ल्याब सञ्चालनले स्थानीयवासीलाई सहज

ल्याब सञ्चालनले स्थानीयवासीलाई सहज

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १, २०७७

प्युठान । प्युठानका पालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । सरुमारानी गाउँपालिकाले पालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरेको छ । स्थानीय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आर्थिक वर्ष ०७६/०७७ को मङ्सिर महिनादेखि सेवा सञ्चालनमा ल्याइएको हो । 

पालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन, सामुदायिक स्वास्थ्य एकाइ एक र स्वास्थ्य चौकी तीन वटा गरी कूल सात वटा स्वास्थ्य संस्था रहेका छन् । त्यसमध्ये वडा नं १ को बाङ्गेशाल स्वास्थ्य चौकी, वडा नं. ३ को हंसपुर स्वास्थ्य चौकी र वडा नं. ५ को ढुङ्गेगढी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा उपलब्ध गराइएको ल्याब सेवाले यस क्षेत्रका स्थानीयवासीलाई सहज भएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । ल्याब सञ्चालनमा आइसकेपछि सामान्य रोगको ल्याब परीक्षणका लागि बिजुवार, दाङको भालुवाङलगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको छ । सामान्य परिवारका व्यक्ति बिरामी भएमा ल्याब टेस्टबिनानै औषधि सेवन गर्ने अवस्था पनि हटेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस क्षेत्रका स्थानीयवासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, आर्थिक बचत गर्न, समयको बचत गर्न र छिटो छरितो सेवा दिनका लागि सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । 

ल्याबमा सुगर, ब्लड, दिसा, पिसाब, युरीक एसिड, मिर्गौला, क्षयरोग, कलेजो, टाइफाइडलगायतका रोग लागे÷नलागेको जाँच हुने गर्दछ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५६ जनाले ल्याब सेवा लिएका छन् । बाङ्गेशाल स्वास्थ्य चौकीबाट २६१ महिला र १४३ पुरुष गरी कूल ४०४ जना, हंसपुर स्वास्थ्य चौकीबाट १०९ महिला र ५२ पुरुष गरी कूल १६१ जना र ढुङ्गेगढी स्वास्थ्य चौकीबाट १३४ महिला र ५७ पुरुष गरी कूल १९१ जनाले ल्याब सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताउनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म बाङ्गेशाल स्वास्थ्य चौकीबाट ८८ महिला र ५४ पुरुष गरी कूल १४२ जना, हंसपुर स्वास्थ्य चौकीबाट ५५ महिला र २८ पुरुष गरी कूल ८३ जना तथा ढुङ्गेगढी स्वास्थ्य चौकीबाट ८० महिला र ३० पुरुष गरी कूल १३० जनाले ल्याब सेवा लिएका छन् । गर्भवती महिला, मलेरीया, क्षयरोग र डेङ्गु रोगको ल्याब जाँचका लागि निशुल्क सेवा दिइरहेको बताइएको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयम्सेविकाका लागि परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ भने अन्य जाँचका लागि शुल्क लिने गरिएको छ । 

गाउँमै ल्याब सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीयवासीलाई फाइदा पुगेको सरुमारानी–३ हंसपुर चाभाकी आशा विकले बताउनुभयो ।