प्रदेश सांसदलाई छक्याएर ठगी

प्रदेश सांसदलाई छक्याएर ठगी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

सुर्खेत । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएका हुन् ।

 

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अरू व्यक्तिसमेत ठगिएको खुलेको हो ।

कान्तिपुरलाई प्राप्त जानकारीअनुसार रोल्पाका भरत डाँगीले सांसदद्वयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशबहादुर कार्कीले फोन गरेर निम्ता दिएको सांसद थापाले बताए । ‘महिलासम्बन्धी विषयमा महिला सांसदलाई पो बोलाउनुपर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन्,’ उनले भने । सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासपोर्ट लिएर भिसा आवेदन दिएकी थिइन् । उनीहरूसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन । आजको कान्तिपुर दैनिकमा खबर छ ।