लिदी पहिरोका विस्थापितलाई राहत सामग्री

लिदी पहिरोका विस्थापितलाई राहत सामग्री

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २८, २०७७

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीगाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोबाट विस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिइरहेका उनीहरुलाई शनिबार खानेपानी सञ्चयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामग्री प्रदान गरिएको हो ।
 
शान्ति फाउण्डेशनद्वारा सङ्कलित राहत सामग्री वाग्मती प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति सुरेश नेपालले पहिरो प्रभावित र विस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्कस्थित अस्थायी आश्रयस्थलमा पुग्नुभएका नेपालसँग विस्थापित परिवारले स्थायी बासका लागि पहल गरिदिन आग्रह गरेका छन् । टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल व्यवस्थित किसिमका अस्थायी संरचना बनाइदिन आग्रह गरे । पहिरोपछि लिदीवासीको जीवन रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याइएको स्मरण गर्दै नेपालले बर्खापछि स्थायी र सुरक्षित बासस्थान व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।