कोभिड–१९ विरुद्धको खोप यसैवर्ष आउछ : एस्ट्राजेनेका

कोभिड–१९ विरुद्धको खोप यसैवर्ष आउछ : एस्ट्राजेनेका

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २५, २०७७

बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ विरुद्धको खोप यसैवर्ष आउने बताएको छ । 

सो कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो । 

एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि खोपको परीक्षण तत्काल रोकी परीक्षणमा सम्लग्न विरामीलाई खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा उनलाई अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो भन्ने विषयमा परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ ।’

‘परीक्षणमा सम्लग्न एक स्वयमसेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्राजेनेकाले भनेको थियो । 

सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ । तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण राख्न गरिएको नियमित कार्य बताएको छ । 

‘परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,’ सारियटले भने । 

अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो । 

कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ ।