नेपाललाई नवप्रवर्तन सूचकाङ्कको ९५औँ स्थान जोगाइ राख्ने चुनौती

सन् २०१९ मा नवप्रवर्तन सूचकाङ्कमा विश्वमा १०९ औँ स्थानमा रहेको नेपाल ९५ औँ स्थानमा उक्लियो

नेपाललाई नवप्रवर्तन सूचकाङ्कको ९५औँ स्थान जोगाइ राख्ने चुनौती

छत्र कार्की  |  ज्ञानविज्ञान  |  भदौ ३१, २०७७

दुई साताअघि संयुक्त राष्ट्र सङ्घ मातहतको निकाय ‘वर्ल्ड इन्टिलेक्च्युअल प्रोपर्टी अर्गनाइजेसन’ले विश्व नवप्रवर्तन सूचकाङ्क (ग्लोबल इनोभेसन इन्डेक्स) सम्बन्धी रिपोर्ट सार्वजनिक गर्‍यो । कोरोना कहरले आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक प्रभाव व्यहोरिरहेको अवस्थामा नेपालका लागि उक्त रिपोर्टले केही सुखद खबर ल्याएको थियो ।

नेपालले विगतको दाँजोमा विश्व नवप्रवर्तन सूचकाङ्कमा यसपालि आफ्नो स्थानमा केही सुधार ल्याएको छ। सन् २०१९ मा नवप्रवर्तन सूचकाङ्कमा विश्वमा १०९ औँ स्थानमा रहेको नेपाल ९५ औँ स्थानमा उक्लिएको हो । रिपोर्ट अनुसार उक्त सूचकाङ्कमा दक्षिण एसियाली मुलुकमा भारतपछि नेपालले आफ्नो स्थान सुरक्षित बनाएको छ ।  

‘वर्ल्ड इन्टिलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन’ले हरेक वर्ष विश्वभरका मुलुकमा नवप्रवर्तनसम्बन्धी अनुसन्धान गरेर त्यसका आधारमा रिपोर्ट सार्वजनिक गर्दै आएको छ। यो अनुसन्धान कार्यमा अमेरिकाको कोर्नेल विश्वविद्यालयले ‘लिड’ गर्दै आएको छ। विश्वभरका मुलुकबाट सङ्कलित डाटा विश्लेषण गरी विश्वविद्यालयले बुझाएको रिपोर्टका आधारमा इन्डेक्सको नतिजा सार्वजनिक गरिँदै आएको छ। 

साँच्चिकै, अति विकसित मुलुकमध्ये नेपाल नवप्रवर्तन सूचकाङ्क आसलाग्दो देखिएको छ। यसले आगामी दिनमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई उत्साही बनाएको छ। रिपोर्टअनुसार विश्वका न्यून आय भएका मुलुकमध्ये नेपाल दोस्रो स्थानमा सूचीकृत भएको छ। मुलुकको नवप्रवर्तन नीति, नवप्रर्वतनमूलक कार्य, अनुसन्धान, संरचना, लगानी, समन्वय आदिलाई आधार बनाएर हरेक वर्ष उक्त रिपोर्ट सार्वजनिक गरिँदै आएको छ।

सूचकाङ्क सुधारका ‘फ्याक्टर’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठका अनुसार विश्व नवप्रवर्तन सूचकाङ्कमा मुख्यतः दुई वटा ‘फ्याक्टर‘ले भूमिका खेलेको हुन्छ–पहिलो, इनोभेसन ‘इन्पुट’ अनि दोस्रो चाहिँ, ‘आउट पुट’। यसरी यी दुइटा पारा मिटरको आधारमा रेटिङ गरिन्छ। यो कम्पोजिट (संयुक्त) र्‍याङ्किङ नै हो।

‘इन्पुट भन्नाले रिसर्च र इनोभेसनमा कस्तो ‘इन्भेस्ट’ भयो भन्ने बुझ्नुपर्छ। यसका साथै रिसर्चबाट कस्तो आउटकम आयो, कस्तो इन्फ्रास्ट्रक्चर विकास भयो भन्ने हेरिन्छ। यसले पोलिसीमा कस्तो प्रभाव पार्‍यो भन्ने पक्षलाई पनि मूल्याङ्कन गरिन्छ,’ श्रेष्ठ भन्छन्।

उक्त रिपोर्टको उल्लेख्य पक्ष के हो भने सन् २०१९ को दाँजोमा यसपालि धेरैजसो सेक्टरमा आउट पुट राम्रो देखिएको छ। डा. श्रेष्ठका अनुसार कतिपय अवस्थामा त इन्पुट दिँदा पनि आउट पुट नआउन सक्छ, तर, नेपालको हकमा यसपालि ‘इनोभेसन रेटिङ’मा आउट पुट बढेको छ।

सरकारले समृद्ध नेपालको सपनालाई साकार पार्ने हो भने विज्ञान तथा प्रविधिलाई मुख्य प्राथमिकता नराखी हुँदैन । अहिलेको स्थितिमा सरकारले विज्ञान तथा प्रविधिमा छुट्याएको बजेट शून्य दशमलव तीनभन्दा पनि थोरै छ, जुन अत्यन्त न्यून हो । सरकारले नास्टलाई छुट्याएको अधिकांश बजेट कर्मचारीको तलब र प्रशासनिक खर्चमा सिधिने गरेको छ । थोरै बजेटबाट अनुसन्धानमूलक कार्य गर्नुपर्ने अवस्था छ ।

‘हाम्रो सन्दर्भमा इन्पुट केही मात्रामा घट्दाघट्दै पनि आउट पुट बढ्नुलाई दक्षता बढेको मान्नुपर्ने हुन्छ, यो चाहिँ वास्तवमा एउटा राम्रो इन्डिकेटर हो,’उनी भन्छन् । पछिल्लो समयमा नेपाली वैज्ञानिकले रिसर्च र आर्टिकल पब्लिकेसनको क्षेत्रमा उल्लेखनीय काम गरेकाले इन्डेक्स सुधार हुँदै गएको उनको धारणा छ।

त्रिभुवन विश्वविद्यालय,रिकास्टका पोस्ट डक्टरले अनुसन्धाता डा. शंकर खतिवडा नेपालको ग्लोबल इनोभेसन इन्डेक्स सुधार हुनु सुखद पक्ष रहेको बताउँछन्। ‘यसले अब नेपाल परम्परागत विज्ञान शिक्षाबाट बाहिर आएर इनोभसनमा पाइला चाल्दैछ भन्ने स्पष्ट सन्देश दिएको छ,‘ उनी भन्छन्, ‘अब उद्योगभन्दा र कलकारखानाले पनि अनुसन्धानमूलक कामलाई सँगै जोडेर लैजानुपर्छ।’

यस्ता सकारात्मक परिणामले विदेशबाट नेपाल फर्किएका अनुसन्धातालाई थप काम गर्न हौसला मिल्ने उनको विचार छ। खतिवडा त्रिचन्द्र क्याम्पसमा नानोटेक्नोलोजी अध्यापनसमेत गर्छन् । 

नास्टको योगदान

यसरी ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल माथि उक्लिनुमा नास्टको महत्त्वपूर्ण भूमिका छ । नास्टले पछिल्लो समयमा अनुसन्धानलाई केन्द्र विन्दुमा राखेर काम गर्दै आएको जनाएको छ । यसका लागि रिसर्च ग्रान्ट बढाउनुका साथै यसअघि पिएचडी अनुसन्धानका लागि मात्र ग्रान्ट दिँदै आएकोमा यसपालिदेखि नास्टले  मास्टर्सको थेसिसलाई पनि १९ वटा विषयमा ग्रान्ट उपलब्ध गराएको छ ।

विज्ञान तथा प्रविधिलाई इनोभेसनसँग जोडेर नास्टले विभिन्न कार्यक्रम ल्याएको छ । नास्टको इनोभेसनले बजारमा स्थान पाउँदै आएको छ । इनोभेसन फन्डदेखि इनोभेसनका लागि अवार्ड दिने नास्टको कार्यले वैज्ञानिक समुदायलाई उत्साही बनाएको छ। ‘इनोभेसन सिस्टम फ्रेमवर्क’ तयार पार्नका लागि काम गरिरहेको नास्टको प्रविधि संकायले जनाएको छ । कोभिड–१९ को सन्दर्भमा पनि नास्टले थुप्रै इनोभेटीभ काम गर्दै आएको जनाएको छ । 

अनुसन्धानमा लागेका वैज्ञानिकहरूलाई प्रोत्साहनका लागि पनि काम सुरु गरिसकेको नास्टले जानकारी दिएको छ । महिला वैज्ञानिकलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको छ । उत्कृष्ट शिक्षक र इनोभेटीभ विद्यार्थीलाई गत वर्षदेखि नै पुरस्कार दिन सुरु गरिसकिएको छ । सँगसँगै इनोभेसनका काम पनि जारी छन् । गत वर्ष नास्टले तिलगंगा अस्पताल, काठमाडौँलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार दिइसकेको छ ।

विभिन्न संघ–संस्थासँग साझेदारी

नास्टले विभिन्न प्रोफेसनल एसोसिएसनसँग साझेदारी थालिसकेको डा. श्रेष्ठ बताउँछन् । अन्य सङ्घ–संस्थासँग पनि साझेदारीमा विभिन्न काम भइसकेका छन् । यसैबीचमा नास्टले विभिन्न अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सम्बन्ध विस्तार गरिएको छ । 

गत वर्षदेखि नेपालमा पहिलोपटक ठुलो परिमाणमा ‘इनोभेसन ग्रान्ट’ दिन सुरु गरियो । कोभिड–१९को बेलामा पनि यसलाई निरन्तरता दिइयो। नास्टले ‘इनोभेसन फर प्रोस्परिटी’ भन्ने सेन्टर स्थापना गरेको छ । यो सेन्टरले कोभिड–१९ का बेलामा मोबाइल स्वाब कलेक्सन बुथ बनाएको छ।

नास्टले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोभिड–१९ व्यवस्थापन केन्द्र आदिलाई मोबाइल स्वाब कलेक्स बुथ बनाएर सहयोग गर्दै आएको डा. श्रेष्ठले उल्लेख गरे। ‘जनस्वास्थ्य विभागले पनि उक्त बुथका लागि आग्रह गरेको छ । इनोभेसन सेन्टर नास्टको प्रविधि संकाय अन्तर्गत स्थापना भएको हो,’ उनले बताए । गत वर्षदेखि नै नास्टले ‘साइन्स फर सोसाइटी, इनोभेसन फर प्रोस्परिटी’ भन्ने नारा तय गरेको छ । विज्ञान समाजका लागि र अनुसन्धान नतिजामुखी हुनुपर्ने दिशामा काम गर्न खोजिरहेको नास्टको भनाइ छ।

विज्ञानका विभिन्न टेस्टिङको सेवा दिन खोजिरहेको नास्टले जनाएको छ । नास्टका ल्याबलाई जस्तैः पानी परीक्षणका लागि प्रयोग गर्न सकिन्छ । यसबाट अनुसन्धान हुन्छ अनि सेवा पनि दिन सकिन्छ । बोटबिरुवामा लाग्ने रोग खुट्याउने तरिका तथा यसबारे जोगाउने तरिकाबारे सेवा दिन सकिन्छ । नास्टमा भएका अनुसन्धानबाट सेवा दिनका लागि छुट्टै टिम बनाएर नास्टले काम गर्दै आएको छ ।

यसका लागि नास्टले वरिष्ठ वैज्ञानिक अधिकृत डा. गण वज्राचार्य प्रमुख र डा. आर.सी पौडेल सहायक प्रमुख रहने गरी एनालिटिकल सर्भिस सेन्टर स्थापना गरेको छ। सेन्टरको मुख्य उद्देश्य वैज्ञानिक र अनुसन्धातालाई अनुसन्धानका लागि वातावरण प्रदान गर्नु रहेको छ। यसका साथै अनुसन्धान क्षमता सुदृढ पार्ने, आवश्यक स्रोत तथा फन्ड व्यवस्था गर्ने र विज्ञान, प्रविधि र नवप्रवर्तनमा राष्ट्रिय आवश्यकता परिपूर्ति गर्नेसमेत सेन्टरको उद्देश्य रहेको छ ।

विदेशमा बस्ने नेपाली वैज्ञानिकलाई आकर्षित गर्न ‘ब्रेन पुलिङ’

यसैगरी, नास्टले ‘ब्रेन पुलिङ’ कार्यक्रमअन्तर्गत विदेशमा रहेका नेपाली वैज्ञानिकसँग सहकार्य गरिरहेको छ। कोरियामा रहेका दुई जना नेपाली वैज्ञानिकले त्यहीँबाट नास्टमा काम गरिरहेका छन् । मुलुक बाहिर बसेर नास्टसँग सहकार्य गरी देशलाई योगदान दिन चाहने केही वैज्ञानिक तथा प्राविधिकलाई ‘इमिनेन्ट नास्ट फेलो’ को आबद्धता दिइएको छ । ४० वर्षभन्दा कम उमेरका अनुसन्धातालाई ‘एशोसिएट नास्ट फेलो’ भनेर आबद्धता प्रदान गरिएको छ।

‘नास्टले ल्याएको ‘ब्रेन पुलिङ नेपाल’कार्यक्रमप्रति विभिन्न मुलुकमा बसोबास गर्दै विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्,’ डा. श्रेष्ठले भने, ‘यही बीचमा नास्टले नेपालमा काम गर्न चाहने कतारका इन्जिनियर समुदायसँग पनि अन्तर्किया गरिसकेको छ ।’

ब्रेन पुलिङ कार्यक्रम यसअघि नास्टले ल्याएको ‘फर्क हे फर्क वैज्ञानिक’ भन्दा बिल्कुलै फरक छ । ‘फर्क हे फर्क वैज्ञानिक’ कार्यक्रमको कमीकमजोरीबाट पाठ सिकेर यो नयाँ कार्यक्रम ल्याएको नास्टले जानकारी दिएको छ।

ब्रेन पुलिङअन्तर्गत नास्टले तीन प्रकारले काम गरिरहेको छ–पहिलो, नेपाल फर्किएर सेटल हुन चाहने वैज्ञानिक तथा प्राविधिकलाई एक वर्षसम्म अनुसन्धानमूलक काम र त्यसका लागि स्रोतको व्यवस्थापन नास्टले गरिदिने भएको छ । दोस्रो, विदेशमा बसोबास गरे पनि नास्टमार्फत् देशका लागि काम गर्न चाहने वैज्ञानिकलाई एफिलिएसन दिएर प्रोत्साहित गरिएको छ । तेस्रो, नेपालकै अन्य विश्वविद्यालयमा काम गरिरहेका वैज्ञानिकलाई नास्टले आफ्नो स्रोतसाधन प्रयोग गर्न दिएर अनुसन्धानमा लगाउने नीति लिएको छ। 

यसैगरी, नास्टले युवा वैज्ञानिकहरूका लागि ‘यङ साइन्टिस्ट फोरम’ र महिला वैज्ञानिकलाई प्रोत्साहित गर्न ‘वुमन साइन्टिस फोरम’को संस्थागत विकासमा काम गरिरहेको छ । वैज्ञानिक समुदाय र पत्रकारसँगको अन्तर्क्रिया अझै बढाएर विज्ञानसम्बन्धी सूचना र जानकारीलाई प्रभावकारी ढङ्गले जनस्तरसम्म पु¥याउने योजना नास्टले अगाडि सारेको छ। ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत संघ–संस्थाको संस्थागत विकासका लागि तिनीहरूलाई एउटै छातामुनि ल्याएर सहयोग गर्ने नास्टको योजना रहेको छ,’ डा. श्रेष्ठ थप्छन्।

नतिजा जोगाउन चुनौती

विश्वका मुलुकहरूले नवप्रवर्तन क्षेत्रमा के–कस्ता उपलब्धिमूलक काम गरिरहेका छन् भनी ‘वल्र्ड इन्टिलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन’ले हरेक वर्ष रिसर्चका आधारमा रिपोर्ट तयार पार्छ । यस वर्ष ग्लोबल र्‍याङकिङ बढेको भए पनि अर्को वर्ष इन्पुट र आउटपुटको तालमेल मिलेन भने फेरि घट्न सक्छ ।

वास्तवमा, नेपाललाई यसरी नवप्रवर्तन सूचकाङ्कमा देखिएको सुधारलाई जोगाएर अगाडि बढ्न ठूलो चुनौती छ । नास्टका प्रविधि संकायका प्रमुख डा. रवीन्द्र ढकाल इनोभेसन इन्डेक्स परिवर्तनशील कुरा भएकाले आगामी दिनमा अझै सुधार कसरी गर्ने भन्नेतर्फ योजनासाथ अगाडि बढ्नुपर्छ । ‘यसपालि नेपालको इन्डेक्समा भएको सुधारले अत्यन्त सकारात्मक सन्देश दिएको छ, यसलाई जोगाएर नेपालले अझै प्रगति गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब सरकारले इनोभेसनसम्बन्धी कामलाई अझै प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि नास्ट अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम छ।’

कतिपय अवस्थामा अझै आउट पुट मेकानिज्म व्यवस्थित नभएकाले सोचेजस्तो काम हुन नसकेको नास्टको धारणा छ । ढकालका अनुसार विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा न्युन बजेट र लगानी हुने गरेकाले अनुसन्धानमूलक कामलाई बृहत् बनाउनु चुनौतीपूर्ण कार्य हो । 

के गर्ने त ?

सरकारले समृद्ध नेपालको सपनालाई साकार पार्ने हो भने विज्ञान तथा प्रविधिलाई मुख्य प्राथमिकता नराखी हुँदैन । अहिलेको स्थितिमा सरकारले विज्ञान तथा प्रविधिमा छुट्याएको बजेट शून्य दशमलव तीनभन्दा पनि थोरै छ, जुन अत्यन्त न्यून हो । सरकारले नास्टलाई छुट्याएको अधिकांश बजेट कर्मचारीको तलब र प्रशासनिक खर्चमा सिधिने गरेको छ । थोरै बजेटबाट अनुसन्धानमूलक कार्य गर्नुपर्ने अवस्था छ ।

तसर्थ, विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा दीर्घकालीन विकास गर्ने हो भने लगानी नबढाईकन धर छैन । साथै, नास्टले गरिरहेका काममा प्रभावकारी अनुगमन र मूल्याङ्कन पनि उत्तिकै आवश्यक छ । यसरी लगानी बढाएर योजनाबद्ध ढङ्गले काम गर्ने हो भने अहिलेको उपलब्धिलाई  अझै उचाइमा पुर्‍याउन सकिने ढकालको अनुभव छ । 


छत्र कार्की