कर्मचारी समायोजन : अझै ४० हजार कर्मचारी कम

कर्मचारी समायोजन : अझै ४० हजार कर्मचारी कम

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

काठमाडौँ  । सरकारले तीनै तहको कर्मचारी समायोजन सकेको दाबी गरे पनि अझै झन्डै ४० हजार कर्मचारी अपुग भएको छ  । संघ, प्रदेश र स्थानीय तहका लागि स्वीकृत दरबन्दीभन्दा कर्मचारी संख्या कम भएपछि समायोजनले पनि तीनै तहको प्रशासनिक संरचना पूर्ण हुन नसकेको हो  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहका लागि १ लाख ३१ जना कर्मचारी समायोजन भएका छन् । तीनै तहमा गरी कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत छ । यसलाई पूर्णता दिन अझै ३७ हजार ५ सय ८३ कर्मचारी आवश्यक छ ।

समायोजनले पनि कर्मचारी अभाव पूर्ति नहुने भएपछि अब नयाँ भर्ना खुल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका अनुसार छिट्टै लोकसेवाले कर्मचारी भर्ना खोल्नेछ । ‘संविधानले नै प्रदेश लोकसेवा आयोग नबनुन्जेलसम्म स्थायी कर्मचारी नियुक्ति संघीय लोक सेवा आयोगले नै गर्ने व्यवस्था छ,’ मन्त्री पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अपुग कर्मचारीका लागि छिट्टै लोकसेवाले सूचना निकाल्दै छ, करिब २० हजार कर्मचारी भर्नाका लागि सूचना खुल्नेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।