कसम अर्थात् शपथको उपहास : अनुरोध, घुस, धाक, धम्की र क्षमासँग 'कसम' शब्द नै लज्जित !

कसम अर्थात् शपथको उपहास : अनुरोध, घुस, धाक, धम्की र क्षमासँग 'कसम' शब्द नै लज्जित !

पर्वत भट्टराई  |  जीवनदर्शन  |  भदौ २९, २०७७

मानिसले कमै खुसी र धेरै बाध्यताले जिन्दगीभर अनेक कसम खानु पर्छ। जीवनका अनेक क्षणमा कसम नखाएको समय सायदै कम हेला । परिवारजन, प्रेमी प्रेमीका, पत्नी, साथी, गुरु, छिमेकी, साहू, मालिक, हाकिम र समाजका अनेक मानिससँग चाहेर वा नचाहेर पनि कसम खान बाध्य छौँ  । अझ नेता र समाजका अगुवाहरूले त कसम नखाई धरै छैन वा हुँदैन। साँचो वा झुटो जुनसुकै कुराको विश्वास दिलाउन पनि कसम खाने प्रचलन रही आएको छ। कतिसम्म अनौठो छ भने सत्य वा झुटो जे बोल्न पनि कसम खाई हाल्नु पर्छ, नत्र मानिसको जीवन चलाउन समेत कठिन हुने गर्छ।

चुनावमा नेताले मतदाता समक्ष विश्वास दिलाउन, प्रेम प्रेमिकाले मायामा धोका हुँदैन भन्न, पति पत्नीले प्रेम र विश्वासमा कमी हुने छैन भन्न, साथीलाई पक्का साथ दिनेछु भन्न, गुरुलाई राम्रो पढ्छु भन्न, साहूलाई समयमै ऋण चुक्ता गर्छु भन्न, मालिकलाई ठिकसँग काम गर्छु भन्न र हाकिमलाई जिम्मेवारी पूरा गर्छु भन्न अनेक शब्द र उपमाहरू जोडेर कुनै न कुनै रुपमा कसम खानु नै पर्ने हुन्छ जीवन कालमा । नत्र मानिसले मानिसको विश्वासै नगरिरहेको हुन्छ ।

वैदिकदेखि पौराणिक युगसम्म आफ्नो कसम जसरी पनि पूरा गर्ने चलन थियो। कसम पूरा गर्नुलाई धर्म र कर्तव्यसँग जोडिने गरिन्थ्यो ।  विवाह गर्दा यज्ञमा सात फन्का लगाउँदै सात कसम खाने चलन अझै जीवित छ समाजमा । तर आजकाल यस्ता बाचा वा कसम पूरा गर्न त्यति आवश्यक ठानिँदैन र गरिँदैन पनि। जसले बढी कसम खान्छ उसले त्यति नै ढाँटी रहेको हुन्छ। मानिस कति चलाख हुन्छ भने उसले कसमलाई पनि धोका दिई रहेको हुन्छ। कसम निकै बलियो र अर्थपूर्ण कुरा हो तर आजकाल यो आफैसँग लज्जित हुन थालेको छ। 

चलनचल्तीको परिचयका अनुसार कसम शब्द अरबी भाषाबाट आयातित शब्द  हो। कसम भनेको प्रतिज्ञा, शपथ, सौगन्ध, किरिया खानु, उत्तरदायित्व लिनु, वाचा बन्धनमा बाँधिनु, कर्तव्यको जिम्मेवारी लिनु, प्रतिबद्धता पूरा गर्ने बाचा इच्छा जनाउँछु र आफ्नो मन र आत्मैबा६ स्वीकारोक्तिलाई अरूका सामु व्यक्त गर्नु हो । मानिसलाई आफैले र समाजले कति अविश्वासी मानेको रहेछ भने उसले गर्ने कामप्रति अग्रिम रूपमा यो गर्नेछु र त्यो गर्ने छैन, भने अनुसार नगरेमा अमुक सजाय पनि भोग्ने छु भनी बाध्य हुने प्रतिबद्धता पनि हे । राष्ट्र प्रमुख, सरकार प्रमुख, न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाएर मात्र काम गर्न दिइन्छ। सार्वजनिक जीवनमा कसम अनिवार्य छ भने निजी जीवनमा यो स्वैच्छिक हुन्छ। ईश्वर, भगवान्, मातापिता, सन्तान, प्रिय वस्तु, आफ्नो धर्म र प्रतिष्ठाको दाउ लगाएर हजारौँ कसम खाइन्छ तर ती कसमहरू कति पूरा गरिन्छ गरिँदैन त्यो त हाम्रो वर्तमानले बताई रहेकै छ। 

देश, जनता, प्रेमी प्रेमिका, सन्तान, मातापिता र आफ्नो नामको कसम खाएर त्यसलाई पूरा नगर्नेहरूको भीड यो पृथ्वीको अरबौँ फन्काभन्दा पनि ठुलो होला। त्यसमाथि ईश्वर, भगवान्, गीता, बाइबल, कुरान, धर्म, सत्य, निष्ठा, गोपनीयता र ईमान्दारिताको कसम खाएर पूरा नगर्नेहरूको लाम पनि चित्र गुप्तको ढोकासम्मै पुगेको होला। यति हुँदाहुँदै पनि मानिसको जीवन औपचारिक वा अनौपचारिक कसम नखाई मानिसको जीवन चलेको छैन र चल्ने वाला छैन । 

नेतृत्व, पद, प्रेम, माया, विवाह, युद्ध, सहयोग र अन्य धेरै कामका लागि कसम खाने गरिन्छ। कसम हाम्रो जीवनको अभिन्न अङ्ग हो। कसमको कहानी यतीले मात्र कहाँ सकिन्छ र ! यसले धर्म, राजनीति, साहित्य, सिनेमा, व्यापार, अपराध, पाप, पुण्य, स्वार्थ र दैनिक जीवनका लागि माथि उक्लिने र तल झर्ने सिँढीका रूपमा काम गर्छ। कसमको सिँढीबाट अवस्था अनुसार माथि उक्लिने र तल झर्ने गरिएनन् भने हाम्रो जीवन ट्राफिक प्रहरीले चोकमा रोकेको गाडी जस्तै हुन्छ।

कसमहरूको चोकमा रोकिएको जिन्दगीको गाडी दायाँ, बायाँ अगाडि र पछाडि कतै जान्न सक्दैन। त्यसरी चोकमा रोकिएर आफू मात्र हैन अरूलाई पनि अगाडि जाने बाटो बन्द गरी दिए जस्तो हुन्छ। त्यस्तो अवस्थामा कसमको अनुरोध, घुस, धाक धम्की वा क्षमा मागेर वा दिएर अगाडि बढ्नु बाहेक कुनै विकल्प मानिससँग छैन र रहँदैन। कसम त रोकिएको जीवनलाई अगाडि बढाउने एउटा अचुक अस्त्र हो। जहाँ तपाईँको जीवनको गाडी रोकिन्छ नि त्यहाँ एउटा न एउटा कसम नखाई सुखै छैन।

यस्तै काम महाभारतकालीन एक पात्र भीष्मले गरेका थिए। जसले आफ्नो कसम अर्थात् प्रतिज्ञालाई पूरा पनि गरेका थिए। महाभारतका अनुसार भीष्मका पिता शन्तनु र गङ्गाबाट जन्मिएका सात भाइ छोराहरू शासनमा गर्न नपाउने श्रापले गर्दा नदीमा बगाइ दिएका थिए। भीष्मले आफ्ना सात दाजुहरूको नियति देखेर आफ्नै पिता शन्तनुको विवाह माझी कन्या सत्यवतीसँग गराउने र आफू आजीवन ब्रह्मचारी रही शासनमा नजाने प्रतिज्ञा गरेका थिए। उनकै कसमका कारणले शन्तनुको विवाह सत्यवतीसँग भई चित्राङ्गद र विचित्र वीर्यको जन्म भएको थियो। ती दुबै दाजुभाइले नै क्रमशः हस्तिनापुरको शासन गरेका थिए। यस्तो कडा प्रतिज्ञा गरे बापत भीष्मले शन्तनुबाट इच्छा मरणको वरदान समेत पाएका थिए।

महाभारतकालकै अर्को कसमको प्रसङ्ग पनि चर्चा गर्न लायक रहेको छ। कहिल्यै झुटो नबोल्ने कसम खाएका युधिष्ठिरबाट महाभारत युद्धको अन्तिम चरणमा कृष्णको चाल अनुसार द्रोणाचार्यका छोरा अश्वत्थामा मारिएको भनी द्रोणाचार्यका सामु अश्वत्थामा मारिएको हो, तर त्यो  घोडा हो  भनेका प्रसङ्ग रोचक छ ।  युधिष्ठिरले  बखत..... ‍‍‍'तर त्यो  घोडा हो।' भन्ने वाक्यांशलाई अलिकति सानो आवाजमा भनेका थिए र सोही बेला कृष्णले शङ्खनाद गरी त्यसलाई अझ कसैले पनि नसुन्ने पारेका थिए। सधैँ सत्यमा अटल रहने कसम खाएका युधिष्ठिरले यसरी चलाखीपूर्वक आधा कसम तोडेका थिए। त्यस बापत उनलाई स्वर्गको ढोका बन्द गरिएको प्रसङ्ग रोचकसँग प्रस्तुत गरिएको छ । 

यो त केवल सानो दृष्टान्त मात्र हो। सामाजिक र पारिवारिक जीवन सुरु भएदेखि यता आएर कति कसम खाइए र कति कसम तोडिए त्यसको सामान्य लेखाजोखा गर्न सकिने कुरै भएन। समय  परिस्थिति अनुसार मानिसले कैयौँ कसम खानु पर्छ र तोड्नु पनि पर्छ। यो हाम्रो जीवनको बाध्यता पनि हो। यहाँ बिहान खाएको कसम बेलुका तोडिन्छ र बेलुका खाएको कसम बिहान तोडिन्छ । शेफाली अर्थात् पारिजातको सुकुमारी फूलजस्तो, साँझदेखि रातसम्ममा फुली सकेर बिहान हुँदा नहुँदै झरी सक्ने एउटा लोभ लाग्दो फूल। पारिजातको फूललाई दैविक, धार्मिक र प्रतिज्ञाको प्रतीक पनि मानिन्छ। कृष्णले देवलोकबाट पत्नी रुक्मिणीलाई पारिजातको फूल ल्याई दिएका थिए। उनकी अर्की पत्नी सत्यतामा आफूलाई फूल नल्याएकोमा धेरै रिसाए पछि कृष्णले कसम खाएर उनलाई पनि पारिजातको फूल ल्याउनु परेको थियो। तर आजकाल आकाशको फूल टिपेर ल्याई दिन्छु भनेर कसम खानेहरूले तोरीको फूल देखाई दिन्छन् र कसममाथि कुठाराघात गर्नुलाई सामान्य मानिन्छ । मानिस जीवनमा फुल्नै लागेको पारिजातको हाँगा बालेर आगो ताप्छन् र खरानीको नास गर्छन्।

यहाँ देश, जनता, प्रेमी प्रेमिका, सन्तान, मातापिता र आफ्नो नामको कसम खाएर त्यसलाई पूरा नगर्नेहरूको भीड यो पृथ्वीको अरबौँ फन्काभन्दा पनि ठुलो होला। त्यसमाथि ईश्वर, भगवान्, गीता, बाइबल, कुरान, धर्म, सत्य, निष्ठा, गोपनीयता र ईमान्दारिताको कसम खाएर पूरा नगर्नेहरूको लाम पनि चित्र गुप्तको ढोकासम्मै पुगेको होला। यति हुँदाहुँदै पनि मानिसको जीवन औपचारिक वा अनौपचारिक कसम नखाई मानिसको जीवन चलेको छैन र चल्ने वाला छैन । 

जीवनका अनेक सन्दर्भहरूमा कसम वा प्रतिज्ञाहरूको बन्चरो बोकेर जङ्गलतिर दाउरा काट्न हिँडेको मानिस साँझ रित्तै घर पुगेको हुन्छ भने जङ्गलबाट घाँस काटेर हिँडेको मानिस कसमको भारी बोकेर घर फर्केको हुन्छ। पशुपतिनाथ र स्वयम्भूनाथ अगाडि उभिएर मनमनै यो गर्छु र त्यो गर्दिनँ भनेर कसम खाएको मानिस चाबहिल वा कलङ्की पुगेर उसकै कसमको दूधमा पानी मिसाई रहेको हुन्छ। यहाँ कसम रूपी दूधमा छल रूपी पानी मिसाउनेहरूको कुनै कमी छैन। मानिस पानी मिसाएको दूध, छल मिसाएको कसम र काँचो सुपारी मिसाएको टर्रो पान खान र बेच्न अभ्यस्त भई सकेका छन्।

 विश्वास मिसाएको कसमभन्दा अविश्वास र आशङ्का मिसाएको कसम महँङ्गो छ। जिन्दगीभर खाएका र खुवाइएका त्यस्ता मिसावटी कसमहरूको भाउ झन् झन् बढी रहेको छ। बरु सुन, शेयर, इन्धन र अन्य वस्तुहरूको भाउ कहिले उकालो कहिले ओरालो लाग्ला तर पानी मिसाएको दूध, छल मिसाएको कसम र काँचो सुपारी मिसाएको टर्रो पानको भाउ सधैँ उकालो नै लागिरहेको छ। किनकि कसमको भाउ कहिल्यै पनि घट्दैन बरु दिन दुई गुणा रात चार गुणा बढ्दै जान्छ। त्यसैले होला किस्ता किस्तामा भए पनि कसमको खरिद बिक्री चली रहेको छ। कृपया, क्षमता अनुसार तपाईँ पनि यसमा सामेल हुनु उपयुक्त हुन्छ। किनभने जीवनको बजार सधैँ खुला रहन्छ, यो कहिल्यै बन्द हुँदैन।