उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग

उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २, २०७७

जाजरकोट । चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाले पठाएको पत्रमा तत्काल हवाईमार्गबाट उपल्लो डोल्पाको मरिम्ला र तिन्जेसम्म खाद्यान्न ढुवानी गर्न आग्रह गरेको छ । स्थानीय उत्पादन आलु तथा उवालाई सलह र असिनाले क्षति पुर्याएकाले  समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमराज खड्काले बताउनुभयो । 

 घोडा, खच्चड र आफैँले बोकेर ल्याएको अन्न रित्तिएपछि उपल्लो डोल्पामा तीनवटा स्थानीय निकाय सङ्कटमा परेको फोक्सुन्डो गाउँपलिका–४ का पसी गुरुङले बताउनुभयो  ।