सम्पादकलाई पत्र : अरूले लेखिदिएको तथ्य र तर्कमा बिपीद्वारा हरिहर विरहीजीलाई धन्यवाद !

सम्पादकलाई पत्र : अरूले लेखिदिएको तथ्य र तर्कमा बिपीद्वारा हरिहर विरहीजीलाई धन्यवाद !

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ २७, २०७७

पत्रकारितालाई मैले सोख र सन्तुष्टिको रुपमा लिएको छु ।  अर्थात् पत्रकारको परिचयको आधारमा त्यस्तो कुनै सुविधाप्रति मेरो आकर्षण रहेन । त्यसको कारण मेरो जीविकोपार्जन र रुचिको विषय भनेको शिक्षणमा रह्यो र  शिक्षकहरूको सुविधाका लागि सदैव लागिरहने एउटा साङ्गठनिक कार्यकर्ता रुपमा त्यो पेसासँग संलग्न रहुन्जेलसम्म लागिरहेँ । अहिले पनि आफूसमेत संस्थापक भएर स्थापना गरेको काठमाडौँ शिक्षा क्याम्पसमा कुनै कुनै बेलामा केही विषयको शिक्षण गरिरहेको छु । खास गरी सामाजिक न्यायसम्बन्धी विषयले शिक्षामा चेतनाको सञ्चार गर्ने भएकाले म त्यो विषयमा केन्द्रित भएको छु । तर आफ्नो लेख्ने सोखको भने अझै पनि लेखेर चित्त बुझाइरहेको छु ।

मलाई पत्रकारको परिचय पत्रको कुन बेलामा जरुरत परेको थियो भने नाकाबन्दीको बेलामा हप्तामा पत्रकारलाई तीन लिटर पेट्रोल दिन थाल्यो । अनि मैले धेरै पटक मेरालागि सहयोग गरेर ठाउँ ठाउँमा पुर्‍याइदिने छोराको मोटर साइकलका लागि पेट्रोल कहिले तारानाथ दाहाल भाइको परिचय पत्रको प्रयोग गरेर त कहिले धर्मेन्द्र झा भाइको परिचय पत्रको सहयोगमा इन्धन लिएँ तर त्यसरी लिनु पर्दा उहाँहरूलाई आवश्यक पर्दा परिचय पत्रको जरुरत पर्ने भयो, सधैँ मसँग उहाँहरूको परिचय पत्र राख्ने त कुरो भएन । अनि म सल्लाहकार सम्पादक रहेको साप्ताहिक पत्रिका नयाँ विकल्प साप्ताहिकको नाममा परिचय पत्र लिएँ तर अहिले स्वतन्त्र पत्रकारको परिचय पत्र लिनका लागि त्यो पनि नवीकरण गरिएको छैन ।

राष्ट्रपुकारको प्रकाशन बन्द भएपछि मैले कहिले नेपाल जागरणमा लेखेँ, कहिले नेपालवाणी साप्ताहिकमा लेखेँ, कहिले कुन पत्रिकामा कहिले कुनमा । धेरै वर्षसम्म गोरखापत्रमा स्तम्भकारको रुपमा पनि लेखेँ । अहिले पनि साप्ताहिक रुपमा आफ्नो स्तम्भको रुपमा नयाँ  विकल्पमा लेखिरहेको छु । फेरि नयाँ मिडिया सञ्चारको रुपमा आएका अनलाइन खबरहरूमा लेखिरहेको छु । खासगरी इमेज खबर, लोकसंवाद, थाहा खबर, हरेकपल, रातोपाटी । अनि माग गरेअनुसारका लेखहरू लेखिरहेको छु । केही समय रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारमा रहेर पनि पत्रकारिताको धर्मअनुसार लेखेँ, पढेँ अनि छलफल गरेँ । आज म सम्पादकलाई पत्रका बारेमा केही आफ्ना अनुभव सम्झिरहेको छु  ।

सम्पादकलाई पत्र, पत्रकारिता र होमनाथ दाइको प्रसङ्ग 

मैले पत्रकारिताको या पत्रिकाको साक्षात्कार गरेको भनेको पत्रकारिताका बारेमा खासै  कुनै जानकारी नै नभएको समयमा, भनौँ पत्रकारितामा राष्ट्रपुकारमार्फत् नै प्रवेश गरेको हुँ । मेरो पत्रकारिताको  सोखलाई प्रोत्साहन गर्ने भनेको राष्ट्रपुकारका सम्पादन दाजु होमनाथ दाहालबाटै हो । मेरो त्यो पत्रिकामा प्रवेश प्रजातन्त्रको पक्षमा लेख्ने मञ्च प्रयोग गरेर आफ्ना भावना पोख्ने ठाउँ थियो । दाइले मलाई मात्र होइन, त्यो बेलामा विद्वान मित्र कोषराज न्यौपाने, पत्रकार शिव अधिकारी र अलि पछि पत्रकार पुरुषोत्तम दाहालको प्रवेश भएको थियो । अहिले पुरुषोत्तम दाहाल पत्रकारिता र प्राध्यापन पेसालाई सँगसँगै लगिरहेका छन् । हाल त नेपाली काँग्रेसको केन्द्रीय प्रशिक्षण तथा अनुगमन प्रतिष्ठानमा प्रमुख कार्यकारी प्रमुखका रुपमा समेत कार्यरत दाहाल मुख्यतः मानव अधिकारका क्षेत्रमा चर्चित र लडाकु नाम हो । बहुआयामिक प्रतिभाका धनी दाहाल अहिले वरिष्ठ पत्रकार र वरिष्ठ प्राध्यापकका रुपमा समाजको सेवा गरिरहेका छन् । कोषराजजी पछि पत्रकारितालाई चटक्क छोडेर प्राध्यापनमा रमाउनु भयो र अहिले प्राध्यापनबाट अवकाश प्राप्त जीवनको समयलाई लेखनमा लगाइरहनु भएको छ । शिव अधिकारीको केही वर्ष पहिले नै निधन भइसकेको छ । पछि शिव भुर्तेलजी पनि राष्ट्रपुकारमा संलग्न हुनुभयो । एक प्रकारले प्रजातन्त्रवादी पत्रकारहरूका लागि राष्ट्रपुकार सिक्ने ठाउँ जस्तै थियो । 

अनि यहाँ लेखिएका मास्टर साहेवका बारेमा मलाई बरु त्यति थाहा थिएन । थाहा भयो । विरहीजीले हो हो भनेर हाँसिरहनु भयो किनभने के के लेखिएको छ भन्ने उहाँलाई थाहै थिएन । अनि उहाँले त्यहीँ पत्रिका पढ्नु भयो र हाँसिरहनु भयो । पछि यसबारेमा विस्तृत जानकारी हामीले दियौँ किन यो लेख्नु परेको हो भनेर र उहाँकै नाम राख्नु परेको भनेर । 

आज म मेरो सम्पादकलाई पत्रका बारेमा पनि व्यावहारिकरुपमा राष्ट्रपुकारबाटै थाहा पाएको हुँ । राष्ट्रपुकारको चौथो पृष्ठमा सुरु सुरुमा प्रश्नोत्तर पनि थियो तर पछि साहित्यिक पृष्ठको रुपमा र सम्पादकलाई पत्र पनि त्यही पृष्ठमा थियो । सामान्यतः पत्र आउँथे । सयौँ पत्रहरू आउँथे । त्यसमध्ये केही मात्रै छापिन्थे  । कतिपय पत्रहरू समयावधिलाई आधार बनाएर र तत्कालीन विषयका आधारमा लेखिएका हुन्थे जुन अर्को हप्तासम्ममा त्यसको कुनै अर्थ हुँदैनथ्यो । हामीले त्यसमध्ये केही पत्रहरू छान्थ्यौँ र प्रकाशन गथ्यौँ । एक पटक के भयो भने बिपी नेपालमा आएपछि मेरो आफ्नो नाममा नभएर मेरा लेखकीय नाम अर्कै बनाएर एउटा पत्र लेखेँ अश्रु सिन्धुलीयको नाममा । त्यसबारेमा मैले पहिले पनि लेखिसकेको छु । 

विरहीजीलाई थाहै नभई उहाँको नाममा सम्पादकलाई पत्र प्रकाशन

बिपी २०३३सालमा राष्ट्रिय मेल मिलापको नीति लिएर नेपाल आउनु भएपछि, बिपी प्रधानमन्त्री भएकै बेलामा उहाँकै प्रोत्साहनमा बिपीकै विरोध गर्नका लागि प्रकाशित हुन थालेको वरिष्ठ पत्रकार मदनमणि दीक्षितजीको सम्पादनमा प्रकाशित साप्ताहिक समीक्षामा पञ्चहरूभन्दा बढी नै उग्रताका साथ बिपीको घाँटीमा सीआइएको टेप भनेर बारम्बार लेखिरहनु भयो । हामीलाई पत्रकारिताको नियम विपरीत त्यसरी बिपीलाई लाञ्छित गरेको मन परेन । अनि पत्रकारिताको मर्म अनुसार एउटा सम्पादकलाई पत्र लेख्ने विचार गर्‍यौँ ।

मदनमणिजी आदरणीय वरिष्ठ पत्रकार त हुनुहुन्थ्यो तर उहाँको लेखाइले तत्कालीन सोभियत सङ्घको पक्षधरता लिएको देखिन्थ्यो । एउटा साम्यवादी वरिष्ठतम व्यक्तित्व अनि उद्भट विद्वानमा बिपीका बारेमा त्यस्तो तुच्छ धारणा राखेको देखेर सम्पादकलाई पत्र लेखेर केही उहाँका बारेमा जानकारी दिनु पर्ने नै भयो । हुन त एउटा पत्रकारको बारेमा अर्को पत्रिकामा लेख्नु जरुरी थिएन तर त्यो पत्रकारिताभन्दा बिपीलाई लाञ्छित गरिने खालको भ्रमात्मक प्रचार भएकाले चुप बस्नु पनि बिपीलाई लाञ्छित गरेको मौन समर्थन हुने भएकाले केही मदनमणिजीका बारेमा सार्वजनिक जीवनका र राजनीतिक जीवनका केही बुँदाहरू तयार गर्‍यौँ । अनि कसको नाम राख्ने भन्ने हामीमा प्रश्न तेर्सियो किनभने त्यो कसैको पत्र थिएन र पनि सम्पादकलाई पत्रको रुपमा सार्वजनिक जानकारी जरुरी थियो । एकातिर बिपीलाई गाली गर्ने अनि आफूचाहिँ पञ्चायतका विभिन्न निर्वाचनमा उठ्ने उहाँका केही क्रियाकलापका बारेमा तथ्यहरू राखेर लामै पत्र तयार गर्‍यौँ । अनि युवा राजनीतिज्ञ तथा पत्रकार हरिहर विरहीजीको नाम राखेर पत्र प्रकाशित गर्‍यौँ बिहीबारको दिनमा ।

तर त्यो बिचमा विरहीजीसँग हाम्रो भेट हुन सकेन जसले गर्दा त्यो पत्रको बारेमा उहाँले अपनत्व स्वीकार गराउनु पर्थ्याे । बिहीबार बिहानै राष्ट्रपुकार पत्रिका जय बागेश्वरी पुग्यो, बिपीले पढ्नु भयो । तर मलाई र होमनाथ दाइलाई के समस्या परेको थियो भने विरहीजीलाई यसबारेमा थाहा नै थिएन के लेखिएको थियो भनेर । उहाँको नाम राख्नु परेको कारण थियो समाजमा प्रतिष्ठित कार्यकर्ताको नामले मदनमणिजीको आलोचना भएको देखियोस् । मेरा आँखा जय बागेश्वरीको आवासमा आउने व्यक्तिहरूमाथि नै गाडिएका थिए किनभने यदि विरहीजी आउनु भयो भने उहाँलाई यसबारेमा अपनत्व लिनका लागि भन्ने । नभन्दै विरहीजी सदाझैँ सानदाजुको घरमा आउनु भयो अनि मैल यति मात्र भन्न भ्याएँ- 'विरहीजी, आज बिपीले जे सोध्नु हुनेछ, तपाईँले हाँसेर हो हो भन्नुहोला किनभने आजको राष्ट्रपुकारमा तपाईँको नाममा एउटा पत्र छापिएको छ है ।' उहाँले पत्रिका पनि पढ्नु भएको थिएन । आएर बस्ने बित्तिकै सानदाजुले सोध्नुभयो- विरही , तिमीले यत्तिका तथ्य कसरी जम्मा गर्न सक्यौ ? तथ्यमा आधारित छ , ठिक छ । अनि बिपीले अर्को एउटा उदाहरण दिँदै भन्नुभयो- 'यदि कुनै गलत कुरालाई  हामीले वास्ता गरेनौँ भने त्यसप्रति मौन समर्थन भएको मानिन्छ । आज विरहीले जेजे लेखे , ती सबै कुरामा मेरो भन्नु केही छैन, पक्कै ठिकै होला तर मलाई सीआइएको टेप घाँटीमा राखेको भन्ने भनाइ एकदम गलत हो । म कता जाऊँ भन्न यो होइन भनेर ।' यसरी सार्वजनिकरुपमा तथ्यसहित खण्डन गरिँदा पत्रकारिताको धर्म निर्वाह पनि भयो, गलतलाई गलत भन्ने कुराको पनि जानकारी गराइयो । धन्यवाद छ विरही तिमीलाई । यति धेरै तथ्य र तर्कका आधारमा मेरो बारेमा लेखेकोमा । अनि यहाँ लेखिएका मास्टर साहेवका बारेमा मलाई बरु त्यति थाहा थिएन । थाहा भयो । विरहीजीले हो हो भनेर हाँसिरहनु भयो किनभने के के लेखिएको छ भन्ने उहाँलाई थाहै थिएन । अनि उहाँले त्यहीँ पत्रिका पढ्नु भयो र हाँसिरहनु भयो । पछि यसबारेमा विस्तृत जानकारी हामीले दियौँ किन यो लेख्नु परेको हो भनेर र उहाँकै नाम राख्नु परेको भनेर । 

किसुनजीसँगको प्रसङ्ग

अनि अर्को प्रसङ्ग छ २०४१ सालको अन्ततिरको कथा सम्पादकलाई पत्रका सम्बन्धमा । यो कथा तत्कालीन प्रतिबन्धित नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईसँग जोडिएको छ । यसमा किसानजीको कुनै कुरा पनि होइन, उहाँका बारेमा केही कसैले लेखेको पनि थिएन तर त्यो पत्रले त्यसै खैलाबैला ल्यायो । भएको के थियो भने नेपाली काँग्रेसले २०४२ सालको जेठ १० गतेबाट सत्याग्रह गर्ने निधो गरेको थियो पञ्चायतका विरुद्ध । त्यसमा नेपाली काँग्रेसले केही आचार संहिताको बनाएको थियो सत्याग्रहीहरूका लागि । नेपाली कांग्रेका लागि । त्यही बेलामा गणेशमानजीको छोरीको बिहे पनि भएको थियो, सायद ! त्यही आचार संहिताका कारणले सार्वजनिक रुपमा उहाँले दिनुभएको भोजमा रक्सी राखिएको थिएन । त्यो बेलामा पोखराका एक जना साहित्यकार, प्रजातन्त्रवादी शिक्षक भोला पराजुलीले एउटा पत्र पठाउनु भयो सम्पादकका नाममा । चार धर्के पाना थियो जसमा विद्यार्थीहरूले अङ्ग्रेजी लेख्ने गर्छन् । कालो राम्रा अक्षरमा छोटो पत्र थियो - ‘सम्पादकज्यू, प्रनेकांले सत्याग्रहका लागि केही आचार संहिता घोषणा गरेको रहेछ । एकदम राम्रो काम हो दलको आफ्ना कार्यकर्ताको नैतिकताको बारेमा । यदि आचार संहितामा भनिएका भन्दा अरु पनि केही नराम्रा कसैका केही बानी छन् भने ती पनि नगरियून् । भवदीय भोला पराजुली, पोखरा ।’ 

सानो चिठी छापियो चार धर्के कागजको । त्यो बेलामा सीसामा कुँदिएका अक्षर फर्मामा मिलाएर कम्पोज गरिन्थ्यो र त्यसको छापा निकालेर प्रुफ हेरिन्थ्यो अनि छापिने गरी तयारी गरिन्थ्यो । फर्मामा बाँधेर ट्रेडल मेसिनमा खुट्टाले चलाउँदै छापिन्थ्यो एक पटकमा एक पेज । पछि ठुलो मेसिन ल्याएपछि एक पटकमा दुई पेज छापिन थाल्यो स्वचालित मेसिनबाट । बिहीबार छापियो । त्यो बेलामा म र शिव भुर्तेलजीले हेरिरहेका थियौँ पत्रिका किनभने होमनाथ दाजु सायद झापा, विराटनगर तिर जानु भएको थियो । छापियो । म क्याम्पसमा पढ्थेँ विस्तार क्याम्पसमा । त्यो दिन पार्टी अफिस जमलमा पुग्न भ्याइएन । तर साँझमा थाहा भयो, त्यो पत्रले खैला बैलामात्र होइन कि होमनाथ दाइप्रति समेत प्रश्न उठाइएको रहेछ । वास्तवमा त्यो चिठीका बारेमा उहाँलाई केही पनि थाहा थिएन । सोमवार निस्कने राजधानी साप्ताहिकमा प्रनेकाँका प्रवक्ताको कडा प्रतिक्रिया आयो–बिहीबार छापिएको सम्पादकलाई पत्रका बारेमा प्रनेकांको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अनर्गल कुराको प्रवक्ताले खण्डन गर्दछ । के रहेछ त अनर्गल भन्ने कुरा त केही पनि लेखिएन तर किसुनजी एकदम रिसाउनु भएको र उहाँ आफैँले प्रवक्ताको नाममा त्यो खण्डन लेख्नु भएको रहेछ । होमनाथ दाइले यो कुरा विराटनगरमा नै सुन्नु भएको रहेछ । त्यो बेलामा अहिले जस्तो सञ्चारको सुविधा थिएन । हामीले त्यो पाण्डुलिपि जोगाएर राखेका थिएनौँ किनभने त्यस्ता कागजहरू राखेर पनि कसरी साध्दे हुन्थ्यो र ? दाइ आएपछि यसबारेमा विवादले चर्को रूप लियो । 

वास्तवमा त्यो चिठी अहिले पनि मेरो जेहेनमा छ । भोला पराजुली भन्ने पोखराका साहित्यकार र प्रबुद्ध व्यक्ति नै हुनुहुँदो रहेछ । तर त्यो विवाद यतिसम्म अघि बढ्यो कि नेपाली काँग्रेसका स्वैच्छिकरुपमा मुख पत्रको रुपमा निस्कँदै गरेको पत्रिकाप्रतिको अपनत्वमा प्रश्न उठाउने काम भयो । त्यसो हुनुमा बिपीको राष्ट्रिय मेल मिलापको पक्षमा लेखिरहने पत्रिकाका विरुद्धमा पनि कांगेसमा केही मानिसहरू थिए । तिनीहरू होमनाथ दाइको विरुद्धमा यस कारणले लाग्थे कि गिरिबाबुसँगको दाइको सम्बन्धलाई उनीहरू किसानजीको विरोधीको रुपमा देखाउन चाहन्थे । नेपाली काँग्रेसको आन्तरिक विरोधलाई खेल्ने काम भएको थियो र सोमवारका दिन प्रजातन्त्रवादी व्यापारी आङ दोर्जे लामाको नाममा निस्किने पत्रिकाले राष्ट्रपुकारको प्रतिस्पर्धी पत्रिकाको रुपमा देखिएको थियो । त्यसो हुनुमा नेपाली काङ्ग्रेसभित्र पञ्चायत विरुद्धमा सत्याग्रह अन्तिम हतियार भन्ने पक्ष र राष्ट्रिय मेलमिलापको विरुद्धमा सत्याग्रहले नयाँ मोड लिन सक्ने अनुमानका बारेमा छलफल पनि हुने गर्दथ्यो । 

विवादले कतिसम्म उग्ररुप लियो कि होमनाथ दाइसँग किसुनजी बोल्न पनि छाड्नु भयो । काँग्रेसका युवा नेताहरू सबै होमनाथ दाइको निःस्वार्थ सेवाका बारेमा किसुनजीलाई सम्झाउन थाले । बल्ल बल्ल किसुनजीले मसँग सोध्ने हुनुभयो । जमलको पार्टी अफिसदेखि नयाँ सडकको उहाँको पान खाने ठाउँसम्म मसँग धेरै प्रश्नहरू गर्नुभयो । मैले जे थियो, त्यो कुरा भनेँ । अनि पान खाएर हिँड्ने बेलामा उहाँले भन्नुभयो–मास्टरसाहेब, सम्पादकलाई लेखिने पत्र सम्पादक आफैँले लेख्नु पर्छ, भाषा सम्पादन गर्नुपर्छ किनभने म पनि पुरानो पत्रकार हुँ नि ! यसमा सबैलाई थाहै छ, नेपाल पत्रकार सङ्घको पहिलो अध्यक्ष किसुनजी नै हुनुहुन्थ्यो र ब्रेझनेभको अन्तरवार्ता लिने पहिलो विदेशी पत्रकार पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँ आफैँ सबै वक्तव्य लेख्नुहुन्थ्यो र शुद्ध हुनुपर्थ्यो । त्यसपछि मलाई सम्पादकीय लेख्दा भन्दा सम्पादकलाई पत्र तयार गर्दा म सधैँ सतर्क भएँ । पछि मैले आफ्नै सम्पादकत्वमा बाध्यता साप्ताहिक पनि केही समय निकालेँ र जहिले पनि सम्पादकलाई पत्रको बारेमा झलझली त्यही कुरा सम्झन्छु । 

नेपालमा सम्पादकलाई पत्र लेख्ने कुरामा प्रसिद्ध नाम हो नन्दनहरि उपाध्याय अधिकारीको जसले त्यो बेलामा गोरखापत्रमार्फत् जनचेतना फैलाउने काम पत्रमार्फत नै गर्नुभएको थियो । उहाँका छोराहरूमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी अहिले पनि सक्रिय पत्रकारितामा हुनुहुन्छ र प्रसिद्ध साहित्यकार दिनेश अधिकारी अक्षरको पूजामा सदैव सक्रिय हुनुहुन्छ । उहाँकी छोरी उषा अधिकारी त्रिचन्द्र क्याम्पसको नेपाली विषयको विभागीय प्रमुख छिन् । पत्रकारिताका अरु केही प्रसङ्ग आगामी दिनमा गरौँला । क्रमशः