कृषि पर्यटन प्रवर्ध्दन लागि होमस्टे

कृषि पर्यटन प्रवर्ध्दन लागि होमस्टे

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ ३०, २०७७

चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।

दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले  एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भन्नुभयो, 'उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।' यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उहाँको भनाइ छ । सोही क्षेत्रमा  ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ । सो भवनमा २५० जना अट्ने उहाँले जानकारी दिनुभयो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताउनुभयो । सामूहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा त्यहाँ भएको काम बहुआयामिक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'पछाडि परेको समुदायलाई अगाडि बढाएर कृषि पर्यटनमा नमूना काम हुँदैछ ।' यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ । कृषिमा माडी नमूना भएको भन्दै उहाँले अब पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिनुभयो ।

त्यसै वडामा रामको जन्मभूमि अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमा नै वाल्मिकी आश्रम, वैकुण्ठ धाम, सीता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।
 
सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवारमध्ये ४९ घर दलितको ३४ घर बाहुन क्षेत्रीको र तीन घर जनजातिको रहेको छ । हाल सामूहिक खेती गरिएको क्षेत्रमा टनेलभित्र काउली, खुर्सानी र गोलभेँडा लगाइएको छ । यससँगै धानखेती गरिएको छ । वर्षा बढी भएकाले टनेल बाहिर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिनुभयो । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाइ छ ।