पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्र

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्र

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २६, २०७७

कैलाली । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी सामुदायिक वनमा बिहीबार घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरिएको छ । नगरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संयुक्तरूपमा उदघाटन गर्नुभयो ।

उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा उक्त आरक्षण केन्द्रको स्थापना गरिएको बताइएको छ । नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्र्याउनका लागि त्यस नजिकै ‘मिनी जु’ स्थापना गरिएको बताउनुभयो । 'घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा अहिले एउटा रतुवा र एउटा चित्तललाई राखिएको छ', उहाँले भन्नुभयो, 'यहाँ जनावरको सङ्ख्या थप गर्दै लगिने छ ।' आरक्षण केन्द्रमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने तथा वन्यजन्तु हेर्न आउनेका लागि यो ठाउँ खुला गरिने बताइएको छ ।