किशोरी भारत लगिरहेका ६ युवक पक्राउ

किशोरी भारत लगिरहेका ६ युवक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २५, २०७७

रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा  एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी  १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं  ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र  २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक  सिद्धिविक्रम शाहले जानकारी दिनुभयो  ।
 
सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ ।