आत्महत्या बढ्नुका कारण, रोकथामका लागि भएका प्रयास र प्रमुख चुनौती

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्या बढ्नुका कारण, रोकथामका लागि भएका प्रयास र  प्रमुख चुनौती

अंशु भूसाल  |  दृष्टिकोण  |  भदौ २५, २०७७

आज सेप्टेम्बर १०, विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय रुपमा काम गर्ने संस्था, इन्टरनेट एसोसिएसन फर सुसाइड प्रिभेन्सन (IASP) र विश्व स्वास्थ्य सङ्गठन (WHO) ले सन् २००३ देखि सेप्टेम्बर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’को रुपमा मनाउँदै आएको छ । विगत वर्षहरूमा जस्तै यो वर्षको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’  भनि तय गरिएको छ । 

विश्व आत्महत्या रोकथाम दिवस सप्ताहव्यापी रुपमा (सेप्टेम्बर ६–१२) मा मनाउँदै आएको छ । विश्वभरि आत्महत्या रोकथाम सम्बन्धी जनचेतना जगाउने  खालका कार्यक्रममा सञ्चालन  गरिन्छ । यो दिवस मनाइ रहँदा आत्महत्या रोकथामलाई कसरी गर्न सकिन्छ र यस कार्यका लागि सबै जनाका हातेमालो र सहकार्यको खोजी गर्नु नै यस सप्ताहको मुख्य उद्देश्य रहेको छ । 

विश्व स्वास्थ्य सङ्गठन आँकडा अनुसार विश्वमा हरेक वर्ष करिब ८ लाख मानिसहरूको मृत्यु आत्महत्याको कारणले हुने गर्छ अर्थात् विश्वमा प्रति ४० सेकेन्डमा १  जनाको मृत्यु आत्महत्याका कारण हुन्छ  । 

मानिसले जीवनको कुन कालखण्डमा आत्महत्या गर्न सक्ने बढी सम्भावना हुन्छ ? भनेर पनि अध्ययनहरु भएका छन् ।  विश्वमा (१५–२९)वर्षको उमेर समूहले बढी आत्महत्या गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । 

आत्महत्या

आत्महत्या भनेको के हो ? सामान्यतया आफ्नो जीवनलाई आफैले अन्त गर्नुलाई आत्महत्याका  लिइन्छ  । तर के भनिए जस्तो यति सरल र सहज छ त मानिसले आफैले आफ्नो ज्यान लिन ?  हो ! त्यति सरल र सहज नहुँदा नहुँदै समाजमा आत्महत्याका घट्नाहरु दिनानुदिन बढी रहेका आँकडा देख्न र पढ्न पाइन्छ । 

मानिस स्वभावैले महत्त्वाकाङ्क्षी प्राणी हो, आफ्ना मनोकाङ्क्षा पुरा गर्न हरदम तयार रहन्छ । आफ्नो तन, मन र धन दिएर मनोकाङ्क्षा पुरा गर्न अनेकन् उपायहरू अपनाइ रहेको हुन्छ । सरल र सहजै  मनोकाङ्क्षा पुरा हाेस भन्ने चाहना पनि राखिरहेको हुन्छ । मानिसलाई सबैभन्दा प्यारो कुनै कुराको लाग्छ भने त्यो  आफ्नो ज्यानको लाग्दछ । यो स्वाभाविक पनि हो । आफैलाई जोगाउन मानिसले हर सम्भव प्रयास गर्छ नै । यति हुँदाहुँदै पनि मानिस कहिलेकाहीँ दुखी हुने गर्छ, जीवनदेखि नै निराश र विरक्त हुन पुग्दछ । मानिसको जीवन खुसी,उत्साह र उमङ्ग मात्र होइन दुःख निराश र विरक्तको सम्मिश्रण पनि हो । यी दुबै पाटो जीवनका  स्वाभाविक पक्षहरू हुन । 

पहिलो पटक सन् २०१४ मा विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या सम्बन्धी विश्वभरको रिपोर्ट प्रकाशित गरेको थियो  । यो रिपोर्ट प्रकाशित गर्नुका पनि खास उद्देश्य थिए ।  यसको उद्देश्य के थियो भने  आम जनमानसमा आत्महत्या रोकथाम गर्न सकिन्छ भन्ने जनचेतना फैलाउने र यसलाई विश्वव्यापीकरण जनस्वास्थ्यको ‘एजेन्डा’का रुपमा स्थापित गराउनु ।  ६ वर्षदेखि विश्वव्यापी रुपमा जनचेतनाका कार्यक्रम गरिरहँदा, झन् आत्महत्याको सङ्ख्यामा भने बढोत्तरी भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको मानसिक स्वास्थ्य सम्बन्धी कार्य योजनाको उद्देश्य नै सबै सदस्य राष्ट्रहरूले २०२० सम्ममा आत्महत्याको दर १० प्रतिशतले घटाउने भनी उल्लेख गरेको छ । 

कमजोर मुटु भएकोले मात्र आत्महत्या गर्छन् भन्ने कुरा त हामीले सानैदेखि सुनिरहेका विषय हो । तर के कारणले मानिसको मुटु त्यति कमजोर हुन्छ ? भनेर न त हामीलाई  भनियो न पढाइयो नै,  न त हामीले जान्ने कोसिस गरेऊँ । हेर्ने हो भने, आम रुपमा आत्महत्या गर्ने व्यक्तिको विचार र  कार्यशैलीमा परिवर्तन देखिएको हुन्छ । त्यस्तो परिवर्तनलाई गम्भीर रुपमा लिएर उनीहरूसँग  छलफल र अन्तरक्रिया गर्ने हो भने  पनि केही हदसम्म आत्महत्यालाई रोकथाम गर्न सकिन्छ ।  

सामान्यता डोरी वा सलको सहाराले झुन्डिएर, विभिन्न औषधी वा विष सेवन गरेर, आगोमा जलेर, उचाइबाट हाम फालेर, खोला वा पोखरीमा पसेर र हातहतियारको प्रयोग गरेर  अधिक मानिसले  यीनै विधि अपनाई आफ्नै हत्या गर्ने गरेको पाइन्छ । 

किन गर्छन् मानिस आत्महत्या ?    

आत्महत्या गर्नुको कारणहरू धेरै हुन सक्छन् । किटेरै यही कारणले हो भन्न सकिँदैन तर धेरैमा मानसिक रोगका कारण आत्महत्या गरेको पाइन्छ । यसको अलावा सामाजिक, आर्थिक र मानसिक कारणले गर्दा पनि आत्महत्या दर बढिरहेको छ । पढाइको तनाव, घर परिवार बिचमा हुने कलह, काममा असफलता, आफन्त, श्रीमान्/श्रीमती वा प्रेमी र प्रेमीका बिचको सम्बन्धमा आउने खटपट, आर्थिक लेनदेन, समाजमा बदनाम हुने डर तथा बढी महत्त्वाकाङ्क्षीपनले गर्दा  पनि मानिस आत्महत्याको बाटो अङ्गीकार गरिरहेको देखिन्छ । विज्ञहरूको अनुसार ‘डिप्रेसन’ले गर्दा पनि अक्सर मानिसहरू आत्महत्याको बाटो रोज्ने  गर्दछन्  ।

वर्तमान अवस्था 

विश्वमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गर्छन् । अझ विकसित मुलुकमा यो दर बढी रहेको छ । मध्यम र निम्न आय भएका मुलुकहरूमा युवा तथा महिलाहरूको आत्महत्याको दर बढी रहेको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाउँछ । आत्महत्या गैर कानुनी कार्य मानिन्छ र नेपालमा पनि त्यही रुपमा लिइन्छ ।

विश्व नै कोरोनाले थलिएको छ । करिब ६ महिनादेखि भइरहेको लकडाउनले गर्दा आम मानिसमा मनोसामाजिक समस्या भयावह हुने चिन्ता व्यक्त भइरहेको छ । कोरोनाको कहरले गर्दा मानव समुदाय कोठाको चार भित्तामा सीमित हुन बाध्य छ । अस्तव्यस्त जिन्दगीलाई  ‘ब्रेक’ लगाइदिने लकडाउन र निषेधाज्ञले गरेको  छ । यसले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिन्दगी गुडाउनेलाई सिधा असर गर्‍यो र गरिरहेको छ ।  

आत्महत्या र यसको प्रयत्नले स्वयम् व्यक्तिलाई मात्र नभएर उसको घरपरिवार, साथीभाइ, इष्टमित्र अझ ठुलो मात्रामा समाजलाई नै गम्भीर असर गरिरहेको छ ।  विश्व स्वास्थ्य सङ्गठन २०१५, को अनुसार आत्महत्या दरलाई नियाल्दा नेपाल १२६ औँ  देशमा पर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वार्षिक रुपमा ६,८४० को आत्महत्याको कारण मृत्यु हुने गरेको देखाएको थियो  

नेपालमा लकडाउनको पहिलो महिनामा ४८७ जनाले आत्महत्या गरेको  नागरिक दैनिकको अङ्ग्रेजी संस्मरणले उल्लेख  गरेको छ । जबकि लकडाउन अघिसम्म औसतमा प्रति महिना ४०० जनाले आत्महत्या गर्ने गरेको आँकडा रहेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार कोरोना बिना नै  दुई हजार बढीको मृत्यु आत्महत्याका कारण भइसकेको छ । यो तथ्याङ्क डेढ महिना अघि नेपाल प्रहरीले सार्वजनिक गरेको आँकडा हो  । सो आँकडा अनुसार अघिल्लो वर्ष नेपालमा दैनिक १५ जनाले आत्महत्या गर्ने गरेकोमा  लकडाउन अवधिमा घटीमा पनि २० जनाले प्रत्येक दिन आत्महत्या गरिरहेको आँकडाले देखाउँछ । मनोविद्हरूका अनुसार कति आत्महत्या दर्तामा वा सूचनामा नै आउँदैनन्, त्यसैले सङ्ख्या अझ बढी हुन सक्ने आङ्कलन गरिँदै छ । यी तथ्याङ्ककले मानिस रोगले भन्दा त्रास र चिन्ताले धेरै गलिरहेका छन् भन्ने बुझ्न सकिन्छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य पाइलट सर्वेक्षण (२०१८) को अनुसार नेपाली (१३–१७) वर्षका किशोर किशोरीमा ८.७ प्रतिशत र वयस्कमा १०.९ प्रतिशतमा आत्महत्याको सोच रहेको पाइएको देखाइएको छ भने मानसिक रोगको सम्भावना १२.९ प्रतिशतमा  रहेको उल्लेख गरिएको छ  ।

नेपाल प्रहरी कार्य एवं अपराध अनुसन्धान विभागको अपराध सम्बन्धी पञ्चवर्षीय तुलनात्मक विवरणका अनुसार, नेपालमा आत्महत्या सम्बन्धी अपराध दोस्रो ठुलो अपराधका रुपमा मानेको छ । आर्थिक वर्ष २०७२/७३ मा आत्महत्या सम्बन्धी अपराधमा ४६८० जना व्यक्ति थिए भने २०७६/७७ मा यसको सङ्ख्या बढेर ६२४१ पुगेको थियो । यसको सङ्ख्या  हरेक वर्ष बढिरहेको छ । 

आत्महत्यालाई मानिसले अहिले पनि मानसिक अवस्था ठिक नभएका व्यक्तिले गर्ने कुरा भन्ने गर्छन् । अझ लैङ्गिक र घरेलु हिंसाका कारण पीडितहरूले गर्ने  आत्महत्यालाई परिवार र समाजले लुकाउने कोसिस गरिरहेको पाइन्छ । स्वाभाविक मृत्युको रुपमा देखाउन खोजिन्छ । अझ पितृसत्तात्मक सोच राख्ने मानिसहरूको अनुसार महिलाले धारणा राखेको विषय समेत अपाच्य हुने गरेको छ । कतिसम्म भने  नेपाली सञ्चारमाध्यमले आत्महत्याको समाचार बनाउँदा कसले, कसरी गरे भनेर जोड दिएको सुन्न र पढ्न बाध्य छौँ । थोरै सञ्चारमाध्यमले मात्र आत्महत्याको कारण र रोकथामको सन्देश दिने गरेको पाइन्छ ।   अथवा भनौँ हामीमा आफ्नो भावना, बुझाइबारेमा छलफल गर्ने चलन एकदमै कमी हुँदै आएको छ । 

रोकथाम  

आफ्नो स्वस्थ जीवनको जिम्मा हामी स्वयम्को पनि हो । आफ्नो सफलता र  खुसीको जिम्मेवारी पनि हामी आफैको हो ।  तर यति भन्दा भन्दै पनि हाम्रो वातावरणले पक्कै पनि हामीलाई प्रभाव पारिरहेको हुन्छ । आत्महत्या गर्ने व्यक्तिहरूमा उनीहरूको बोली, काम गर्ने शैलीमा फरकपन हुन्छ ।  हामी र हाम्रो ध्यान त्यसको पहिचान र  परिवर्तन गर्न गइरहेको हुँदैन ।  त्यस्ता मानिसहरूको मनमा धेरै कुरा खेल्ने खालका हुन्छन् । आफ्नो जीवनको उद्देश्य वा महत्त्व आफूलाई गुमाएको जस्तो  स्वभाव देखाउँछन् । व्यक्तिगत रुपमा मानिसमा आइरहेको परिवर्तन, उसले राख्ने विचार र व्यवहारलाई वरिपरि रहेका व्यक्तिहरूको हालखबर बुझ्ने, घरपरिवारका सदस्य तथा साथीभाइले अलिकति ध्यान दिने हो भने पनि आत्महत्यालाई केही हदसम्म रोकथाम  गर्न सकिन्छ ।  

कुनै व्यक्तिले आफ्नो भावना, शारीरिक तथा मानसिक अवस्थाका बारेमा व्यक्त गर्दा हामीले खासै ध्यान दिन तयार हुँदैनौ । त्यस्ता मानिस अथवा आत्महत्या गर्ने सोच भएका मानिस आफ्ना भावना र व्यवहार देखाइ रहेको हुन्छ । यस्ता  कुरा सुन्नलाई मात्र नभएर बुझ्न र मनन नगरिदिँदा पनि आत्महत्या गर्न गइरहेको हुन्छ । त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्तका अनुसार आत्महत्या अस्थायी समस्या समाधानको आवेगपूर्ण निष्कर्ष हो । 

छिमेकी मुलुक भारतका चर्चित नायकको अप्रत्याशित मृत्यु हुँदा भारत तथा नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा गरियो तर केही समय पछि नेपाली नायिकाले आफू उत्पीडनमा परेको भन्दा त्यही जमातले तथानाम गाली मात्र गरेनौ चरित्रहत्या गर्न अग्रसर रहेको देखायौँ । हाम्रो समाज, आफ्नो अपरिपक्व इच्छालाई पुरा गर्न, ध्यान आकर्षित गर्नको लागि मानिसहरू आत्महत्या गर्छन् भन्ने विश्वास राख्ने गरेको पाइन्छ ।

 कमजोर मुटु भएकोले मात्र आत्महत्या गर्छन् भन्ने कुरा त हामीले सानैदेखि सुनिरहेका विषय हो । तर के कारणले मानिसको मुटु त्यति कमजोर हुन्छ ? भनेर न त हामीलाई न भनियो न पढाइयो नै,  न त हामीले जान्ने कोसिस गरेऊँ । हेर्ने हो भने, आम रुपमा आत्महत्या गर्ने व्यक्तिको विचार र  कार्यशैलीमा परिवर्तन देखिएको हुन्छ । त्यस्तो परिवर्तनलाई गम्भीर रुपमा लिएर उनीहरूसँग  छलफल र अन्तरक्रिया गर्ने हो भने  पनि केही हदसम्म आत्महत्यालाई रोकथाम गर्न सकिन्छ ।  

आफ्नो कुरा खुलेर भन्ने मानिसहरूमा सामान्यतया यस्तो समस्या देखिँदैन भन्ने भ्रम छ । अरूले आफ्नो भावना बुझ्न सक्दैनन् वा चिनेका मानिसहरूलाई आफ्ना कुरा गर्दा नराम्रो सोच्ने, हाँसोको पात्र बनाउन सक्ने डर लाग्ने हुन्छ, त्यसैले मनोपरमर्शकर्ता, मनोचिकित्सक तथा मनोविद्सँग परामर्शको माध्यमबाट आत्महत्यालाई रोकथाम गर्न सकिन्छ ।  हालको विषम परिस्थितिमा विभिन्न अस्पताल तथा मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरूले निःशुल्क टोल फ्री सम्पर्क नम्बरद्वारा मनोसामाजिक परामर्श दिइरहेका छन् भन्ने कुरा आम सर्वसाधारणलाई जानकारी दिन जरुरी छ ।

उदाहरणको लागि त्रिवि शिक्षण अस्पतालको हटलाइन नम्बर ९८४००२१६००, पाटन अस्पतालको हेल्प लाइन नम्बर ९८१३४७६१२३, बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पि.ओ. नेपाल)को टोल फ्रि (हरेक दिन बिहान८ देखि साँझ ६ बजे सम्म) नम्बर १६६००१०२००५ लगायतका ठाउँहरूबाट यस्तो मनोसामाजिक परामर्श जानकारी दिएर यस्ता ठाउँहरूमा विचार र  कार्यशैली परिवर्तन भएका मानिसलाई पठाउन वा लैजान परिवार वा साथीभाइले सहयोग गर्ने हो भने पनि आत्महत्यालाई केही हदसम्म रोकथाम गर्न सकिने सम्भावना हुन्छ । 

आत्महत्याको रोकथामको प्रमुख चुनौती समाज रहेको नकारात्मक सोच  नै हो । रुने व्यक्ति कमजोर हो, महिला भएसि सहनुपर्छ, आफूभन्दा ठुलाबडाहरू भनेको कुरा नै  राम्रो  हाे भन्ने  सोच आम मानिसमा सामान्यतया रहेको पाइन्छ । समाज र परिवारमा ‘लायक’ हुनको लागि नि कति मानिसहरूले आफ्नो इच्छा, खुसी विपरीत काम गर्न बाध्य पारिन्छ । छोटो समयका लागि ठिकै ठहरिए पनि अन्ततः त्यस कार्यले दिगो रुपमा खुसी दिन सक्दैन भन्ने कुरा हामीले ख्याल गर्दैनौ । आफ्नो भन्दा फरक धारणा पनि हुनसक्छ भन्ने कुरो ख्याल नगरिदिँदा पनि समस्या हुने गर्छ । मनिसको वरिपरिको वातावरणले, उँसग हुने र गर्ने अन्तरक्रियाले उसको मानसिक अवस्थामा प्रभाव पार्दछ । 

मानिसलाई आशावादी हुनु पर्छ  । जीवन लामो छ, जीत हार भइरहन्छ । जिन्दगी सोचे जस्तो नहोला तर हिम्मतका साथ अगाडि बढ्नु पर्दछ । नियालेर हेर्‍यो भने चन्द्रमामा नि दाग छ भन्ने कुराको ज्ञान दिन जरुरी छ । आ–आफ्ना फरकपनलाई स्वीकार्दै, गल्ती सच्चाउँदै जिन्दगीको चक्का घुमाउनुपर्छ । घरपरिवारमा सबै सदस्यबिच खुला तर सम्मानजनक रुपमा आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । आफ्नै अभिभावक वा परिवारका सदस्यलाई भन्न नसकेको कुरा व्यक्तिले सामाजिक लाञ्छनाका कारण अरूलाई भन्न सक्छन् भन्ने अपेक्षा राख्नु मुर्खता हुन जान्छ । 

त्यसैले आत्महत्याका बारेमा सक्दो बहस र  छलफल गर्नु  जरुरी  छ ।   भनिन्छ, मानिस चितामा भन्दा चिन्तामा धेरै र छिटो जल्ने गर्छ । कुनै विशेष दिनमा वा घटनाले मात्र हामीमा समानुभुतिको भावना आउनु उचित हुँदैन । जिन्दगीकाे नाम ठक्कर पनि हाे ।  ति  ठक्कर र पिडाबाट सिक्दै अगाडि बढ्नुकाे बिकल्प पनि छैन् । जिन्दगीमा गरिने कुनै पनि गल्ती सो व्यक्तिको ज्यानभन्दा ठुलो हुँदैन ।