घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारी

घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारी

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २६, २०७७

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ ।

गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्याैलीटारको करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । 'दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौ', उहाँले भन्नुभयो । गाउँपालिकाको  ६१ लाख रुपैयाँको बजेटबाट सो काम भइरहेको छ ।

गाउँपालिका–४ नयाँटार, गड्याैलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० भन्दा बढी घरमा बत्ती बालिसकिएको उहाँले जानकारी दिनुभयो ।  विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ का कारण १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 'तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछौ,' उहाँले भन्नुभयो । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छ ।  

बत्ती बल्न बाँकी घरमा असोज कात्तिकभित्रै बत्ती बल्ने बताइएको छ । 'आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, खम्बा गाड्ने, तार तान्नेलगायतका काम चलिरहेको छ', उहाँले भन्नुभयो । 

उक्त गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । उक्त ठाउँका ५९ घरमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पुट्टार र बैदीका केही भागमासमेत विद्युतीकरण सम्पन्न भएको छ । 

पुट्टारका तारा खनालले धेरै वर्षको प्रतिक्षापछि बल्ल बिजुली बलेको बताउनुभयो । पुट्टारमा दुई चरणमा गरेर घर घरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडि र अर्को ठाउँमा १५–२० दिन अगाडि बत्ती बलेको छ । 'बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौं, अब त बिजुली नै बाल्न थालिसकेको छाैं,' खनालले भन्नुभयो ।