नेपालमा थप १ हजार २४६ जनामा कोरोना पुष्टि

नेपालमा थप १ हजार २४६ जनामा कोरोना पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०७७

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४६ जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै कूल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५७३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टा १ हजार २४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । 

योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार ९४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत रहेको छ । 

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार देशभर १६ हजार २४१ जना सक्रिय सङ्क्रमित छन् । 

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । 

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार ८८३ जना रहेका छन् ।

 त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेको मन्त्रालायले जनाएको छ । 

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।