गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३१, २०७७

इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । 

त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ ।

इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ । 

इजरायली सेनाको वक्तव्यमा भनिएको छ, ‘गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।’

इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ । यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो ।