए चिकित्सक धेरैतिर काम गर्न दौड्नु नै पर्दैन । ‘एक संस्था, एक चिकित्सक’ लागू भए नेपालका ९० प्रतिशत चिकित्सकलाई दैनिक गुजारा गर्न पनि गाह्रो हुनेछ । 

चिकित्सकले बिरामीको अनावश्यक रूपमा ल्याब टेस्ट गर्न लगाएर कमिशन लिने गरेको गुनासो सुनिन्छ नि, यो चिकित्सकसंहिता भित्र पर्छ कि पर्दैन् ? 

आचारसंहिताले बिरामीलाई मानवताको नाताले हेर्नुपर्छ भनेको छ । अर्को कुरा, स्वास्थ्य क्षेत्रमा गरिने टेस्टलाई औचित्यताको सिद्धान्तले हेरिनुपर्छ भन्ने पनि छ । कुनै पनि कामका पछाडि त्यसको औचित्यता प्रमाणित हुनुपर्छ । चिकित्सकको उपचार विधि स्तरीय, मौलिक एवं अनुसन्धानात्मक पनि हुनुपर्छ । एउटा बिरामीको अनुसन्धान गरेर रोग पत्ता लगाउनका लागि न्यूनतम आर्थिक भार पर्ने गरी सोच्नुपर्छ । किनकि हामीकहाँ बिमा लगायत अन्य कसैले खर्च नव्यहोरी स्वयंले गर्नुपर्छ । यसलाई मानवताको हिसाबले पनि हेर्नुपर्छ । अनावश्यक टेस्ट लेख्ने कुरा चिकित्सकको संहितामा पर्दैन । चिकित्सकले टेस्ट लेख्ने कुराको औचित्यता पुष्टिसमेत गर्नुपर्छ । 

अस्पताल व्यवस्थापनले डाक्टरलाई यति वटा टेस्ट वा परीक्षण लेख्नुपर्छ भन्ने निर्देशन दिने गरिएको छ भन्ने सुनिन्छ नि ? 

सबैलाई एउटै डालोमा हालेर यस्तो आरोप लगाउन मिल्दैन । चिकित्सकलाई शुल्क कम तोकिदिएको हुनाले बढीभन्दा बढी अनुसन्धान गराएर, औषधि लेखिदिएर, महँगो उपचार सिफारिस गरेर, बढीभन्दा बढी बिरामी भर्ना गराउने प्रवृति विकास हुन्छ कि भन्नेमा हामी सचेत छौंं । पछिल्लो समयमा त्यस्तो प्रवृत्ति बढेको गुनासो आउने गरेको छ ।   

आचरण समितिमा अहिलेसम्म चिकित्सकले मान्यताविपरीत काम गरे भनेर उजुरी आएको छ कि छैन ?

नेपालका मानिस तीन किसिमका छन् । पहिलो हुन्, अशिक्षित । उनीहरूलाई उपचार कहाँ र कसरी गर्ने तथा कुन डाक्टरलाई देखाउने भन्ने पनि थाहा छैन । 

दोस्रोथरी हुन्, सामान्य उपचार गर्नका लागि मात्रै पैसा भएकाहरू । उनीहरू बिरामीको सामान्य उपचार मात्रै गर्छन् । थप उपचार गर्ने रकम उनीहरूसँग छैन । 

तेस्रोथरी हुन्, सामान्य आर्थिक अवस्था भएका मानिस । उनीहरूको मान्यता छ– ठूला र महँगो अस्पतालमा उपचार गरे रोग सञ्चो हुन्छ । त्यसैले उनीहरू नै आर्थिक शोषणमा परेका छन् । 
नेपालमा मात्र होइन, भारतमा समेत यस्तो आर्थिक अवस्था भएकाहरूले ऋण गरेर पनि उपचार गरिरहेको अवस्था छ । 

बिरामी भइसकेपछि पहिले स्थानीय स्तरमा देखाउने, त्यसपछि विशेषज्ञ डाक्टरकोमा जाने, त्यसले पनि नभए त्योभन्दा माथिल्लो तहमा जाने र त्यसले पनि नभए विदेशमा जाने भन्ने एउटा प्रणाली हामीकहाँ विकास हुन सकेको छैन । केवल डाक्टरलाई मात्र दोष लगाउने अवस्था छैन । आवश्यक नै नरहेका करिव ८० प्रतिशत औषधि भिडाइएको छ । गाउँ–गाउँमा समेत महँगा भिटामिन समेत चिकित्सकले भिडाउने गरिएको गुनासो आउने गरेको छ । 

अनुगमन नहुँदा अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको कुरा त भयो, चिकित्सकले पनि औषधि कम्पनी वा निर्यात कम्पनीको दबाब र प्रभावमा परेर आवश्यक नरहेका औषधि सिफारिस गर्ने गरेको आरोप लाग्ने गरेको छ नि ? 

यस विषयमा मैले अघि पनि भनिसकें । चिकित्सकहरुले पनि आचारसंहिताका हिसाबमा पहिला मानवताको नाताले हेर्नुपर्‍यो, औचित्य पुष्टि हुनुपर्‍यो, फाइदाको सिद्धान्त अन्र्तगत बिरामीको हित केन्द्रित हुनुप¥यो, अनावश्यक फाइदा लिनु भएन । यस विषयमा विशुद्ध प्राज्ञिक अनुसन्धान, छलफल, कार्यशाला सरकारले गर्नुपर्ने थियो । तर, त्यो नभएर औषधि कम्पनीले गर्ने गरेका छन् भने त्यो उनीहरूले आफ्नो स्वार्थपूर्ति गर्न खोजेका हुन् । अहिले सिपिडीअन्तर्गत प्रत्येक डाक्टरलाई पेशा अद्यावधिक गरेर कायम गर्नलाई खास नम्बर हासिल गर्नुपर्छ । 

विदेशमा पनि त्यो चलन छ । विदेशमा ५ देखि १० वर्षमा लाइसेन्सका लागि पुनःपरीक्षा हुने गरेको छ । नेपालमा त्यो सम्भव नभएको हुनाले विशेषज्ञ चिकित्सकको नाताले उसले आफ्नो ज्ञान र सीपलाई अद्यावधिक बनाउँदै लैजानुपर्छ । त्यसमा प्रशिक्षित हुनुपर्छ भनेर मेडिकल काउन्सिलले पनि निरन्तर वैयक्तिक विकास भन्ने अवधारणा ल्याएको छ । त्यसको लागि चिकित्सकले कम्पनी तथा मार्केटिङबाट सहयोग लिने कुरालाई नकारात्मक ढंगले पनि नलिउँ । बरु त्यो विशुद्ध प्राज्ञिक कार्यको लागि हुनुपर्छ भन्ने हो । त्यसले गर्दा अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउन मद्दत गरोस् । 

तर, त्यसका आधारमा औषधि सिफारिस गर्न मिल्छ कि मिल्दैन ? 

बिरामीको हकहितको प्रवद्र्धन हुने गरी, मानवीय भावनाबाट च्युत नहुने गरी र  बिरामीलाई फाइदा हुने गरी मात्रै औषधि लेख्न पाइन्छ । 

यहाँले भन्नुभएजस्तै तेश्रो थरिका मानिसले त यहाँको स्वास्थ्य सेवालाई विश्वास नगरेकाले नै विदेश जाने गरेको हुन् ? 

त्यसको लागि हामीकहाँ कसैले निहित स्वार्थवश, गलत नियतले काम गरेको छ भने त्यसको लागि उजुर गर्न सक्ने प्रणालीको विकास हुँदैछ । आज मात्र चिकित्सकीय लापरवाही भएका खण्डमा के–कस्तो सजाय वाञ्छनीय छ भन्नका लागि ऐन ल्याइएको छ । त्यो अहिले संशोधन भयो भन्ने जानकारी आएको छ, जुन हाम्रो माग पनि थियो । चिकित्सकीय वृत्ति विकास तथा अध्ययन अनुसन्धान र प्राज्ञिक विकासका लागि भए त्यसलाई नकारात्मक रूपमा लिन मिल्दैन । तर, त्यसैको आधारमा अनावश्यक खर्च गराउने, निजी, पारिवारिक लाभ लिने, अस्वाभाविक प्रायोजन गराउने, अस्वाभाविक माग गर्ने गर्नु भएन । 

त्यस्ता उजुरी मेडिकल काउन्सिलमा आएको छन् कि छैनन् ? 

प्रष्टसँग यसै भनेर आएको छैन । अमूर्त रूपमा आएका छन् । 

यहाँको पालामा वा अगाडि यस सम्बन्धमा कारवाही भएको कुनै घटना छ ? 

मेडिकल काउन्सिलको ऐन अनुसार कुनै गम्भीर प्रकारको त्रुटि वा कमजोरी गर्‍यो भने निलम्बन गर्न सकिन्छ दुई वर्षका लागि । तर, कसैले समान्य त्रुटी गरेको छ भने त्यसमा दुई तीन महिना निलम्बन गरिएको छ । म आइसकेपछि तीन जनालाई केही समयका लागि निलम्बन नै गरिएको छ । 

निलम्बन केही समयपछि स्वतः फुकुवा हुन्छ कि ? 

गम्भीर प्रकारको त्रुटि गरेको छ र मेडिकल काउन्सिलको दुई तिहाइ सदस्यले पास गरेको अवस्थामा न्युनतम दुई वर्षका लागि मेडिकल काउन्सिलबाट हटाउन पनि सकिन्छ । अथवा कोही मान्छेले फौजदारी अभियोगअन्र्तगत मुद्दा दर्ता गरेर अदालतले दोषी करार गरेको छ भने उसको नाम काउन्सिलबाट सधैंको लागि पनि  हट्छ । 

अनावश्यक ल्याब परीक्षण गराउने, अनावश्यक औषधि लेखाउने तथा कमिसन लिने प्रवृत्ति एकदमै मौलाएको छ भनिन्छ, काउन्सिललाई त्यो जानकारी छ कि छैन ?

काउन्सिललाई कतैबाट उजुरी आयो भने हेरिन्छ । एउटा चिकित्सले कुनै कम्पनीमा काम गरेबापत त्यो चिकित्सकबाहेक अन्य पेशामा पनि भएको हुनाले त्यसलाई इन्कार गर्न मिल्दैन । कसैले आफ्नो व्यापार अभिवृद्धिका लागि काम गरिदिएवापत कमिसन लिएका पनि हुन सक्छन, त्यसलाई छंदै छैन भन्न मिल्दैन । 

सरकारी अस्पतालमा भएका सेवा पनि बाहिर रिफर गरेर कमिसन लिन मिल्छ कि मिल्दैन ?

मैले अघि पनि भनें अब सरकारीमा नभएका सेवा बाहिर रिफर गरेर त्यसवापत कसैले कमिसन दिन्छ भने त कसरी भन्नु र ? तर, अनावश्यक ल्याब टेस्टका लागि सिफारिस गर्ने, अनावश्यक औषधि लेख्ने कुरा त आचारसंहिताविपरित नै भयो । बिरामीलाई अनावश्यक रूपमा आर्थिक भार नपर्ने गरी, औचित्यता प्रमाणित हुने गरी मात्र बिरामीलाई फाइदा हुने गरी प्रतिस्पर्धात्मक रूपमा कसैले केही मात्रामा प्रायोजन गर्ने, उपहार तथा प्राज्ञिक कुरा गर्नुलाई अस्वाभाविक मानिन्न । तर, कसैले रेट नै तोकेर कमिसन लिन नैतिकता भित्र पर्दैन । त्यसलाई काउन्सिलले सुधार गर्नै पर्छ । 

कसैले लिखित रुपमा उजुरी दियो भने मात्रै काउन्सिलले कारवाही गर्ने हो नत्र कारवाही हुँदैन ? 

कारवाही हुन्छ, नहुने होइन । काउन्सिललाई जानकारी भएका खण्डमा छानबिन गरेर काउन्सिलले कारवाही गर्छ । काउन्सिलको त्यस्तो हेर्ने अनुगमन गर्ने निकाय भने छैन । कारवाहीका लागि उजुरी गरेका खण्डमा भने कारवाही हुन्छ । व्यक्ति–व्यक्तिका पछि राज्य त लागेर सक्दैन भने मेडिकल काउन्सिल त एउटा नियमक निकाय मात्रै हो ।