बालुवाको अनुमति लिएर ढुंगा र गिटी प्रशोधन गर्दै क्रसर उद्योग

बालुवाको अनुमति लिएर ढुंगा र गिटी प्रशोधन गर्दै क्रसर उद्योग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

सिन्धुली । बालुवा प्रशोधनको अनुमति लिएका क्रसर उद्योगहरूले ढुंगा र गिट्टी प्रशोधन तथा क्रसिङ गरिरहेका छन् । त्यसमा पनि अधिकांश उद्योग मापदण्डविपरीत सञ्चालित छन् । जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले गरेको अनुगमनमा सिन्धुलीका क्रसर उद्योगले एउटा अनुमति लिएर अर्कै काम गरिरहेको पाइएको हो । ‘ढुंगा र गिट्टी प्रशोधन गरिरहेको भेटियो,’ जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारीले भने । क्रसर उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता हुन्छन् । त्यहाँबाट उनीहरूले बालुवा प्रशोधन तथा निकासीको अनुमति लिएका हुन्छन् । 

समितिका संयोजक तिवारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेलगायतको टोली अनुमगत गरेको थियो । 

सुनकोसी किनारका ६ वटा उद्योगमा अनुमन गरिएको र सबैले अनुमतिविपरीत काम गरिरहेको पाइएको अनुमगन समितिले जनाएको छ । ती उद्योगहरूले कानुनसम्मत काम नगरेको पाइएको समितिको निष्कर्ष छ । ‘घरेलु तथा साना उद्योग विकास समितिमा बालुवा धुने भनी दर्ता भएका उद्योगहरूले अनियमित तरिकाले क्रसर उद्योगहरू सञ्चालन गरेको छ,’ सिडिओ ढकालले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।