नयाँ सिजनको पहिलो खेलमै सलाहको ह्याट्रिक, लिभरपुल विजयी

नयाँ सिजनको पहिलो खेलमै सलाहको ह्याट्रिक, लिभरपुल विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २८, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिसजनमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ । 

गएराति भएको खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे भने भिर्गिल भान डाइकले एक गोल थपे । 

लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । लिभरपुलले चारमध्ये २ गोल पेनाल्टीमार्फत गरेको थियो । 

खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

२० औं मिनेटमा भान डाइकले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनाएपछि ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गपछि पहिलो हाफमा लिभरपुल ३–२ को अघि रह्यो । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको थियो । 

तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक गरेपछि लिभरपुल ४–३ को जित दर्ता गर्न सफल भयो । 

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै ह्याट्रिक गर्न सफल भएका छन् ।