पिसिआर टेस्ट कति सही ? अध्ययन भन्छ–६० देखि ८० प्रतिशत मात्र !

पिसिआर टेस्ट कति सही ? अध्ययन भन्छ–६० देखि ८० प्रतिशत मात्र !

छत्र कार्की  |  दृष्टिकोण  |  भदौ २५, २०७७

नौ महिनाअघि चीनको हुबेई प्रान्तको ऊहान सहरबाट सुरु भएको कोभिड–१९  सङ्क्रमणले विश्वव्यापी रुप लिइसकेको छ । नोभेल कोरोना भाइरसका कारण दैनिक हजारौं सङ्क्रमित तथा सयौं मृतक संख्या थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।  सङ्क्रामक कोराना भाइरसले मानव समुदायलाई जति असर पुर्‍याएको छ, त्यसभन्दा बढी मनोवैज्ञानिक त्रास र भयले विश्व आक्रान्त छ ।

यही बिचमा कोभिड–१९ को परीक्षण कति सही छ भन्नेबारे विभिन्न बहस चलिरहेको छ । कुनै व्यक्तिलाई कोभिड–१९ लागेको छ कि छैन भनी थाहा पाउन गरिने परीक्षणको नतिजा शतप्रतिशत सही आउँछ त ? 'एन्टीबडी' परीक्षणको नतिजा एकदमै सही हुन्छ ? यिनै विषयमा विज्ञहरुले तथ्य र विश्लेषण प्रस्तुत गर्दै आएका छन ्। 

नोभेल कोरोना भाइरस लागेको छ कि छैन भन्ने निर्क्योल गर्न 'रियल टाइम' पिसिआर (पोलिमरेज चेन रियाक्सन) टेस्टलाई बढी विश्वसनीय मानिँदै आएको छ । विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार नै 'रियल टाइम' पिसिआर टेस्टका आधारमा कोरोना सङ्क्रमितको संख्या सार्वजनिक गरिँदै आएको छ । 

यदि सही विधि तथा तौरतरिका पालना गर्ने हो भने सङ्क्रमण पत्ता लगाउन गरिने चलनचल्तीको यो यो टेस्ट प्रभावकारी हुने वैज्ञानिकहरुको दाबी छ । तथापि, पहिले नै सङ्क्रमित  भएर निको  भइवरि 'एन्टीबडी' विकसित भइसकेको अवस्थामा भने टेस्टको नतिजा सही नै हुन्छ भन्न सकिन्नँ ।

विज्ञहरु भन्दै आएका छन्–टेस्टिङ जनस्वास्थ्यको ज्यादै सबल साधन हो, जसले कोरोना भाइरस  सङ्क्रमणविरुद्ध जुध्न मद्दत पुग्छ । यो परीक्षणबाट कुन–कुन बिरामीलाई उपचार आवश्यक छ भन्ने पहिचान हुन्छ । परीक्षणको नतिजा आएपछि 'कन्ट्याक्ट ट्रेसिङ'को माध्यमबाट बिरामीको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गरी सङ्क्रमणलाई थप फैलनबाट रोक्न सकिन्छ।

के हो पिसिआर टेस्ट ?

कुनै पनि जीवित कोषमा आनुवांशिक तत्व (जेनेटिक मटेरियल) डिएनए वा आरएनए हुन्छ । कोरोना भाइरसमा चाहिँ आरएनए रहेको हुन्छ । अन्य 'अर्गानिज्म'मा डिएनए पनि हुन्छ । उक्त आनुवांशिक तत्वलाई पिसिआर मेसिनले कपी गर्ने गर्छ । 

एउटा आनुवांशिक तत्वलाई कपी गरेर धेरैवटा बनाउने काम पिसिआर मेसिनले गर्छ । कुनै पनि व्यक्तिबाट संकलित स्वाबलाई उपयुक्त 'रिएजेन्ट'सँग प्रतिक्रिया गराइन्छ । त्यसपछि पिसिआरले कति भाइरसका जिन कपी भए भन्ने जानकारी सिग्नलमार्फत् दिने गर्छ । कम्प्युटर विश्लेषणका आधारमा त्यहाँ भाइरस छ कि छैन भन्ने थाहा हुन्छ । सिग्नल आएन भने भाइरस छैन भन्ने निर्क्योल हुन्छ । यसको आधारमा सार्स–कोभ–२ पोजेटिभ र नेगेटिभ छुट्याउन सकिन्छ ।

सन् २००३ मा फैलिएको सार्स कारोना भाइरस विरुद्धको 'एन्टीबडी' ले अहिलेको सार्स कोरोना भाइरस–२ को 'एन्टीबडी'लाई पनि 'न्युट्रालाइज' गरिरहेको छ । तिनीहरुको आनुवांशिक तत्व चाहिँ ८० प्रतिशित मात्र मिल्थ्यो । यसरी आनुवांशिक तत्व चाहिँ यति मात्र मिले पनि उही 'एन्टीबडी'ले दुवै भाइरसविरुद्ध काम गरेको भेटिएको थियो । भाइरसको प्रोटीनमा पूर्ण फरक आएन भने 'एन्टीबडी'ले काम गरेको भेटिएको छ । 

पिसिआर मेसिनको सहायताले भाइरस, ब्याक्टेरिया र मानव कोषको 'जेनेटिक मटेरियल' अध्ययन गर्न मिल्छ । तर, त्यसमा 'रिएजेन्ट' चाहिँ छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ ।

कोरोना भाइरस छ कि छैन भन्ने पत्ता लगाउन भाइरसको जिनलाई लक्षित गरेर 'रिएजेन्ट' प्रयोग गर्नुपर्छ । 'रिएजेन्ट'को आधारमा भाइरसको जिन छ कि छैन भन्ने निश्चित हुन्छ । 'रिएजेन्ट' एकदमै विशिष्ट खालको हुन्छ  । एउटाको 'रिएजेन्ट'ले अर्कोलाई काम गर्दैन । अर्थात् अर्को भाइरसको जिन छ भन्ने सिग्नल कम्प्युटरमा देखाउन सक्दैन । 

पिसिआर टेस्ट कति ‘एक्युरेट’ ?

पिसिआर टेस्ट कति ‘एक्युरेट’?  भन्ने कुरा 'स्याम्पल' कसरी संकलन गरिएको छ भन्नेमा कुरामा भर पर्छ । कुनै व्यक्तिको नाकको भित्री भाग वा मुखबाट 'स्याम्पल' संकलन गर्दा भाइरस नआउने गरी संकलन गरिएको छ भने पिसिआरले नेगेटिभ रिजल्ट देखाउने हुन्छ । 'स्याम्पल' राम्ररी 'प्रिजर्भ' नगर्दा पनि सही नतिजा आउँदैन । सही 'रिएजेन्ट' प्रयोग नहुँदा पनि उचित नतिजा आउँदैन । पिसिआर 'ह्यान्डल' गर्ने मानिसले सावधानी अपनाएन भने पनि सही रिजल्ट आउँदैन ।

आनल्स अफ इन्टरनल मेडिसिनका अनुसार आरटि पिसिआर टेस्ट ६० देखि ८० प्रतिशत मात्र सही हुन्छ । यसको प्रोसेस वा प्रविधिमा धेरै त्रुटि आउनसक्ने देखिएको छ । कुनै व्यक्तिलाई भर्खर  सङ्क्रमण सुरु भएको छ भने त्यस्तो अवस्थामा भाइरस नदेखिन सक्छ । भाइरस यकिन हुन पाँच दिनभन्दा बढी समय लाग्छ । दुई वा तीन दिनमा लिइएको स्वाब परीक्षण गर्दा व्यक्ति  सङ्क्रमित भए पनि उसको रिजल्ट चाहिँ नेगेटिभ देखिन सक्छ । यो अवस्थालाई ‘फल्स नेगेटिभ’ भनिन्छ ।

यदि 'प्राइमर' वा 'रिएजेन्ट' सही प्रयोग गरिएन भने सङ्क्रमण नभए पनि कुनै व्यक्तिमा पोेजेटिभ नतिजा आउन सक्छ। भाइरसले अरु जिनहरुसँग ‘क्रस रियाक्सन’ देखायो भने सङ्क्रमण नदेखिँदा पनि ‘फल्स पोजेटिभ’ रिजल्ट आउन सक्छ। यसरी ‘फल्स नेगेटिभ’ हुने चान्स धेरै हुन्छ भने ‘फल्स पोजेटिभ’ चाहिँ थोरै हुन्छ। सङ्क्रमणपछि निको भएको व्यक्तिको शरीरमा पनि २० दिनसम्म भाइरस देखिन सक्छ। यस्तो अवस्थामा बाहिरी लक्षण देखिँदैन। तर,  भित्री रुपमा भाइरसको आरएनए चाहिँ सक्रिय हुनसक्छ। यसले रोग चाहिँ गराउन सक्दैन। तर, व्यक्तिमा पोजेटिभ चाहिँ देखिन सक्छ। नेपालमा तीनवटा जिन भएको 'प्राइमर' वा 'रिएजेन्ट' प्रयोग गरिँदै आएको छ। कुनै किटमा दुई वा कुनैमा तीनवटा भाइरसको जिनलाई 'टार्गेट' गरेर 'रिएजेन्ट' प्रयोग गरिएको छ। 

कोरोना सङ्क्रमण खुट्याउन दुई खालका टेस्ट 

नोभेल कोरोना भाइरसका लागि आधारभूत रुपमा दुई प्रकारका टेस्टहरु छन् । पहिलो अर्थात् ‘डाइग्नोस्टिक टेस्ट’ सङ्क्रमण भएको छ कि छैन भनी पत्ता लगाउन, र, दोस्रो टेस्ट चाहिँ ‘एन्टीबडी’ (रोगसँग लड्ने क्षमता) जाँच्नका लागि हो ।   

‘डाइग्नोस्टिक टेस्ट’ले लक्षण देखिने गरी सङ्क्रमण भएको छ कि छैन भनी पहिचान गर्छ । यो यस्तो प्रकारको टेस्ट हो, जसबाट कोरोना भाइरसको सङ्क्रमण भएको वा कोभिड–१९ को लक्षण देखिएको हो कि होइन भनी पत्ता लगाउन सकिन्छ । 

अहिले विश्वमा दुई खालका ‘डाइग्नोस्टिक टेस्ट’ उपलब्ध रहेका छन् । 'रियल टाइम' पोलिमरेज चेन रियाक्सन (आरटी–पिसीआर) टेस्टले भाइरसको आणुवांशिक तत्व (जेनेटिक मटेरियल) पत्ता लगाउँछ । यसैगरी, 'एन्टीजिन' परीक्षणले भाइरसमा रहने विशिष्ट प्रोटिनको अवस्था पत्ता लगाउँछ ।

विश्वभर आरटी–पिसीआर टेस्ट व्यापक रुपमा प्रयोेग गरिएको छ । र, यसको बारेमा धेरैजना परिचित पनि रहेका छन् । यस विधिअन्तर्गत ६ इन्च लामो स्वाब नाकभित्र राखेर टेस्ट गर्नका लागि भाइरसको स्याम्पल संकलन गरिन्छ । यसो गर्दा अलिकति असहज हुनसक्छ । तथापि, पछिल्लो समय स्वीकृत भएका आरटी–पिसिआर टेस्टमा सकेसम्म यस्ता अप्ठ्यारा हटाउन खोजिएको छ । यसरी टेस्टका लागि नाकको भित्री भागबाट स्याम्पल वा मुखभित्रबाट खकारको स्वाब पनि झिक्न मिल्ने भएको छ ।

वास्तविक यथार्थ थाहा पाउन सङ्क्रमण शंका लागेको ८ दिनपछि नै आरटी पिसिआर टेस्ट गरिनुपर्छ । यस्तो अवस्थामा संकलन गरिएको स्वाबमा ‘भाइरल मटेरियल’ छ कि छैन भनी सुनिश्चित गर्न सकिन्छ । कतिपय चिकित्सकको अनुभवमा स्वाब दिने मानिसलाई यो कुराको जानकारी हुँदैन ।

यो परीक्षणको कामलाई राम्ररी अगाडि बढाउनुपर्छ, यसको मतलब स्वाबलाई नाकको भित्री भागको क्याभिटीसम्म पुर्‍याउनुपर्छ । यसरी स्वाब संकलन गर्दा अलिकति असहज हुनसक्छ । केही असहज नभइकन स्वाब झिकियो भने तपाईंले बुझ्नुपर्ने हुन्छ कि स्याम्पललाई सही तरिकाले 'ह्यान्डिलिङ' गरिएको छैन । 

सङ्क्रमण मुक्त भएको केही समयपछि पनि कोरोना भाइरसको ‘जेनेटिक मटेरियल’ शरीरमा रहन सक्छ, त्यही भएर निको भइसकेपछिको टेस्टमा पनि यदाकदा ‘फल्स पोजेटिभ’ नतिजा आउन सक्छ । एन्टिजिन परीक्षणका लागि ‘स्याम्पल’ संकलन गर्नका लागि पनि स्वाब प्रयोग गरिन्छ । यस्ता टेस्टबाट चाहिँ छिट्टै नतिजा आउने देखिन्छ । तथापि, यसलाई सामान्यतः आरटी–पिसिआरभन्दा कम सही मानिन्छ किनभने पोजेटिभ रिजल्ट दिन ठूलो परिमाणमा भाइरस प्रोटीन भएको टेस्ट ‘स्याम्पल’ जरुरी हुन्छ । 

अमेरिकाको जोन्स हप्किन्स मेडिसिनको टिमले आरटी पिसिआर टेस्ट गर्दा २० प्रतिशतसम्म नतिजा ‘फल्स नेगेटिभ’ आएको पत्ता लगाएको छ । नयाँ अनुसन्धानले टेस्टिङको समयअनुसार यो तथ्यांक फरक–फरक आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

नोभेल कोरोना भाइरसको अधिकांश परीक्षणका क्रममा स्वाब लिँदा नाकको पछाडिको भित्री भागबाट लिएर त्यसको जिन विश्लेषण गरिँदै आएको छ । प्रयोगशालाका विधिबाट गरिने यो विश्लेषणलाई ‘रिभर्स ट्रान्सक्रिप्टेज–पोलिमरेज चेन रियाक्सन’–आरटी पिसिआर भनिन्छ, जसले भाइरसको जेनेटिक मटेरियलको आरएनएलाई डिएनएमा परिवर्तन गर्छ। यसले सार्स–कोभ २ भाइरससँग सम्बन्धित 'जेनेटिक मटेरियल' पत्ता लगाउँछ । यसबाट कोभिड–१९ हो कि होइन भन्ने निर्क्योल गर्न सार्स–कोभ–२ भाइरसको 'जेनेटिक मटेरियल' पहिचान गर्न सकिन्छ ।

त्यसो त 'एन्टिबडी' परीक्षण सक्रिय  सङ्क्रमण खुट्याउन भन्दा पनि विगतमा  कोभिड–१९  सङ्क्रमणपछि निको भएका व्यक्ति पत्ता लगाउन गरिन्छ । त्यसो त यस्ता 'एन्टिबडी'  परीक्षणको ‘एक्युरेसी’को बारेमा विभिन्न बहस चल्दै आएका छन् । यसको विश्वसनीयतामा प्रश्न उठेपछि कतिपय स्थानमा यो टेस्ट रद्द समेत गरिएको थियो। त्यही भएर नयाँ विश्लेषण अनुसार आरटी–पिसिआर टेस्टको ‘एक्युरेसी’मा प्रश्नचिह्न उठेको छ ।

अमेरिकाको बाल्टिमोर, मेरिल्यान्डस्थित जोन्स हप्किन्स मेडिसिनका वैज्ञानिकका अनुसार पाँचवटा आरटी–पिसिआर टेस्टमध्ये एउटामा ‘फल्स नेगेटीभ’ देखिएको छ । 'आनल्स अफ इन्टरनल मेडिसिन' जर्नलका अनुसार सार्स–कोभ–२ सङ्क्रमित   बिरामीमा पनि भाइरसको संक्रमण छैन भन्ने नतिजा आएको छ ।

भाइरस कति चलायमान ?

सार्स–कोभ–२ को भाइरस ठाउँ अनुसार पूरै फरक चाहिँ देखिएको छैन । जस्तो कि भारतमा देखिएको भाइरस र चीनको भाइरसमा ९९ प्रतिशत समानता देखिएको पाइएको छ । अलिकति थोरै मात्र भाइरसको ‘म्युटेसन’ हुने गरेको पाइएको छ । देखिने गरी परिवर्तन हुने गरी चाहिँ यस भाइरसको 'म्युटेसन' भएको छैन । अध्ययनअनुसार अहिलेसम्म भाइरस एकदमै थोरै मात्र उत्परिवर्तन हुन्छ । धेरैजसो गुण वा लक्षण चाहिँ मिल्ने खालका हुन्छन् ।

सन् २००३ मा फैलिएको सार्स कारोना भाइरस विरुद्धको 'एन्टीबडी' ले अहिलेको सार्स कोरोना भाइरस–२ को 'एन्टीबडी'लाई पनि 'न्युट्रालाइज' गरिरहेको छ । तिनीहरुको आनुवांशिक तत्व चाहिँ ८० प्रतिशित मात्र मिल्थ्यो । यसरी आनुवांशिक तत्व चाहिँ यति मात्र मिले पनि उही 'एन्टीबडी'ले दुवै भाइरसविरुद्ध काम गरेको भेटिएको थियो । भाइरसको प्रोटीनमा पूर्ण फरक आएन भने 'एन्टीबडी'ले काम गरेको भेटिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले 'जिनम सिक्वेन्सिङ'को अनुसन्धान गरिरहेको छ। यसको नतिजा पनि केही दिनभित्रमै आउने परिषद्को भनाइ छ । यसको नतिजा आएपछि भाइरस के–कति परिवर्तित भए भन्ने थाहा पाउन सजिलो हुनेछ ।