यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ३१, २०७७

काठमाडाैं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । 

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उहाँले बताउनुभयो । 

यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो । लिम्बू झापाको शरणामतीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ ।