सभामुख सापकोटा घुम्थाङको पहिरो अवलोकनमा

सभामुख सापकोटा घुम्थाङको पहिरो अवलोकनमा

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २८, २०७७

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुग्नुभएको छ ।  उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुग्नुभएको हो । उहाँसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुग्नुभएको छ  ।

लिदीका पहिरो पीडितलाई सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको दुई लाख १८ हजार ५२६ रुपैयाँ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।

उहाँले  वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उहाँले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो । वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गरिने जानकारी दिनुभयो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् ।  सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो । त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिनुभयो ।