लिङ्ग छेदन गरिएका सिपाहीको पहरामा 'कान्छा महारानी'!
परिस्थिति र समय फेरीएको सूचक जङ्गबहादुर

आजको पुस्ता इतिहासबाट टाढा भाग्दै गरेको छ । कतिपयलाई यो रुचिको विषय त होला, तर आम रुपमा इतिहासबाट दूर जाँदै गरेको यो पुस्ताका लागी इतिहास सम्झाउने पठन योग्य सामाग्रीको सहज उपलब्धताको अभाव महसुस हुँदै आएको छ । 

ठिक यतीनै बेला शीवा शाहको आँग्रजी कृति 'द अदर क्विन'लाई सगुना शाहले कान्छा महारानीको आवरणमा नेपालीमा अनुवाद गरेको आख्यानीकरण भने चाख लाग्दो पुस्तक छ ।

जङ्गबहादुरले बसाएको भनिने नेपालगन्ज शहरको एक नेपालगन्जीयाले यो पुस्तक पढेपछि सत्ता सङ्घर्ष र सत्तामा आँफुले खोजिने स्थान, मौका र त्यसकालागि खेलिने भूमिका बारे सोच्न बल प्रदान गरेको पुस्तकका रुपमा 'कान्छा महारानी'लाई लिन सकिन्छ । बुझाई आ–आफ्नै खालको पनि हुन सक्छ । 

पुस्तकमा भित्र प्रवेश गर्दै गर्दा भाइ देवीबहादुरको मृत्यु वरणले  वीर नरसिंह कुँवर अर्थात् जङ्गेलाई साँच्चिकै छिट्टै जङ्गबहादुर बनाएको बुझ्न सकिन्छ । जङ्गबहादुरका बहादुरी, कुटिलता, अदम्य साहस, धूर्तता, कूटनीतिक सुझबुझ र चातुर्यताका प्रसङ्ग निकै चाख लाग्दो रहेको छ । 

भीमसेन थापालाई झ्यालखानामा राखेर उनकी श्रीमतीलाई नाङ्गै शहर हिँडाएको घट्नाले उति बेलाका शासकको मनोविज्ञानलाई छरपस्ट पार्दछ । त्यो छरपस्टतालाई पनि अनुवादक सगुना शाहले कलात्मक रुपमा पुस्तकमा उतार्नु भएको छ ।  

आफ्नो यौन चाहना पुरा गर्न रातीको समयमा दरबारबाट निस्किएर गगनसिंहको घर पुगेकी 'कान्छा महारानी'को चरित्रमा प्रश्न उठ्दै जब दरबारमा त्यो कुराको हल्ला फैलिन्छ आफ्नै सुसारे बाटुलीको बलि दिन्छिन र आँफु चोखी हुन्छिन् 'कान्छा महारानी' ! यसले महिलाहरू आँफु जोगिन र राजदरबारको साख जोगाउन कुन हदसम्म महिला माथि नै अन्याय गर्न सक्थे भन्ने समेत  देखाइएको छ ।

पितृ सतात्मक त्यो परिवेशमा  महिला सत्ताको राप र तापलाई पुस्तक कान्छा महारानीमा आख्यानका रुपमा चित्रण गरिएको छ । र सत्तामा महारानीहरूको उपस्थितिलाई महाराज राजेन्द्र विक्रम शाह भन्दा माथि देखाइएको छ ।

बडामहारानी साम्राज्यलक्ष्मीको साम्राज्यमा महिलाको खुट्टामा लगाउने पाउजुमा पनि साम्राज्य झल्काउने लेखनी छ, अनुवादकको कलममा । अङ्ग्रेजहरूको अनुमति नहुँदाका वाफजुत पनि जिद्दी स्वभावकी बडामहारानी साम्राज्यलक्ष्मीको काशी जाने इच्छा त्यसको एक ज्वलन्त उदाहरण पनि हो । उनको औलो लागेर बाधयतावस काठमाडौँ फिर्ता भएसँगै मृत्युवरण भएको प्रसङ्ग छ ।

पात्रहरूलाई घटनाक्रमसँग मिसाएर उनीहरूको उपस्थितिलाई आख्यानीकरण गर्दा लेखक शीवा शाहले जति खुलाउन खोज्नु भएको छ त्यसमाथि अनुवादक सगुना शाहको लेखनी थप ओजनदार बनेको पुस्तक पढ्दा सहज महसुस गर्न सकिन्छ ।

पुस्तकमा राजनीतिलाई फोहोरी र थकाउने खेलका रुपमा पनि चित्रण गरिएको छ । त्यसरी सत्ताको राजनीतिमा उत्रिएका थुप्रै पात्रहरूलाई अख्यानिकरण गर्दा उचित भूमिका दिनु असामान्य कुरा हो ।

‘द अदर क्विन’मा शीवा शाहले बुनेका शब्द अङ्ग्रेजी भाषमा रमाउनेहरूका लागि  उत्तिकै खुराक थियो । यस पटक सगुना शाहले नेपालीमा अनुवाद गरेर त्यो अङ्ग्रेजी ‘फ्लेवर’लाई पूर्णतया शाही भाषाको ख्याल गर्दै उल्था गर्नु चुनौतीपूर्ण नै हो । कतिपय प्रसङ्गमा जङ्गेले पढ्न नजान्ने कुराका विषयमा 'कान्छा महारानी'ले चित्रण गरिएको विषय र कतिपय ठाउँमा जङ्गे स्वयंले पत्र पढेको भन्ने कुरामा भने विरोधाभास समेत रहेको पाइन्छ ।

पुस्तक 'कान्छा महारानी' वास्तवमा प्रेम, माया र सत्तादेखि टाढा रहनु परेकी 'कान्छा महारानी' (राज्य लक्ष्मी) एउटा पाटो र सत्ता नजिक, प्रेममा आशक्त, यौन क्रीडामा रमाइरहेकी राजेन्द्र लक्ष्मीको दुई वटा चरित्रलाई मूल रुपमा बुझ्न सकिन्छ ।

जब समय फेरिन्छ, परिस्थिीतिहरु पनि फेरिन्छ भन्ने विषयलाई उजागर गर्न अनुवादक शाहले मेहनतका साथ शब्द खर्च गर्नु भएको छ । वास्तवमा परिस्थिति र समय फेरिएको सूचकका रुपमा पनि 'कान्छा महारानी' लाई प्रस्तुत गरिएको अनुभव हुन्छ, पुस्तक पढ्दा । त्यही फेरबदलकै बिचमा जङ्गबहादुरको उदय हुन्छ ।

एउटा प्रसङ्गमा आफ्नो यौन चाहना पुरा गर्न रातीको समयमा दरबारबाट निस्किएर गगनसिंहको घर पुगेकी 'कान्छा महारानी'को चरित्रमा प्रश्न उठ्दै जब दरबारमा त्यो कुराको हल्ला फैलिन्छ आफ्नै सुसारे बाटुलीको बलि दिन्छिन र आँफु चोखी हुन्छिन् 'कान्छा महारानी' ! यसले महिलाहरू आँफु जोगिन र राजदरबारको साख जोगाउन कुन हदसम्म महिला माथि नै अन्याय गर्न सक्थे भन्ने समेत  देखाइएको छ । प्रेम त बहाना थियो 'कान्छा महारानी'को ! वास्तवमा राजकाज र बडा महारानी साम्राज्य लक्ष्मीसँग बढी समय बिताउने महाराज राजेन्द्र वीरविक्रम शाहले उनको (कान्छी महारानीको) यौन प्यास मेटाउन सकेका हुँदैनन् । राजाकी यी दुई रानी दुई बहिनी हुन साम्राज्यलक्ष्मी  र राज्य लक्ष्मी (राजेन्द्र लक्ष्मी) ।

'कान्छा महारानी'मा प्रस्तुत एक पात्र बाटुली वास्तवमा आफन्तैबाट बेचिएकी एउटी चेली हुन्छिन् । उ सुसारेका रुपमा दरबारमा काम गर्न पुग्छिन् । तर कान्छा महारानीले लगाएको आरोपबाट मुक्त भएकी बाटुली स्वतन्त्रपुर्वक जिउन पावस भन्ने कान्छा महारानीको चाहना पनि उत्तिकै प्रशंसनीय प्रसङ्ग छ ।

एक प्रसङ्गमा बाटुली भन्छे हाम्रो शरीर सधैँ किनिन्छ, बेचिन्छ तर आत्मा सधैँ मुक्त हुन्छ भन्ने उसका कुराले आत्माको मुक्ति खोज्नेहरूलाई ठुलै झटारो हानेको देखिन्छ  । यो प्रसङ्गले हामीलाई उति बेलाको सामाजिक मनोदशा बुझ्न पनि केही हदसम्म सहयोग नै पुग्छ । 

जङ्गे अर्थात् जङ्गबहादुरको साहस ऊ आँफुलाई राजा नै ठान्छ । पुस्तक पढ्दै जाँदा कुनै प्रसङ्गमा 'कान्छा महारानी'कै सामुन्ने जङ्गेले भनेको हुन्छ, ‘आफ्नो भावना र विचारको त म राजा हुँ, कान्छा महारानी !’  उसले यो आफ्नो कुरा जुन उत्साह र आत्म विश्वासका साथ 'कान्छा महारानी' सामु व्यक्त गर्छ त्यो कुरा सायदै कान्छा महारानीले बुझिन होला कालान्तरमा ।

'कान्छा महारानी'ले ढुंगेधारामा नुहाउँदा लिङ्ग छेदन गरिएका सिपाहीहरूले धारामा पहरा दिएको प्रसङ्गले साँच्चिकै उति बेलाका शासकहरू कति क्रूर थिए आफ्नो स्वार्थका लागी भनेर चित्रण गर्दछ । आफ्नो यौन चाहना जसरी पनि पुरा गर्ने शासकहरू पुरुषका लिङ्ग छेदन गरेर सुरक्षा खोज्दथे !

पुस्तक पढ्दै जाँदा यौन आनन्द लिँदा प्रोटोकल खोपीमा सीमित राख्ने कान्छा महारानीले गगनसिंहले खाना खाइरहेको ठाउँमा गएर हेर्न नपाउनु भनेर गरिएको विलापले राजदरबारको कथित प्रोटोकललाई धज्जी उडाएको महसुस हुन्छ । 

सत्ता बदल्ने कुरा हुक्काको कोइला बदले जस्तो हुँदैन भनेर गरिएको चेतावनी पूर्ण वार्तालापले शासकहरूको चेतनाको स्तरलाई प्रतिविम्ब गर्छ पुस्तक 'कान्छा महारानी'मा ।

पुस्तकमा पटक पटक दोहोरिएको कुरा दरबारमा भित्ताका पनि कान हुन्छन् भन्ने विषय छ । यसले राजदरबारमा बस्नेहरू पनि सुरक्षित छौँ भन्ने महसुस नभएको  देखाउँछ । वास्तवमा शासन सत्ताका दरबारहरूमा जनताका लागी भने कहिल्यै कान नभएको महसुस गर्छु म, पुस्तक 'कान्छा महारानी' पढ्दै गर्दा ।

महाकाली नदीले धार वदलेको विषयमा उति बेलाका शासकहरू पनि गम्भीर हुने गर्थे भन्ने कुरा पुस्तकमा उठाइएको छ । अङ्ग्रेजहरूले यहाँको शासन सत्तामा चासो लिने र भूमिका समेत खेल्ने कुरा पुस्तकमा बेला बेला उठाइएको छ  । चाहे त्यो मुख्तियारी फेरबदलमा होस वा युवराजाधिराजको गतिविधिमा होस वा बडा महारानीको काममा नै किन नहोस् । अङ्ग्रेजको चासो झल्किन्छ । जगें अर्थात् जङ्गबहादुरले त्यही पृष्ठभूमिबाट अङ्ग्रेजहरूसँग सम्बन्ध विस्तार गरेको सहज अनुमान लगाउन पुस्तकले सहयता गर्छ ।
थापा खलक र पाण्डे खलको भूमिकाका बारेमा पनि 'कान्छा महारानी' पुस्तकमा बुझ्नेगरी भूमिका र योगदान अनि वफादारीता र गद्दारीका विषयमा घटनाक्रमलाई जोडेर चर्चा गरिएको छ ।

युवराजाधिराज सुरेन्द्र विक्रम शाहका विषयमा उल्लेख गरिएका प्रसङ्ग र जङ्गबहादुरको सम्बन्धका बारेमा पनि पुस्तकमा चर्चा छ । हरपल अफिमको नशामा झुमिने युवराज सुरेन्द्र बहादुरका शौक र जङ्गबहादुरको साहस सुन्दा दन्त्य कथा जस्तो पनि लाग्छ । कतै उल्लेख गरिएको प्रसङ्ग छ : ‘महाराजाधिराजको सबैभन्दा ठुला शत्रु युवराजाधिराज नै हुन्छन् भनेर !’ राजतन्त्र अन्त्य भएको नेपालमा पछिल्लो दरबार हत्या काण्डमा पनि यो नियम लागु भएको हो कि ! यो नियम भनेर पाठकलाई घोत्लिन बाध्य पार्छ यो प्रसङ्गले ।

जङ्गबहादुरले आफ्नै मामा माथवर सिंह थापालाई पहिले निर्वासनबाट फर्काउन कान्छा महारानी मार्फत चाल चल्छन् । पछि उनै मामा आफ्नो सत्ता यात्रामा असहयोगी हुँदै गएको हुँदा हत्या गराएको कुरा पनि पुस्तकमा उतारिएको छ ।

पुस्तकको उत्तरार्धमा कान्छा महारानीका नजिक रहेका गगनसिंहको हत्याको प्रसङ्ग छ । उता फत्तेजगं शाह सहितका दर्जनौँको पनि हत्या हुन्छ । त्यही घट्नालाई नेपालको इतिहासमा कोत पर्व भनिन्छ क्यारे !

पुस्तकको अन्त्यतिर रक्तपात शीर्षकमा कान्छा महारानीले रक्तपातले आँफुलाई हुनसक्ने फाइदा वा घाटाको अनुमान लगाउन नसकेको मनस्थितिमा चित्रण गरिएको छ । 'कान्छा महारानी'लाई समय रोकिएको महसुस हुन्छ । कोतबाट बगेको रगत र जङ्गबहादुरका सात भाइको उपस्थितिलाई 'कान्छा महारानी'ले आफना दृश्यमा कैद गरिरहेकी हुन्छिन् । रक्तपातसँगै कान्छा महारानीको भूमिकालाई रोक्दै पुस्तक 'कान्छा महारानी'को अन्त्य हुन्छ ।

पुस्तक पढ्दै जाँदा कान्छा महारानीको बाँकी अंश पनि उल्लेख भएको भए अहिलेको पुस्तालाई इतिहास बुझ्दा आधा कचल्टो हुने थिएन की !? भन्ने भान पर्छ । खैर,यो एउटा कलात्मक प्रस्तुत न हो ।

कोतपर्वका नामले चर्चित उक्त नरसंहार पछि सत्तामा पुगेका जङ्गबहादुरले युवराजाधिराज सुरेन्द्रलाई गद्दीमा बसाएको घटना यसकै उपज थियो क्यारे ! पुस्तकमा यी विषयलाई भने उठाइएको  छैन । 

एक दिन मात्तिएको हात्तीलाई काबुमा राखेर महाराजाधिराज राजेन्द्रविक्रमको मन जितेका जङ्गे कप्तान हुँदै शासक बनेको कुरालाई बेलिबिस्तारका साथ शीवा साहद्वारा लेखिएको अङ्ग्रेजी पुस्तक ‘द अदर क्विन’लाई कान्छा महारानी शीर्षकमा सगुना शाहले अनुवाद गर्नु भएको छ ।

यो पुस्तकले इतिहासबाट टाढिँदै गइरहेको अहिलेको पुस्तालाई इतिहासबारे खोज्न र थप बुझ्न प्रेरित गर्छ । लेखकले लेखेका कुराको भाव र रसलाई अनुवादकले गम्भीरताका साथ अनुवाद गर्नु चानचुने काम भने पक्कै होइन ।