लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७५

काठमाडौं । गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ। आजको नागरिक दैनिकमा खबर छ ।