पूर्वराज्यमन्त्री साहसहित ७ लाई जन्मकैद

पूर्वराज्यमन्त्री साहसहित ७ लाई जन्मकैद

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

जनकपुर । पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मारेको र ज्यान मार्न उद्योग गरेको दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो । 

 

न्यायाधीश राजेश कटुवालको इजलासले ५ दिन लामो सुनुवाइपछि प्रतिवादीमध्ये ७ जनालाई जन्मकैद, एकजनालाई १० वर्ष कैद र फरार ४ जनाको हकमा मुद्दालाई मुल्तबी राखेको हो । बम विस्फोट गर्ने व्यक्तिको नाममा १० हजार रुपैयाँ काठमाडौंबाट आईएमई गरेका सुजित पाण्डेलाई भने अदालतले सफाइ दिएको छ ।

२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम विस्फोटको योजना बुनेको ठहर गर्दै धनुषा अदालतले पूर्वराज्यमन्त्री साह, भूमिगत सशस्क्र संगठनका नाइके मुकेशकुमार चौधरी र राजन मुत्ति भनिने रञ्जित झालाई जन्मकैदको फैसला सुनाएको छ । ज्यान मार्ने उद्योगमा यी तीनैजनालाई १२ वर्षको कैद पनि सुनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।