मलमा कालोबजारी गर्नेलाई जरिवाना

मलमा कालोबजारी गर्नेलाई जरिवाना

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २९, २०७७

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही रु १० हजार जरिवाना गरेको हो । 

 मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ गरेको थियो । 

सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो । सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णय गरेकोसमेत सिम्खडाले बताउनुभयो ।