बाइस लाख जरिवाना सङ्कलन

बाइस लाख जरिवाना सङ्कलन

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ३०, २०७७

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी  २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो । एकासी दिनमा १०८ जना फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।  

सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, वन, सार्वजनिक अपराध तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले गत आइतबार एकै दिनमा ३५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट  २०० देखि दुई लाखसम्म गरी  चार लाख १६ हजार ३२५ भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धिमूलक भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो ।