ट्रम्प र बाइडन रुस, चीन र इरानका ह्याकरको निसानामा

ट्रम्प र बाइडन रुस, चीन र इरानका ह्याकरको निसानामा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २६, २०७७

माइक्रोसफ्टले अमरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावी अभियान ह्याकरहरुको निशानामा परेको जनाएको छ । 

रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको माइक्रोसफ्टले बताएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको सो कम्पनीको भनाई छ । 

होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन्।

चुनावलाई लक्षित गर्दै विदेशी समूहरूले आफ्ना प्रयासहरू बढाएको स्पष्ट भएको माइक्रोसफ्टले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्र्याट जो बाइडन दुवैका चुनावी अभियानहरू साइबर हमलाकारीको दृष्टिमा परेको बताइएको छ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका दुईसय भन्दा बढी सङ्गठनहरूलाई लक्षित गरेको छ।

साइबर हमला गर्ने त्यही समूहले नै ब्रिटेनको राजनीतिक पार्टीहरूलाई निसानामा पारेको माइक्रोसफ्टले बताएको छ। तर ती कुन पार्टी भनेर खुलाइएको छैन ।

स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ । जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको बताइन्छ।