ओलीले भने - ‘चन्द समूहलाई कांग्रेसको समर्थन’

ओलीले भने - ‘चन्द समूहलाई कांग्रेसको समर्थन’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्वंस मच्चाउने नेक्रवित्रम चन्द समूहलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरिरहेको आरोप लगाएका छन् । उनले पछिल्ला दिन कांग्रेस नेताहरूले चन्द समूहमाथिको प्रतिबन्ध र विखण्डनको मुद्दा बोक्नेलाई मूलधारमा ल्याउन सरकारले गरेको सहमतिप्रति प्रश्न उठाएको भन्दै ओलीले असन्तुष्टि जनाए ।

 

‘एउटा गिरोहका नाममा उत्पात मच्चाइएको छ, यो प्रतिबन्ध उत्पातमाथिको हो, जेसुकै भए पनि सरकार यो सामाजिक अपराध हुन दिँदैन,’ नेकपा प्रदेश ३ कमिटीलाई बिहीबार राजधानीमा शपथ गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्टको बर्को ओढेपछि जे पनि गर्न हुन्छ भन्ने होइन तर कांग्रेस उसलाई समर्थन गरिरहेको छ । कठैबरी, कांग्रेस हेर्दाहेर्दै कहाँ पुग्यो ।’

चन्द समूहमाथिको कडाइ र सीके राउतसँग सरकारले गरेको सहमतिलाई हेर्ने दृष्टिकोणले कांग्रेस वैचारिक रूपमा पतन भएको प्रधानमन्त्री ओलीको आरोप थियो । ‘हेर्दाहेर्दै कांग्रेस सर्पको खेलजस्तो ९९ मा पुगेर स्वाट्ट २ मा झरेजस्तो भयो, वैचारिक रूपमा स्खलित भयो,’ उनले भने, ‘नेताहरूमा के बोल्ने, के नबोल्ने भन्ने छैन, विखण्डतावाद समाप्त पार्दा किन पारिस् भनेर छाती पिट्छन्, अर्कोतर्फ शान्ति–सुव्यवस्था र वितण्डा नअपनाउन भन्दा किन त्यो गरेको भन्छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।