धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ का विभिन्न स्थानबाट सो पार्टीका नेताकार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीले बुधबार बिहान नेकपा विप्लव समूहका मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई सुन्दर हरैंचाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार श्रेष्ठलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ। शान्ति प्रक्रियापछि उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए। पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा पुगेका हुन्। यसअघि आइतबार प्रहरीले मोरङको कानेपोखरीबाट विप्लव समूहका कोसी इन्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र ब्युरो सदस्य माधव गौतमलाई पक्राउ गरेको थियो। ती दुवैलाई इलाका प्रहरी कार्यालय धरानम राखिएको छ। कोसी इन्चार्ज श्रेष्ठ र ब्युरो सदस्य गौतमलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले फागुन ३० मा आह्वान गरेको नेपाल बन्दका क्रममा उदयपुरबाट पक्राउ परेका जिल्ला सदस्य तिलक तामाङलाई पनि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। फागुन १५ गते धरान ६, पानवारीबाट विप्लव समूहका कोसी ब्युरो सदस्य देवकुमार लिम्बु अत्याधुनिक हतियार एम १६ र एलएमजीसहित पक्राउ परेका थिए। सरकारले प्रतिबन्ध लगाएर धरपकड गर्न थालेपछि विप्लव समूहका नेताकार्यकर्ता भूमिगत भएका छन्। विप्लव समूहका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए। नेकपा पूर्वी कमान्डले सोमबार विज्ञप्ति प्रकाशित गरी बिनाकारण पक्राउ गरिएका कार्यकर्तालाई निसर्त रिहा गर्न माग गरेको थियो। तत्काल रिहा नगरे जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुने चेतवानी विज्ञप्तिमार्फत दिइएको छ। आजको नागरिक दैनिकमा खबर छ ।