राप्ती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने बढे

राप्ती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने बढे

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २६, २०७७

नारायणपुर । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् । 

बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा किरण पोखरेलले जानकारी दिनुभयो । 'बन्दाबन्दीमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकोले सङ्ख्या बढेको हो', उहाँले भन्नुभयो । अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेको बताइएको छ । 'अस्पतालमा सेवा लिने अन्य बिरामी कम भएपनि प्रसूतिलाई आउने बढ्दै छन्', डा पोखरेलले भन्नुभयो । सो सेला लिनेमध्ये शल्यक्रिया गराउने धेरै छन् । 

अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाबाट सेवा लिन आउँछन् । प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।  अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन् । 'कोरोनाको जोखिम बढिरहेको समयमा जनशक्ति कम हुँदा समस्या आउन सक्छ तर अहिलेसम्म अस्पतालमा रहेको जनशक्तिले धानेकै छ', उहाँले भन्नुभयो । जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन नसके पनि सेवा दिइरहेको उहाँले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सर्वेश शर्माले अस्पतालमा सुरक्षा सामग्रीको अभाव हुन नदिने बताउनुभयो ।