आजबाट लगानी सम्मेलन

आजबाट लगानी सम्मेलन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन्। त्यसैगरी, सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ।

मुलुकमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक लगानी सम्मेलन हुन लागेको हो। सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो। यो पटकको सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने जानकारी दिइएको छ। साथै, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ। आजको नागरिक दैनिकमा खबर छ ।