लगानी सम्मेलन : ३० खर्बको खोजी

लगानी सम्मेलन : ३० खर्बको खोजी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

काठमाडौँ । कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन शुक्रबार लगानी सम्मेलन सुरु हुँदै छ । लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ ।

अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा लगानी जुटाउन ७७ आयोजना ‘सोकेस’ गरिने जानकारी दिए । सम्मेलनको तयारी स्वरूप धेरै कानुन सुधार र संशोधन गरिसकेकाले लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले लाभांश लैजान सहज पारिएको र कर प्रणाली वैज्ञानिक बनाइएको दाबी गरे । 

सरकारले सम्मेलनलाई लक्ष्य गर्दै सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा बनेको विधेयक र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक व्यवस्थापिका संसद्बाट पारित गरेको छ । यी कानुनमा विदेशी लगानीकर्तालाई प्रक्रियागत सहजता, लाभांश लैजान सहजीकरण गर्नेजस्ता केही आकर्षक प्रावधान छन् । सरकारले सुधारेका कानुनबारे लगानीकर्तालाई जानकारी गराइने अर्थमन्त्री खतिवडाले बताए । वैदेशिक लगानी सहजीकरण गर्न सरकारले अन्य कानुन पनि सुधार गर्ने तयारीमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।