पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गर्ने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गर्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २६, २०७७

पोखरा  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गर्नुभएको छ । रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा. आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन् ।
 
त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा। आचार्यले जानकारी दिनुभयो । 'हामीले दुई सङ्क्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ', आचार्यले भन्नुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।