'अर्गानिक एग्रिकल्चर सप्लार्यस'बाट इलाम चिनाउँदै

'अर्गानिक एग्रिकल्चर सप्लार्यस'बाट इलाम चिनाउँदै

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २८, २०७७

इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुवेदी (माधव) को दुई दशक भलिबल खेलमा बित्यो  कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेर पनि माधव भलिबलमा समर्पित रहनुभयो । 

चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान, भलिबलको सुइँको पाउनेबित्तिकै माधव हानिनुहुन्थ्यो । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलले मन तानेको थियो । कक्षा ६ देखि भलिबल खेल्न शुरु गरेका उहाँ १० कक्षामा पुग्दा त अब्बल खेलाडी बन्नुभयो  । उच्चस्तरीय अध्ययनका लागि सदरमुकाम पसे पनि बिदाको समय गाउँ पुगेर माधव भलिबलमा सामेल भएरै छाड्नुहुन्थ्यो । 

जबजब माधवको कक्षा बढ्दै गयो  तबतब, भलिबलको मोह पनि उचालिँदै गयो ।  स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस माधव भर्ना त हुनुभयो तर पढाइमा ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्राङ्गणको भलिबलले तानेपछि  पढाइ कसरी उभो लाग्थ्यो र ? 

माधवले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी समाल्नुभयो । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गर्नुभयो । दुई दशक भलिबलमा गुजार्दा पनि माधवले भविष्य भेट्नुभएन । 

पछि पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्न थाल्नुभयो । दुई वर्ष गाउँमा समय गुजार्दा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नबिकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुहिएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो । 

यत्तिकैमा माधव सदरमुकाममा पसल खोल्ने मोडमा पुग्नुभयो । 'गाउँमा फलेको चिया र गाउँकै छुर्पी र खुर्सानी बेच्न सदरमुकाम सरेँ' उहाँले भन्नुभयो । सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बेच्नुभएन, सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरबासीलाई दूध र दही बेच्न थाल्नुभयो । अहिले माधव ५०/६० किसानबाट दूध किनेर बजार क्षेत्रमा दूध र दही बेच्ने गर्नुहुन्छ । 

शुरुआतमै इलामे पहिचान चिया, अकबरे, छुर्पी० बेच्नुभएका उहाँलाई देशका शहरशहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरामा माधव यी सामग्री पठाउनुहुन्छ । उहाँको व्यवसाय इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यसबाटै इलाम चिनाउने योजना पूरा भएको छैन । उहाँलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुनाकुनामा लगेर चखाउने मन छ । 'हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना (सिटिसी) चिया बेच्छन्' माधव भन्नुहुन्छ,'म देशका उत्कृष्ट शहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दैछु ।'