कृषकलाई प्रोत्साहन रकम

कृषकलाई प्रोत्साहन रकम

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २८, २०७७

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं ५ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषि पेशामा आबद्ध उत्कृष्ट कृषक छनोट गरी गाउँपालिकाले प्रोत्साहन रकम वितरण गरेको हो । वडाध्यक्ष पदमबहादुर थापाले २७ कृषकलाई जनही  २० हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिनुभयो । कृषि पेशातर्फ कृषकको आकर्षण बढाउन र पेशा गरिरहेकालाई प्रोत्साहन गर्न उक्त रकम वितरण गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार बाख्रापालक कृषकलाई  १३ हजार, कुखुरा र माछापालक कृषकलाई पनि पाँच हजारका दरले अनुदान रकम वितरण गरिएको छ । 

गाउँपालिकाले केही दिन अगाडि मात्रै वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले प्रत्येक वडाबाट उत्कृष्ट कृषक छनोट गरी कार्यविधिअनुसार प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिनुभयो । 'कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ', पौडेलले भन्नुभयो, 'यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।' गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ ।

पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।