फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

राजविराज — प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनुअघि नै सप्तरीका विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा विज्ञान विषयको प्रश्नपत्र ‘सेयर’ गरिसकेका थिए । लगत्तै जिल्ला परीक्षा समन्वय समिति बैठकले परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गरेको हो ।

रद्द परीक्षा चैत २२ गते लिइने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको छ । टोलीले विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउने जनाइएको छ । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि प्रजिअ सुरेन्द्र पौडेल तत्काल परीक्षा केन्द्र गएर प्रश्नपत्र जाँचेका थिए । दुवै प्रश्नपत्र हुबहु मिलेपछि बैठक बसेर परीक्षा रद्द सिफारिस गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका उनले बताए ।

 

पौडेलले प्रश्नपत्र सप्तरीबाट नभई अन्य जिल्लाबाट बाहिरिएको दाबी गरे । ‘हामीले प्रश्नपत्रका पोका अनुगमन गर्‍यौं तर कतै खुलेको पाइएन,’ उनले भने, ‘अन्य जिल्लाबाट सार्वजनिक हुँदै सप्तरी आएको हुन सक्छ ।’ नजिकैको प्रहरी कार्यालयमा राखिँदै आएको प्रश्नपत्र परीक्षा सुरु हुनु एक घण्टाअगाडि मात्र केन्द्र लगिन्छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बिहीबार परीक्षा केन्द्र पुग्नु अघिसम्म प्रश्नपत्र सार्वजनिक नभएको दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।