डा.विश्वबन्धु शर्मा : पद, सम्मान र प्रशंसासँग अपरिचित मनोचिकित्सकको गुमनाम जिन्दगी !
भदौ २७, २०७७

त्यसबेलाको स्याङ्जाबाट काठमाडौँ पढ्न भनेर झरेकाे एउटा केटाे कालान्तरमा  देशकै एउटा नामी मनोचिकित्सककाे रूपमा स्थापित हुन सफल हुनुभयो उहाँ । ‘पागलको डाक्टर’ भनेर समाजले हेय भावले हेर्ने बेलामा समेत उहाँ विचलित हुनु भएन । रसियाबाट डिग्री हासिल गरेर मनाेचिकित्साकाे क्षेत्रमा मुलुककै चर्चित अनि  सफल नाम हाे डा. विश्वबन्धु शर्मा । 

जीवनका भोगाइ अनि उतार, चढावलाई सुस्तरी नियाल्दै आफ्नो बाटोमा अविचलित र चलायमान चिकित्सकको जीवन भोगाइ हो यो आलेख । 

जन्म र बाल्यकाल 
उहाँको जन्म २०१० साल जेठ १४ गते । स्याङ्जाको नाग डाँडामा । तर, त्यति बेला स्याङ्जा भन्दा पनि पश्चिम ४ नं नुवाकोट भनिन्थ्यो । पल्लो नुवाकोट । 

बाइसे चौबिसे राजाका पालामा त्यसलाई सतौँ नुवाकोट पनि भनिन्थ्यो । स्याङ्जालाई नुवाकोट पनि भन्थे त्यस बेला । तर, नागरिकतामा उहाँ एक वर्ष बुढो । अर्थात् २००९ साल । स्कुलमा जाँदा त्यस्तै लेखिदिए । त्यो बेला स्कुल भर्ना हुने बेला जन्मको कुनै प्रमाण आवश्यक नै पर्दैनथ्यो । टेस्ट पास गरेपछि एसएलसी दिन १६ वर्ष पुर्‍याउँदा धेरैको जन्म मिति गलत हुने गरेको थियो त्यस बेला । 

आठ सन्तानमा उहाँ जेठो । चार दाजुभाइ । चार दिदी बहिनी । 

उहाँको बुबा गाउँको जिम्मावाल मुखिया । त्यस हिसाबले त सम्पन्न परिवार । त्यति धेरै सम्पन्न होइन । खोतिपाती गरेर वर्ष दिन मिठाे मसिनाे खान पुग्थ्यो । राम्रै लगाउन पुग्थ्याे । अरूलाई त्यो गाह्रो थियो गाउँमा । फरक त्यत्ति हो । 

गाउँको जिम्मावालको छोरो भएको हुनाले उहाँले अलि ग्राह्यता त पाउनुहुन्थ्यो । तर पनि उहाँमा कुनै कुराको माग गर्ने, जिद्दी गर्ने स्वभाव भने थिएन । जता जता समयले बगाउँछ उतै बहने स्वभाव । 

बाबुआमालाई पनि छोरोलाई पढाउन पर्छ भन्ने त थियो । तर, पाठशाला हालिदिएपछि छोरोले आफैँ पढ्छ वा पढ्नुपर्छ भन्ने सोच थियो उहाँहरूमा । 

आफ्नो खेतीपाती, गाईबस्तु, जमिनदारी र तालुकदारीले उहाँहरूलाई छोराको पढाइका बारेमा थप ध्यान दिने फुर्सद  नै मिल्दैनथ्यो ।  मालपोतदेखि अन्य तिरो तिर्ने, गाउँलेका मुद्दा मामिला सबै हेर्नुपर्ने हुँदा पढोस् भन्ने थियो । तर, ध्यान दिने समय थिएन । 

बाल्यकालको खेलमा भने डण्डीबियो र कपर्दी मुख्य थियो डा. शर्माको । जङ्गलमा घुम्न गयो । समय अनुसारको फलफूल खायो । पौडी खेल्यो । माछा मार्‍यो यस्तै थियो खेलकुदमा नाममा । अब त्यो बेला न त खेल मैदान थियो । न त खेल सिकाउने कुनै गुरु नै ! 

बाहुन गाउँ भएको हुनाले रोदी, दोहोरी जस्ता सांस्कृतिक कार्यक्रममा खासै संलग्नता रहेन उहाँको । 

प्रारम्भिक शिक्षा
उहाँको प्रारम्भिक शिक्षाको कहानी समेत रोचक छ । उहाँले पढ्न शुरु गरेको पाठशालाले स्कुलको रूप  नै ग्रहण गर्न सकेनन् । 

त्यो बेला खास कुनै कक्षा नभईकन गुरुहरूले स्तर अनुसार पढाउनुहुन्थ्यो । दुर्गा कवचदेखि ठुलो वर्णमाला अनि चण्डी यस्तै अन्य अन्य । 

यस्ता पाठशालाले धेरै ठाउँमा स्थानीयको सहयोगमा स्कुलको रूप धारण गरे । तर, संयोग भनौँ कि के उहाँले अध्ययन गरेका कुनै पनि पाठशालाले स्कुलले रूप धारण गर्न सकेन । 

गुरु पनि उही रहेनन् । अध्ययन कहिले कुन गुरुसँग । कहिले कुन गुरुसँग भयो ।  ६ वर्षको उमेरमा उहाँ पोखरा झर्नु भो पढ्नको लागि भनेर । त्यस बेलाको सोल्जर्स बोर्डमा । 

तर, त्यहाँ पनि उहाँको पढाइले निरन्तरता पाएन । कारण समय घर्की सकेको थियो । उहाँ ६ महिना ढिलो हुनु भो त्यहाँ पनि । हाल उक्त सोल्जर्स बोर्ड अमरसिंह माविका रुपमा परिचित छ ।

उहाँको मामाघर पनि नजिक नजिकै थियो घरबाट । झार खोला । अहिलेको आँधी खोला गाउँपालिका । त्यहाँको पाठशालामा भने उहाँको प्रारम्भिक शिक्षाले अब बल्ल आकार ग्रहण गर्‍यो ।  उहाँ ६ कक्षामा भर्ना हुनुभयो । तर, मामाघरको गाउँमा बिफरको महामारीका कारण फेरि स्कुल जान सक्नुभएन । 

अनि फेरि ‘यसो हेरेर !’ उहाँलाई सात कक्षामा भर्ना गरियो । ६ कक्षा पास गरेर भने  होइन । 

आबादी नभएको तर दर्तावाल जङ्गल सहितको खुला चउर गाउँलेले स्कुललाई भनेर दिएका थिए । स्कुल भनेर खास त्यसमा कुनै भवन थिएन । गाउँलेको श्रमदानबाट स्याउलाको छाप्रो बनेको थियो । 

स्याउलाको छाप्रो वर्षाको एक सिजनपछि के काम लागोस् । बस्ने टेबल बेन्चको त के कुरो । खोलाको बाटो स्कुल जानुपर्थ्यो । आफ्नो बस्ने व्यवस्था आफैँले गर्नुपर्ने । विद्यालय बनाउन खोलाबाट ढुङ्गा बोकेर ल्याएर सहयाेग पनि गर्नुपर्थ्याे त्याे बेला । 

सानो एउटा छाप्रो हुन्थ्यो विद्यालय चलाउने । कागजपत्रदेखि विद्यालय रुङ्ने कर्मचारीसम्म बस्ने । अरु भने खुला विद्यालय । हिउँदमा भने हिमालबाट व्यापार गर्न आउनेले खच्चड ल्याएर पो राख्थे स्कुलमा । 

बिरामी आउँछन् । पत्याउँछ । विश्वास गरिरहेका छन् । त्यसैले पनि यो काममा निरन्तरता रहेको उहाँ बताउनुहुन्छ । अहिले साना साना समुदायका कला संस्कृति र पहिचानका बारेमा पढ्दै पनि हुनुहुन्छ । उहाँलाई गुमनाम जिन्दगी रमाइलो लाग्छ । भविष्यमा कतै गाउँतिर जहाँ उहाँको खाँचो महसुस हुन्छ त्यस्तो ठाउँमा सानो छाप्रो हालेर बस्न मन छ उहाँलाई । बिरामीको सेवामा ।

उहाँका मामाहरू पनि उक्त पाठशालामा सक्रिय हुनुहुन्थ्यो । उहाँ त्यहाँ सात कक्षामा भर्ना हुनुभयो । अहिले उक्त पाठशाला जनप्रदीप हाइस्कूलका रुपमा परिचित छ । 

उहाँको विद्यालय शिक्षाको समाप्ति पनि यही जनप्रदीप हाइस्कूलबाटै भयो । स्याङ्जाको पहिलो सेन्टर थियो त्यो एसएलसीको । दोस्रो डिभिजनमा उत्तीर्ण गर्नुभयो उहाँले एसएलसी । 

उच्च शिक्षा 

पाठशालाबाट निस्केको केटोको अब उच्च शिक्षा प्रारम्भ भयो काठमाडौँमा । पहिलो पटक काठमाडौँ खाल्डो टेकेको, त्यो पनि लबेदा सुरुवाल लगाएर । २०२६ सालतिरको कुरा हो यो । 

उहाँ हवाईजहाज चढेर आउनुभएको हो काठमाडौँ । यातायातका अन्य साधन थिएन । कि त पैदलै । तर, यो उहाँको पहिलो हवाई यात्रा भने थिएन । यसअघि बुबाले पोखराबाट भरतपुरसम्म प्लेन चढाउनु भएको थियो । बुबाको चितवनमा उठानी/पठानीको काम हुन्थ्यो । 

उहाँ काठमाडौँ आएपछि ठमेलमा बस्नु भो । साथीको डेरामा । साथी र उहाँ उही सालका एसएलसी ब्याची । लैनचौरको शान्ति विद्या गृहमा पढ्नुहुन्थ्यो साथीचाँही । 

पोखरा भन्दा ठूलो शहर नदेखेको उहाँलाई काठमाडौँ अनौठो लाग्यो । प्लेनको झ्यालबाट असन इन्द्रचोकका बाक्ला बस्ती देख्दा यस्ता बाक्ला बस्ती पनि हुने रहेछन् भनेर अचम्म लाग्यो । डकोटा जहाजले एअर पोर्टमा झारेपछि कसरी रत्नपार्कसम्म आइपुग्नु भयो हेक्का छैन उहाँलाई । 

रत्नपार्कको अगाडी लहरै पसल थिए । त्यसमध्ये एउटा थियो पार्क रोष्टुराँ । पार्क लेखेको ठाउँमा हरियो बत्ती । रेस्टुराँ लेखेको ठाउँमा रातो बत्ती निभ्दै बल्दै गर्दथ्याे । त्यो उहाँले निकै बेर टोलाएर हेर्नुभयो । 

बत्ती पनि नदेखेको । पोखरा घुम्न आएका बखत ट्युब लाइट देख्दा ध्यान दिएर हेर्नुहुन्थ्यो । अब यो झिलिमिली उहाँलाई उल्का नै भैगो । 

त्यस बेला अमृत साइन्स कलेज (अस्कल) सामुदायिक कलेजको रुपमा थियो । त्रिचन्द्र भने विशुद्ध सरकारी । उहाँले अस्कलमा विज्ञान पढ्नका लागि आवेदन दिनुभयो । समग्र प्राप्ताङ्क पुगे पनि अङ्ग्रेजी र अन्य विषयमा निश्चित अङ्क चाहिने हुँदा उहाँले त्यहाँ मौका पाउनु भएन । 

त्रिचन्द्रमा पनि ढिलो भएका कारण हो वा अन्य कारण उहाँले पढ्ने अवसर पाउनु भएन । आनन्द कुटी विद्यापीठले त्यस बेला आइएस्सीसम्मको कलेज चलाएको थियो । उहाँ त्यही कलेजमा भर्ना हुनुभयो विज्ञान पढ्नका लागि । 

उहाँसँगै भर्ना भएका कतिपय साथी भने पहिलो परीक्षा पछि लगत्तै त्रिचन्द्रमा सरे । तर, उहाँलाई भने यसको बारेमा कुनै जानकारी भएन । उहाँले भने आनन्द कुटीमै निरन्तरता दिनुभयो ।

उहाँलाई आइएस्सी पहिलो वर्ष धेरै गाह्रो भयो । पढाइ अङ्ग्रेजीमा हुन्थ्यो । उहाँको अंग्रजी सारै कमजोर । फिजिक्स, केमेस्ट्री, बायो सबै गारो लाग्ने । त्यसबेला प्रिन्सिपल हुनुहुन्थ्यो परासर नारायण सुवाल । त्रिभुवन विश्वविद्यालयको पहिलेको प्रोफेसर । उहाँको बसाइ क्षेत्रपाटी । 

बसाइ समान दिशामा भएका हुनाले उहाँहरू दुबै जना हिँडेर कलेजतिर जानुहुन्थ्यो । साथीहरू भने सरसँग छेलिएर कि त अघि हिँड्थे, कि पछि । उहाँलाई भने कुनै दकस थिएन त्यसैले सरसँग गफ गर्दै जानुहुन्थ्यो । 

त्यस बेला टर्मिनल भन्ने चलन थियो । उहाँ पहिलो टर्मिनलमा नेपाली बाहेक सबैमा फेल हुनुभयो । पञ्चायत विषय पनि थियो । पञ्चायतमा समेत फेल ! 

सुवाल सरले रिजल्ट सोध्नुभयो । उहाँले सबै विषयमा फेल भएँ भनेर सुनाउनुभएछ । सुवाल सरले त्यसपछि अब यसरी फेल भएर कहिले आइएस्सी पास गर्ने कहिले के गर्ने ? बरु त्यो भन्दा त कुनै मानविकीमा भर्ना भएर जागिर खाएर पढ्दै गर । लोकसेवा देऊ । जागिर खाऊ भनी सल्लाह दिनु भयो । 

आखिर घरबाट कहिलेसम्म पैसा पठाएर तिमीले यसरी पढ्ने ! पैसा किन सत्यानाश गर्ने भन्नुभयो । आइएस्सी, बिएस्सी गरेर पनि मास्टर हुने हो, सरकारी जागिर खाने हो भने किन समय र पैसा किन बरबाद गर्ने भन्नुभयो । 

उहाँले सुवाल सरलाई भर्खर त एउटा टर्मिनल गएको छ पख्नुस् न भन्नुभयो । तर, त्यसो भने पनि अब के गर्ने ? कसो गर्ने भन्ने चाहिँ उहाँको मनमा परिरह्यो । 

उहाँको स्मरण शक्ति भने राम्रो थियो । यसरी अङ्ग्रेजीमा पढेर पास गर्न सकिँदैन भनेर उहाँले घोक्न थाल्नुभयो । घोक्न भने उहाँ जति भए पनि सक्ने । 

पढ्दै जाँदा पहिलो टर्मिनलमा महत्त्वपूर्ण लागेका फिजिक्स, केमेस्ट्री,वायोलजी सबैका बिस पच्चीस पेज उहाँले घोक्नुभयो । 

यसले उहाँलाई अंग्रजीको वाक्य गठन बुझ्न मद्दत गर्‍यो । 'टेन्स' उहाँलाई थाहा नभए पनि वाक्य बुझ्न थाल्नुभयो । लेख्न सजिलो भो । शब्द र वाक्य गठनमा यसले सजिलो बनायो । 

यो घोकाइ शब्दको अर्थ बुझ्न पनि सहयोगी भयो । कुन वाक्य कसरी लेख्ने भन्नेमा पनि मद्दत पुग्यो । धेरै पछिसम्म पनि उच्चारण चाहिँ बनेको थिएन । 

कलेजमा त्यसबेला एक जना ब्रिटिस र तीन जना रसियन शिक्षक आएका थिए पढाउन । ब्रिटिस शिक्षक पनि ठमेलै बस्ने । डेरा सर्दा भने एउटै घरको वारी पारी जस्तो भयो । ब्रिटिस शिक्षक साइकल चलाउँथे । 

अब अंग्रेजी बनाउन पर्‍यो भनेर उहाँले उक्त ब्रिटिस  शिक्षकसँग मलाई अङ्ग्रेजी अलि अभ्यास गर्नपर्‍यो भन्ने प्रस्ताव नै राख्नु भयो ।  ब्रिटिस शिक्षक पनि खुसी । बोल्दा पनि अलि सहज हुन थाल्यो अब । उहाँले लेखेका निबन्ध पनि हेरिदिने हुनाले लेखाइमा पनि सुधार हुन थाल्यो । 

दोस्रो टर्मिनलमा भने उहाँले सबै विषय सहजै पास गर्नुभयो । कक्षाको सामान्य विद्यार्थी भन्दा राम्रो भयो । त्यसपछि अलि फुर्ती पनि बढ्यो । आँट पनि बढ्यो, उहाँ भन्नुहुन्छ । उहाँले त्यसपछि सुवाल सरलाई मैले पास गरेँ नि सर  भन्नुभयो । अझ गर्न बाँकी छ हेर्नुस् न भन्नुभयो । 

अब 'सेन्टअप'मा उहाँले 'वायोलोजी ग्रुप'मा 'टप' गर्नुभयो । अझ राम्रो गर्नुपर्छ भनेर फिजिक्स, केमेस्ट्री र वायोलोजीको प्राकटिकल छोड्नु भयो उहाँले । त्यसबेला कसैको पनि 'फर्स्ट डिभिजन' आएको थिएन । उहाँको 'टप सेकेन्ड डिभिजन' थियो । 

अर्को वर्ष दिँदा पहिले भन्दा राम्रो त भएन तर दुई वटा विषयमा 'डिस्टिङ्क्सन' आयो ।  

तर, वायोलोजिमा भने अरु नै 'टपर' निस्किए । डा. प्रकाश सायमी, उपेन्द्र देवकोटाको ब्याच थियो त्यो । डा.बाबुराम भट्टराई पनि । तर, भट्टराई भने गणिततर्फ । 'सेकेन्ड डिभिजन' त थियो । तर, उहाँ भन्दा अरु पाँच जना अगाडि थिए । 

इन्डियाबाट हरेक वर्ष कोलम्बो प्लान अन्तर्गतको १५,१६ वटा सिट आउँथ्यो । तर, त्यस वर्ष भने महिला, दुर्गम र बिएस्सीलाइ अलग्गै सिट विभाजन गर्दा जम्मा पाँच वटा सिट मात्रै बाँकी हुन गयो । अनि 'टप' पाँच गए इन्डिया । 

उहाँ र उदय श्रेष्ठ प्रतीक्षा सूचीमा पर्नु भयो । इन्डिया पाएको कसैले छोड्ने कुरो भएन । सोभियत सङ्घबाट प्राप्त दुई सिटमा भने उहाँहरू पर्नुभयो । 

एमबिबिएसको यात्रा

उहाँ एमबिबिएसका लागि जानुभयो सोभियत सङ्घ । हालको युक्रेनको खार्कोभ मेडिकल इन्स्टिच्युट । धेरै पुरानो कलेज । सन् १८०५ मा स्थापित । 

राम्रो कलेज पढ्न नपाएको पीडा । अङ्ग्रेजी भाषाका कारण भोग्नु परेको समस्या । बिहानै पकाउ । बेलुकी पकाउ । ठमेलबाट असनसम्म तरकारी दाल, चामल किन्न आउने झन्झट । हिलो बाटो । टाढाको कलेज । कलेज जीवनका भोगाई । 

यी विविध समस्या भोगेको उहाँलाई लाग्यो अब यो नयाँ ठाउँमा सबैलाई सुविधा बराबर छ । भाषा नयाँ । विषय नयाँ । त्यसकारण सबैलाई अवसर समान छ र यहाँ भने अब म जम्नुपर्छ भन्ने लाग्यो उहाँलाई ।  

बिस्तारै रसियन भाषाका कखरा पढ्दै गएपछि चार महिनापछि उनीहरूकाे भाषासँग सामञ्जस्य हुने गरी कोर्स पनि अगाडि बढाउँदै लगे । एक वर्षमा यहाँ पढ्ने आइएस्सीको कोर्ष र भाषाको पूर्ण समायोजन भयो । 

मेडिकल पढ्ने रसियन विद्यार्थीको लेभलमा भाषा र कोर्स दुबै आइसकेपछि उहाँहरू बल्ल मेडिकल पढ्न छिर्नुभयो । भाषाको समस्या भोगेको हुनाले होला यसपटक उहाँको रसियन भाषा भने राम्रो भयो । यसले उहाँलाई पुस्तक पढ्न प्रेरित गर्‍यो, साहित्य, इतिहास अनि दर्शनमा । 

खेलकुद र मनोरञ्जनमा उहाँको खासै रुचि भएन सानैदेखि । सानो पैँतालिस केजीको लिखुरे ज्यान रसियन साथी बनाऊँ घुम्न जाऊँ भन्दा पनि नमिल्ने । 

यी सबै कुरा नमिल्ने भएपछि उहाँलाई पढ्ने बाध्यता पनि आइलाग्यो । यहाँ कहिले पनि बियर ह्विस्की नखाएको त्यहाँ सुरुमा त्यो पनि भएन । पछि बिस्तारै बियर भने पिउन थाल्नुभयो । 

भाषामा रुचि भएका कारण मेडिकल पढ्दा नै फ्रेन्च जर्मनको क्लास पनि लिन थाल्नुभयो । इस्पेरान्तो पनि उहाँ राम्रो बोल्नुहुन्थ्यो । अहिले भने अभ्यास नभएका कारण धेरै बिर्सनुभयो । 

अरु भाषाबाट रसियनमा अनुवादित धेरै कृति पनि पढ्नुभयो । मेडिकलमा पनि उहाँले राम्रै गर्नुभयो । राम्रै विद्यार्थीका रुपमा निक्लनुभयो ।  यहाँको एमबिबिएस डिप्लोमा बेसिकको रुपमा भए पनि रुसमा डिप्लोमा नभनिने हुनाले मास्टर्स भनिए पनि त्यो पनि मेडिकलको बेसिक कोर्स नै हो । 

एक वर्ष भाषा र छ वर्ष मेडिकल पढिसकेपछि थप दुई वर्ष पोस्ट ग्र्याजुएट अर्थात् एमडी गरेर उहाँ नेपाल फर्कनु भयो । साइक्याट्रिस्टका रुपमा । 

साइक्याट्रि तर्फकाे  बाटो 

उहाँ ठमेल बस्दा फुर्सदमा ब्रिटिस काउन्सिलको लाइब्रेरी खुब धाउनु हुन्थ्यो । उहाँले साइकोलोजीको बारेमा भने सुन्नुभएको थियो । तर, साइक्याट्रिको बारेमा थाहा थिएन ।

ब्रिटिस काउन्सिलमा जाने क्रममा उहाँले साइक्याट्रिको बारेमा एउटा पुस्तक भेट्नुभयो । के रैछ भनेर जिज्ञासावश पढ्दै जाँदा त्यसमा साइक्याट्रिको लक्षण तथा विषयको बारेमा जानकारी रहेछ । ओहो यस्तो पनि विषय हुँदो रहेछ भन्ने लाग्यो उहाँलाई । 

मेडिकल पढ्दा पनि जुन जुन विषय पढ्दै गयो त्यही विषयमा डाक्टर हुन्छु भन्ने लाग्ने । सर्जरी पढ्दा सर्जन बन्न मन लाग्ने । मुटुका बारे पढ्दा मुटुको डाक्टर हुन मन लाग्ने हुँदो रहेछ । यस्तो एमबिबिएस पढ्ने प्राय सबैलाई हुने रहेछ । अनि अर्को कुरा रोगका बारेमा पढ्दा त्यो लक्षण आफूमा भएजस्तो लाग्ने । यो मेडिकलका विद्यार्थीमा प्राय सबैमा हुने समानता हो । 

तेस्रो वर्षमा मेडिकल साइकोलोजिको एउटा कोर्स हुन्थ्यो । त्यो चाहिँ लेक्चर मात्र । केवल ‘ओरियन्टेसन’ मात्र ।  मेडिकल साइकोलोजि पढ्दा साइकोलोजि र 'एबनर्मल' साइकोलोजिका कुरा पढेपछि भने उहाँलाई यसमा रमाइलो लाग्यो । 

एक वर्ष पछि पढाइ हुने एउटा डिपार्टमेन्टमा उहाँ यसो आगन्तुक भएर आउने जाने गर्नुहुँदो रहेछ । त्यो थियो साइक्याट्रि डिपार्टमेन्ट । एमबिबिएस गरेपछिको रेजिडेन्ट डाक्टरहरूसँग यस विषयमा कुराकानी तथा पढ्ने पनि गर्नुहुन्थ्यो । उहाँलाई लाग्यो डाक्टर हुन योग्य विषय त यो पो रहेछ । 

दिमागको डाक्टर भयो भने त बिरामीको सबै पक्ष थाहा हुन्छ । आँखा, कान वा अन्य एउटा अङ्गको डाक्टर हुँदा एउटा विषय मात्र थाहा हुने भो ।  दिमागको डाक्टर हुँदा उसको परिवारदेखि सामाजिक, आर्थिक सबै पाटो थाहा हुने भो । अझ त्यो भन्दा पनि मानिसको बारेमा पूर्ण ज्ञान हुने भो । अर्थात् पूर्ण डाक्टर । त्यसपछि उहाँले साइक्याट्रिस्ट हुने बाहेक अर्को सोच्नु नै भएन । 

सिनियर साथीहरूले नेपालमा साइक्याट्रिस्ट भनेको एक जना बिपी डाक्टर सापमात्रै हो । पढ्न गएकाहरू पनि मिलेसम्म विषय परिवर्तन गर्छन् । सकेसम्म उतै बस्छन् । नेपालमा काम छैन । अभ्यास गर्न पाइँदैन । कोही नपढेर बिचमै फर्केर आएका छन् भनेर साथीहरूले भन्ने गर्थे । 

उहाँको पद सेवा अनि सम्मानका कुरा भने रमाइला छन् । पद र सम्मानका बारे उहाँ भन्नुहुन्छ, त्यो त जिरो । कुनै पद र सम्मानका लागि उहाँले कोशिश पनि गर्नुभएन । चाकडी त परै जाओस । दिनेले कदर गरेर दिए ठिकै होला तर, त्यो पनि म जान्दिन, उहाँ भन्नुहुन्छ । 

अस्पताल छैन । वीर अस्पतालको छिँडीमा त्यो पनि ६ वटा बेड छ । अब यस्तो विषय पढेर के काम । क्लिनिक चल्दैन । अर्को, रसियामा पढेको डाक्टरकोमा को आउँछ । साइक्याट्रिस्टका लागि भाषा नै मुख्य हो । अब भाषै नभए कसरी काम गर्छस् भनेर धेरै साथीहरूले भने उहाँलाई । 

तर, उहाँले यो व्यापक विषय हो । अहिले डाक्टर नभएर पनि बिरामी नदेखिएका हुन् । अब हेर्दै जाऊँ जे जे हुन्छ भनेर उहाँ आफ्नो ‘इरादा’बाट डेग चल्नु भएन । 

रसियाबाट फर्केपछि 

रसियाबाट फर्के लगत्तै जागिर खान पाउनु भएको भए उहाँ डा. ध्रुबमान श्रेष्ठ सँगसँगै जस्तो हुनुहुन्थ्यो । यद्यपि श्रेष्ठ उमेर तथा काममा पनि उहाँभन्दा सिनियर हो । 

देशमा साइक्याट्रिस्ट डाक्टर नै थिएनन् । तर, पनि फर्केको चार महिनासम्म बेरोजगार भएर बस्नुभयो । विभागमा धेरै धाउँदा पनि जागिर पाउन सक्नुभएन । 

मानसिक अस्पतालमा नयाँ दरबन्दी नै थिएन । तर, डा. बिपी शर्माले दरबन्दी नै नभए पनि उहाँलाई हाजिर गराउनु भयो । शर्मा डा. सापले विभागमा कुरा गरेर सकभर दरबन्दी नभए पनि दैनिक हाजिरीमा काम गराउँछु भन्नुभयो । 

शर्मा डा. सापले नै साइक्याट्रि पढेर आएको मलाई काम लाग्ने केटो हो भनेर विभागमा लेखेर पठाउनु भयो । दरबन्दी नभएको त होइन तर, साइक्याट्रिस्टको दरबन्दीमा अरु नै डाक्टर सापले बाहिर जागिर खाँदै हुनुहुँदो रहेछ । अब ती डाक्टर सापलाई हटाउने तागत पनि भएन, उहाँ भन्नुहुन्छ ।

 उहाँले दुइमहिना जति हाजिर गरेर काम गर्नुभयो । हाजिर गरिसकेपछि सेवा सुविधा दिन विभाग बाध्य भयो । एक वर्ष जति उहाँले दैनिक हाजिरीमा काम गर्नुभयो । पछि अर्जुननरसिंह केसी स्वास्थ्य राज्यमन्त्री भएको बेला डाक्टरहरूलाई पनि दैनिक हाजिरीमा राख्ने हो र ! सबैलाई कहाँ कहाँ मिल्छ दरबन्दी कायम गरेर अस्थायी भए पनि नियुक्ति गर्नुपर्छ भनेर नियम बसाए । 

पहिलो तलब

दैनिक हाजिरी भए पनि त्यो बेला उहाँको तलब ४५० थियो  । महँगी भत्ता लगायत अरु विभिन्न भत्ताहरू जोड्दा उहाँले त्यो बेला चानचुन आठ सय थाप्नुभएको थियो । 
पहिलो तलबले के गर्नुभयो त्यति याद रहेन । साथीभाइसँग गएँ कि, उहाँ भन्नुहुन्छ । 

तर, त्यो बेला उहाँलाई बिपी डाक्टर सापले तिम्रो काठमाडौँमा घर पनि छैन । क्लिनिक पनि चलाएका छैनौ । तुरुन्तै क्लिनिक चलाएर चल्दा पनि चल्दैन । गाह्रो होला । बरु बानेश्वरमा सामाजिक सेवा समन्वय परिषद् अन्तर्गत सुस्त मनस्थिति भएका बच्चालाई हेर्ने एउटा संस्था छ तिमी त्यहाँ हेर्न जाऊ भन्नुभयो । त्यो बेला उहाँले त्यहाँ चार दिन गएको दुई सय पचास पाउनु हुन्थ्यो । त्यसले भने उहाँका लागि धेरै नै भरथेग गर्‍यो त्यस बेलामा । 

क्लिनिक शुरु गर्दा

रसियाको कम्युनिजममा मेडिकल पढेर आएको मान्छे क्लिनिक खोलेर बिरामीसँग पैसा लिने कुरा त कल्पना भन्दा बाहिरको कुरा थियो उहाँ भन्नुहुन्छ । मानसिक रोगीलाई लामो समय राखेर उपचार गर्नुपर्ने हुँदा पटक पटक भेट हुन्छ । आत्मीयता बढ्छ । कसैले कुनै उपहार ल्यायो भने पनि नलिनु भनेको थियो कलेजले । 

घरमा खान बोलाउन सक्छन् नजानु । तर, तिमी विदेशीहरूलाई कलेज नजिकैको रेस्टुराँमा भने गए हुन्छ । तर, हैसियत हेरेर । बिरामीका आफन्तबाट उपहार लिनु त अपराध मानिने ठाउँबाट पढेर आएको मान्छेलाई बिरामीका हातबाट पैसा लिने भन्दा मनले मानिरहेको नै थिएन ।  डा.अवनीभुषण उपाध्यायले उहाँलाई हात समातेर नै 'प्राक्टिस' गर्न लगाउनु भएको हो । यसरी उहाँले 'प्राक्टिस' शुरु गर्नुभएको हो । 

पोखरामा क्लिनिक

त्यसबेला मानसिक अस्पताल मात्रै थियो । जँचाउन र फलोअपका लागि पनि अस्पताल नै आउनु पर्थ्यो । औषधि सकिएर लिन आउनु परे पनि बिरामी काठमाडौँ नै आउनु पर्थ्यो। काठमाडौँ बाहिरका पसलेले यहाँको औषधि नराख्ने । 

काठमाडौँ बाहिरको मान्छे एक पटक जँचाउन वा औषधि लिन मात्रै आउँदा पनि उसको सबै खर्च जोड्दा कम्तीमा पाँच सय हुन्थ्यो त्यो बेला । औषधि बाहेक ।

उहाँले त्यसपछि पोखरामा यहीँको मूल्यमा औषधी दिनेगरि एउटा क्लिनिकमा बिरामी हेर्न थाल्नुभयो । महिनाको एक पटक । त्यसबेला काठमाडाैंकाे क्लिनकमा एकजना बिरामी जाँचेकाे बीस रूपैयाँ थियाे ।  उहाँ पाेखरा जान थालेपछि बिरामीकाे चारसय पचास जाेगिने देखियाे । उहाँले भने त्यसबेला पचास रुपैयाँ लिने गर्नुहुन्थ्याे बिरामी जाँचेको ।

त्यसले उहाँको जीवनमा आर्थिक रुपमा तथा प्राक्टिस गर्ने मामिलामा उहाँलाई आत्मनिर्भर भने बनायो । आत्मविश्वास पनि बढायो । यसले आजसम्म पनि उहाँलाई पछाडि फर्केर हेर्नुपरेको छैन जीवनमा । यो बाहिर जाने क्रम अहिले पनि जारी छ उहाँको ।

शुरुमा उहाँले यो सेवा गण्डकी अस्पतालमार्फत दिन खोज्नुभएको थियो । तर, त्यो तारतम्य नमिलेपछि एक जना सिनियर डाक्टर सापको सल्लाह अनुसार उहाँले बाहिर बिरामी हेर्न थाल्नु भएको हो । 

अपायक सरुवा

साइक्याट्रिमा थोरै डाक्टर । दरबन्दी पुग्ने खालको हुन्थ्यो । उहाँ बढुवा भएर सहायक सचिव हुँदै उपसचिव हुनुभयो ।  पछि २०४६ को आन्दोलनमा पनि उहाँ राम्रैसँग लाग्नुभयो । हालको उहाँको क्लिनिक अगाडी त्यसबेला काँग्रेसको सम्पर्क कार्यालय जस्तै थियो ।  उज्ज्वल उपाध्याय, जेपी गुप्ता, मनमोहन भट्टराई, हरिबोल भट्टराई लगायत त्यसबेलाका युवा नेताहरूको राम्रै उपस्थिति हुन्थ्यो । 

उहाँको बढुवा भएपछि यहाँ दरबन्दी रहेन । आन्दोलन पछि आएको नयाँ सरकारले जहाँसुकै खालि छ कहाँ जाने भनेर सोधेको थियो । उहाँले आफ्नो पुरानो सम्पर्कका मानिसहरू धेरै भएका हिसाबले भरतपुर भन्नुभयो । भरतपुरलाई मानसिक उपचारको राष्ट्रिय केन्द्रको रुपमा शुरुवात गर्ने उहाँको सोच थियो । तर, पछि सरकारले उहाँलाई काँग्रेसको मान्छे होइन भनेर हो कि के भएर हो महेन्द्रनगर सरुवा गर्‍यो । 

आखिर डाक्टरी गर्नलाई अरूसँग हात जोडिजोडी चाकडी गरेर किन जागिर खानुछ भनेर उहाँले राजीनामा गर्नुभयो ।  त्यसपछि एउटा ‘फोर व्हिल’ गाडी किनेर उहाँ घुम्न थाल्नु भयो । जहाँ जहाँ मानसिक स्वास्थ्य सेवा पुगेको छैन त्यहाँ । त्यहाँ एक दुई दिन बस्ने एक जना स्टाफ लैजाने र त्यहीँको स्थानीय मेडिकल अफिसरलाई फलोअप गर्न लगाउने । पोखरा, पाल्पा, बुटवल, नारायणघाट र हेटौँडामा उहाँले सेवा शुरु गर्नुभयो । 

हस्पिटल ‘अन व्हिल’

काठमाडौँ बाहिरको यात्रालाई व्यवस्थित गरेर एउटा भ्यानमा हस्पिटल ‘अन व्हिल’ बनाएर सेवा दिने उहाँको योजना थियो । तर, यस्तो 'केस लोड' भयो कि दुई दिन छुट्टाएको पोखरामा चार दिनले नभ्याउने भयो । 

बुटवलमा अठार, उन्नाइस जिल्लाका बिरामी जम्मा हुन थाले । हेटौँडामा झापा, इलामका बिरामी जम्मा हुन थाले । उहाँको भ्यानमा हस्पिटल बनाउने योजना व्यस्तताका कारण साकार हुन सकेन । 

सामान्य ‘फोर व्हिल’ नै हस्पिटल ‘अन व्हिल’ बन्यो चार पाँच वर्ष । यसरी बाहिर जाँदा भएका एक दुई घटनाले उहाँको जीउ झण्ड ज्यान नै खतरामा पनि पर्‍यो ।  अनि साथीहरूले यता मेडिकेयर हस्पिटल शुरु गर्नुभयो । प्राइभेट वार्ड शुरु भयो मेडिकेयरमा । 

विवाह 

उहाँको मागी विवाह होइन । चिनजान थियो । रसियामा पढ्दा । करिब ६,७ वर्ष जुनियर डा.अरुणा उप्रेतीसँग । उहाँ पनि त्यसबेला रसियामा पढ्दै हुनुहुन्थ्यो । ०४४ सालको हिउँदमा विवाह भयो । दुई वटा छोरी । एक जना कानूनवेत्ता । अर्को छोरीले भने उहाँकै पाइला पच्छ्याउनु भएको छ । अर्थात् साइक्याट्रिस्ट । केही वर्ष अघि मालदिभ्समा काम गरेर अहिले बाबुसँगै काम गर्दै हुनुहुन्छ । श्रीमती डा. अरुणा उप्रेती पनि मेडिकल डाक्टर । तर, उहाँ भने सामाजिक स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्नुहुन्छ । 

पद अनि सम्मानले देखेन   

उहाँको पद सेवा अनि सम्मानका कुरा भने रमाइला छन् । पद र सम्मानका बारे उहाँ भन्नुहुन्छ, त्यो त जिरो । कुनै पद र सम्मानका लागि उहाँले कोशिश पनि गर्नुभएन । चाकडी त परै जाओस । दिनेले कदर गरेर दिए ठिकै होला तर, त्यो पनि म जान्दिन, उहाँ भन्नुहुन्छ । 

कुनै पदको लोभ पनि भएन । पद पनि कहिले ग्रहण गरिएन, उहाँ भन्नुहुन्छ । जागिरमा पनि कुनै त्यस्तो पदको लोभ भएन । त्यस्तो उल्लेख गर्न मिल्ने कुनै सम्मान छैन, उहाँ भन्नुहुन्छ । 

सामाजिक सेवा 

शिक्षामा रुचि भएका कारण उहाँले ग्रामीण भेगमा केही काम शुरु गर्नुभयो । ग्रामीण भेगका महिलाहरूलाई शिक्षामा केही सहयोग गर्ने तथा स्वास्थ्यमा पनि सहयोग गर्न उहाँले एउटा संस्था खोल्नु भएको थियो । 

ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठी । रेष्ट । शिक्षा र स्वास्थ्यलाईसँगै लिएर जाने उहाँको योजना थियो । तर, व्यस्तताका कारण उहाँले यसको शुरुवात मात्र गर्नुभयो । समय दिन सक्नुभएन । अहिले उक्त संस्थालाई डा. अरुणा उप्रेतीले हेर्नुहुन्छ । संस्थाले निकै राम्रो काम पनि गरेको छ, उहाँ भन्नुहुन्छ । उहाँ भने अहिले उक्त संस्थामा आबद्ध हुनुहुन्न । अन्य सङ्घसंस्थामा पनि उहाँको संलग्नता छैन । 

रोटरीमा उहाँ दुईचार वर्ष देखि संलग्न हुनुहुन्छ । तर, केवल सदस्यका रुपमा । सक्रियता होइन । नाम, मान, सम्मानमा खासै रुचि रहेन, उहाँ भन्नुहुन्छ । 

दार्शनिक हिसाबले उहाँ आफूलाई नास्तिक भन्न रुचाउनुहुन्छ । अस्तित्ववादी । अस्तित्व हुन्जेल सबै छ । नभएका दिन सकियो । बाँचुन्जेल सबै छ । सबै कुरा नश्वर हो । आफ्नो मनलाई लागेको ठिक छ भन्न रुचाउनुहुन्छ उहाँ । अरूले वाह वाह भन्दिनुपर्छ भन्ने छैन उहाँको सोच । 

भन्नुहुन्छ, अरूले प्रशंसा गरिदिएको रमाइलो खुसी त लाग्दो हो, तर, त्यसको अनुभव नै भएन । त्यसैले बानी पनि त्यस्तै बसेको होला उहाँ भन्नुहुन्छ । 

पद ग्रहण गरेको र कसैले मान मनितो गरेको पनि अनुभव छैन रे उहाँलाई । हाकिम भएको, संस्थामा ठुलो मान्छे भएर अरूले चाकडी गरेको उहाँलाई अनुभव छैन । त्यसभित्र के रमाइलो छ भन्ने नै उहाँ बुझ्नुहुन्न रे ! उहाँ 

पागलको डाक्टर 

अहिले त सामाजिक रुपमा मानसिक रोगीलाई र त्यसका डाक्टरलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आइसकेको छैन । त्यो बेला त यस्तो कति हो कति हो, उहाँ भन्नुहुन्छ । 

हाम्रो खोला तिर एक दुई जना पागल होलान् तिनलाई हेरेर यसको जीविका कसरी चल्छ होला भनेर भन्थे ! के विषय पढेर आएको यस्तो ! कस्लाइ हेर्ने हो !? पागलखाना जाने हो बिरामी हेर्न भन्थे । नेपालमा पागलखाना त गतिलो छैन कहाँ गएर बिरामी हेर्ने भन्ने गरिन्थ्यो । 

डाक्टर साथीहरूले पनि के यस्तो विषय पढेको ? नेपालमा यसको काम नै छैन भन्थे । सन् १९८२ मा म आउँदा त त्यस्तो अवस्था थियो भने करिब बिस वर्ष अघि झन्डै १९६२ तिर बिपी शर्मा डाक्टर साप आउँदा अवस्था कस्तो थियो होला, उहाँ आश्चर्य प्रकट गर्नुहुन्छ । 

बिपी शर्मा डाक्टर सापका समकक्षीहरू डा. अञ्जनी कुमार, डा. मृगेन्द्रराज पाण्डेको पालामा त उहाँले पनि जे पढे पनि पाउनुहुन्थ्यो होला नि ! त्यो बेलामा उहाँले साइक्याट्रिक पढ्न रहर गर्नु । त्यही विषय पढ्नु । अनि पढेर फेरि नेपाल फर्कनु र त्यसमै 'करियर' बनाउँछु भन्नु साँच्चै एउटा दुस्साहस नै हो त्यसबेला ।

उहाँले यहाँ आएर गरेरै देखाउनु भयो पनि । त्यस कारण पनि म उहाँको अत्यन्त सम्मान गर्छु, उहाँले डा. बिपी शर्माका प्रति यसरी सम्मान प्रकट गर्नुभयो । नेपालको पहिलो मानसिक रोग विशेषज्ञ मनोचिकित्सक डा. बिपी शर्माको । 

रुचि

पढ्ने उहाँको रुचि हो । लेख्नमा पनि रुचि नभएको होइन । तर, भाषामा त्यति पकड नभएका कारण उहाँ लेख्न अलि हिचकिचाउनुहुन्छ । उहाँ साधना स्वास्थ्य पत्रिकामा लेख पनि लेख्ने गर्नुहुन्थ्यो । अब भने मानसिक स्वास्थ्य सम्बन्धी आम मानिसलाई सहयोग पुग्ने किताब लेख्ने मन छ उहाँलाई । 

समसामयिक तथा साहित्यिक कृतिहरू अध्ययन गर्नुहुन्छ अचेल । हाल चर्चामा रहेका सबै पुस्तक पढी भ्याउनु भएको छ । अहिले उहाँ अरेबिक र चाइनिज भाषा पढ्दै हुनुहुन्छ अनलाइन मार्फत । उहाँलाई भाषा पढ्न मन लाग्छ ।

अर्को उहाँको रुचिको विषय हो यात्रा । नेपालका सबै महत्त्वपूर्ण ठाउँ घुमिसक्नु भएको छैन, त्यसैले घुम्ने रहर छ । अब उहाँलाई धेरै खटिएर धेरै काम गरेर पैसा कमाउने रहर छैन । 
दुई तीन वर्ष अघिदेखि नै अड्कलेर काम गर्ने रहर थियो उहाँलाई । तर, बिरामीको आग्रह र चापका कारण त्यसो गर्न नसकिएको बताउनुहुन्छ । उहाँले बिरामी हेर्ने बाहेक अन्य केही गर्नुभएको छैन भन्नुहुन्छ उहाँ । 

प्रशासनमा बस्नु भएन । सङ्घसंस्था चलाउनु भएन । अन्त सामाजिक जीवनमा पनि कतै भिज्नुभएन । अस्पताल व्यवस्थापनमा पनि लाग्नु भएन । केवल बिरामीको सेवामा जीवन बित्यो । त्यो बाहेक अरु आफूलाई नआउने पनि निसंकोच भन्नुहुन्छ उहाँ । अब यो बिरामी हेर्ने कुरा चटक्क छोड्न पनि गारो । 

बिरामी आउँछन् । पत्याउँछन् । विश्वास गरिरहेका छन् । त्यसैले पनि यो काममा निरन्तरता रहेको उहाँ बताउनुहुन्छ । अहिले साना साना समुदायका कला संस्कृति र पहिचानका बारेमा पढ्दै पनि हुनुहुन्छ । उहाँलाई गुमनाम जिन्दगी रमाइलो लाग्छ । भविष्यमा कतै गाउँतिर जहाँ उहाँको खाँचो महसुस हुन्छ त्यस्तो ठाउँमा सानो छाप्रो हालेर बस्न मन छ उहाँलाई । बिरामीको सेवामा ।

उहाँको आफ्नो पेशा तथा जीवनको भोगाइका बारे एउटा पुस्तक पनि लेख्नु भएको छ । ‘मान्छेको मन’ भन्ने ।  तीन सय पचास पेजको उक्त पुस्तकमा उहाँले आफ्ना जीवनका धरै जसो फेहरिस्त प्रस्तुत गर्नुभएको छ । किताब राम्रै बिक्यो रे प्रकाशकले भनेको । मञ्जरी प्रकाशनले किताब बजारमा ल्याएको हो । तुरुन्तै रिप्रिन्ट गर्नु पर्‍यो रे ! उहाँले अरूका मन बुझे जस्तै किताबले उहाँलाई बुझ्न अझ सजिलो बनाएको छ । 

अन्त्यमा 
उहाँ भन्नुहुन्छ मैले जीवनमा बिरामी बाहेक अरु केही हेरिन् । बिरामी हेर्ने नै पेसा, रुचि, सोख सबै भयो । अहिले पनि चटक्क छोड्न सक्नु भएको छैन । एउटा यस्तो नाम जाे केवल बिरामीको सेवामा समर्पित बिरामीको मात्र डाक्टर–डा. विश्वबन्धु शर्मा