न्यूयोर्कमा बासी म्याग्देलीले म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग

न्यूयोर्कमा बासी म्याग्देलीले म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २६, २०७७

म्याग्दी । म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब  साढे ३४ लाख रुपैयाँ सहयोग गरेका छन् । 

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई  ३४ लाख ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । 

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई २ लाख ८० हजार रुपैयाँ तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई ११ लाख सहयोग गरेको छ । त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई  ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई १३ लाख २५ हजार रुपैयाँ, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार रुपैयाँ,  रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई ३० हजार तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई दुई लाख ३५ हजार रुपैयाँ सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई २५ हजार रुपैयाँ, प्रतिमृतक परिवारलाई १० हजार रुपैयाँ, प्रतिघाइते व्यक्तिलाई १० हजार र प्रति सुत्केरी महिलालाई १० हजार रुपैयाँको दरले सहयोग गरिएको उहाँको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई १५ हजार रुपैयाँ, तीन जनालाई २० हजार र चार जनालाई २५ हजार रुपैयाँ नगद सहयोग गरिएको बताइएको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।